सरकारले शेयर बजारलाई बिरालोले मुसो खेलाए जस्तो गर्दा स्थायित्व आउन सकिरहेको छैन। सरकारको यस्तो किसिमको व्यवहारले साना लगानीकर्ताहरु धेरै मर्कामा परेका छन्। नीति बनाउदा साना लगानीकर्ताको हितको लागि भन्छौं केही कदम चाल्छौ त्यसले नै तिनै साना लगानीकर्ता नै मर्का पारेको हुन्छ। त्यसैले, शेयर बजार स्थायित्वको लागि सरकारले दीर्घकालिन नीति लिनपर्ने हुन्छ।
नेपाल राष्ट्र बैंकले लागु गरेको ४/१२ सीमालाई बजारले सामान्यकरण गर्दै पचाई सकेको अवस्था छ। तथापी लगानीकर्ताहरुमा के हो? कस्तो हुने हो? भन्ने लागिरहेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षामा केहीलाइ नकारात्मक विषय आउने हो कि भन्ने डर छ भने कतिलाई सकारात्मक हुन्छ भन्ने आशा छ। त्यसैले, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा नआएसम्म बजारको अवस्था यस्तै सामान्य रहने सक्ने देखिन्छ।
अहिले केही हदमा बजारले ट्रेडिङ प्रवृती पनि देखाएको छ। दिनदिनै माथि जाने तल जाने गर्दै गरेको छ, त्यो भनेको बजारमा ट्रेडर हाबी भएको बुझिन्छ। लगानीकर्ताहरु केही प्रतिशत नाफा आउदा बिक्री गर्ने र बजार तल झरेको बेलामा किन्ने र माथि जादा बिक्री गर्ने गरेका छन्। अहिले बजारको अवस्था हेर्दा मौद्रिक नीतिको समीक्षा नभएसम्म बजार यसै किसिमले जाने देखिन्छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४/१२ को सीमा निर्धारण भएपछि बजारमा प्रभाव शुरु भएको हो। राष्ट्र बैंकले उक्त नीति ल्याउदा एकै पटक ल्याउन नहुने थियो। शुरुमा जति कर्जा माग गरेपनि दिने, त्यसपछि एकै पटकमा त्यसलाई नियन्त्रण गर्दा बजारमा नकारात्मक प्रभाव परेको हो। बैंकले त्यसलाई विस्तारै सुधार गर्दै ल्याउनु पर्ने थियो।
बजारमा मार्जिन कर्जा लिने आट भएका लगानीकर्ताहरुले लिने हो। मार्जिन कर्जा लिनेहरुले पनि आफ्नो क्षमता अनुसार लिएका छन्। एक वर्षको अवधिमा पनि एक वर्ष भित्र परिपक्व भएपछि कसैलाई बाँकी रहेको अवधिको लागि पनि रिन्यू (नविकरण) गर्न नपाइने व्यवस्था ल्याए पछि झन् गाह्रो भएको हो।
राष्ट्र बैंकले एक वर्ष भित्र उक्त व्यवस्था सल्टाउ र त्यो अवधि भित्र बाँकी अवधि रहेको छ भने बाँकी अवधिको लागि मात्र रिन्यु गर भनेको भएपनि बजारमा त्यसको नकारात्मक असर पर्ने थिएन। त्यसो नहुँदा लगानीकर्ताहरुले नकारात्मक रुपमा लिए र बजार घट्ने भयो भन्ने ठानेर बजारमा सप्लाई बढी आयो।
त्यती ठूलो मात्रामा ऋण लिने थोरै छन्। अहिलेको अवस्थामा बजारमा त्यो बाहेकका नकारात्मक पक्षहरु छैनन्। आउने वाला पनि छैन। बजारमा थरी थरीका लगानीकर्ताहरु रहेका छन्। केही बुझदै नबुझेका, कुनै लामो अवधिसम्म होल्ड गरेर राख्ने, घटाएर लिने बढाएर दिने हुन्छन्। बजारमा घटाउन खोज्नेहरुले यस ४/१२ लाई भूतको रुपमा अरु साना लगानीकर्तालाई त्रसाउनको लागि प्रयोग गर्ने गरेका छन्।
सबैले बजारको बारेमा जानेका हुदैनन्। केही नबुझी नबुझी कारोबार गरिरहेका हुन्छन्। यतिबेला सामाजिक सञ्जाल भाईबर, फेसबुकहरुमा हजारौको मात्रामा ग्रुपहरु सञ्चालन भएका छन्। कसैले एउटा सूचना पठायो भने सबैले त्यसै कुरालाई फलो गर्ने गरेको देखिन्छ। त्यस्तो कमजोर मानसिकतालाई ट्रयाक गर्नको लागि ठूला वा बढी लगानी गर्ने लगानीकर्ताले खेल्ने मौका पाउछन्। यो नेपालामा मात्र नभई विश्वमा नै हुने गरेको छ।
बजारमा आएको सूचना मार्फत ४/१२ को नीति केही खुकुलो हुने कुरा आएको छ। फेरी यता खुकुलो बनाउने र मार्जिन कर्जाको सीमालाई कसिलो बनायो भने पनि बजारको लागि हित हुदैन।
नेपाल राष्ट्र बैंकले गर्ने समीक्षा सीमित व्यक्तिको समूहले गर्ने हो कसैलाई थाहा हुदैन। त्यसको पछि लाग्नु नै बेकार छ। आफूले कारोबार गर्ने शेयर बारेमा आफै हेर्ने हो। कम्पनीको अवस्थाको बारेमा बुझेर लगानी गर्नेहरुले बजारबाट कहिले नोक्सानी बेर्होनु पर्दैन। हल्लाको पछि लाग्नेलाई भने केही भन्न सकिने अवस्था छैन।
बजारमा तरलताको संकट भएको सबैलाई थाहा भएको कुरा हो। यो संकट नेपाल राष्ट्र बैंकले सिसिडीलाई सिडीमा रुपमान्तरण गरेपछि बजारमा तरलता चाप बढेको हो। सिडीलाई सिसिडीमा राख्ने हो भने तरलता केही सहज हुन्छ। अहिलेको अवस्थामा आयात बढेसँगै भएको पैसा बाहिरिएको छ भने सरकारी खर्च हुन नसक्दा तरलतामा चाप बढी परेको हो।
बैंकको ब्याजदर बढेर शेयर बजारमा संकट आउने भन्ने हुदैन। त्यसलाई खेलाडीहरुले खेल्छन्। ०.५ प्रतिशत ब्याज बढ्यो भने मात्र नबुझेका लगानीकर्ताले बिना ऋण लगानी गरेको शेयर पनि १० प्रतिशतसम्म घटाएर बिक्री गर्छन्। त्यस्ता लगानीकर्तालाई केही गर्न सकिने अवस्था रहदैन।
शेयर बजारको कर्जालाई व्यवस्थित गर्नुपर्ने हुन्छ। हरेक ठाँउबाट बाध्ने काम गर्न हुदैन। शेयर क्यापिटलको केही प्रतिशतभन्दा लगानी गर्न नपाइने व्यवस्था रहेको छ। अर्को शेयर भ्यालुयसनको ७० प्रतिशत भन्दा बढी लिन पाइदैन भनेर नियन्त्रण गरेको छ। त्यसपछि अहिले आएर ४/१२ को सीमाले निर्धारण गरेको छ। यस्ता नियमहरु हेर्दा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु अपराधी जस्तो व्यवहार गरेको छ। यसलाई हलचल गर्न दिन हुदैन भनेर चारैतीरबाट बाधेरै राख्नु पर्ने अपराधीलाई जस्तै नियन्त्रण गरेको हुन्छ। त्यस्तै किसिमको व्यवहारहरु शेयर बजारलाई पनि गर्न थालेको देखिन्छ। एउटालाई व्यवस्थित बनाउने जस्तै क्यापिटलको २५ प्रतिशत छ भने त्यसलाई बढाएर ३५ गर्ने र लगानीकर्तालाई विश्वास दिलाउन सकियो भने बजारले त्यसलाई स्वागत गर्छ।
हल्लाको पछि लाग्ने लगानीकर्ता नहुने हो भने बजार चल्दैन। बजारमा करेक्सन हुनु पनि आवश्यक छ। ठूला लगानीकर्ता भएनन् भने पनि बजार चल्न मुस्किल पर्छ भने लामो अवधिको लागि लगानी गर्ने पनि बजारमा आवश्यक छ।
नेपाल राष्ट्र बैंले लिएको नीति पनि नराम्रो होइन। त्यसलाई विस्तारै कार्यान्वयन गर्दै गरेको भए राम्रो हुने थियो र त्यसको प्रभाव बजारमा पर्ने थिएन। अहिले बजारमा सकारात्मक सन्देश प्रभाव भएको छ। राहतको रुपमा केही न केही आउछ जस्तो मलाई पनि लाग्छ।
नेपालमा संस्थागत लगानीकर्ता भित्राउनको लागि पहल कदमी गर्नुपर्ने हुन्छ। संस्थागत लगानीकर्ता बढ्ने हो भने सरकारलाई त्यसै फाइदा पुग्छ। व्यक्तिले तिर्ने कर भन्दा संस्थागत लगानीकर्ताले धेरै प्रतिशत तिर्छन्। त्यसैगरी, संस्थागत लगानीकर्ता बजारमा बढी भएमा बजारमा स्थायित्व आउने छ।
बैंकको ब्याजदरलाई नेपाल राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा राखेकै छ। त्यसको प्रभाव अब बजारमा पर्दैन। अबको समीक्षा मार्फत ४/१२ र सिडी रेशियो परिमार्जन गर्नुपर्ने हुन्छ। यी दुई कुरालाई केन्द्रमा राखेर समीक्षा गर्यो भने बजार फेरी आफ्नो लयमा फर्कनेछ।
विश्लेषक भट्टराईसँग सुधा देवकोटाले गरेको कुराकानीमा आधारित लेख