लगानीकर्ताहरुले शेयर बिक्री गर्न चाहेकाे देखिएन, बजार बढ्ने प्रशस्त ठाउँ छन्

Feb 12, 2022 12:28 PM Merolagani



  • छोटेलाल रौनियार

शेयरबजारमा कारोबार गर्ने लगानीकर्ताहरु आगामी निर्वाचनको मिति घोषणाको पखाईमा बसेका थिए। तर चुनाव मिति घाेषणालाई बजारले आम लगानीकर्ताको अपेक्षा विपरित करेक्सनमा गएर प्रतिक्रिया दिएकाे छ ।

निर्वाचनको मिति सार्वजनिक हुनु नै सकारात्मक कुरा हो । समयमा नै निर्वाचन हुने भयो यो सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । निर्वाचन मिति घोषणा हुँदैछ भन्ने पहिले नै थाहा भएपछि शेयर किनेर राखे र मिति घोषणा भएपछि नाफा बुक गर्न थाल्दा बजारमा सामान्य करेक्सन देखिएको हो।  यो हल्ला लामो अवधिसम्म रहेको कारणले गर्दा पनि बजारमा निर्वाचन हुने मिति सार्वजनिक हुँदा याे नयाँ नलागेर बजारले उल्टाे प्रतिक्रिया दियाे । त्यसैले यो हप्ता भन्दा पहिलेको दुई हप्ता बजारमा ठूलाे उतारचढाव भएको थियो । चुनाव घोषणा भएको हप्ता बजारमा खासै प्रभाव पारेन ।

बजारमा यावत सकारात्मक कुरा भएतापनि अहिले लगानीकर्ताहरु नकारात्मक भावनामा निर्देशित भएको बुझिन्छ । यहाँ नेपाल राष्ट्र बैंकले दोस्रो त्रैमासको मौद्रिक नीति समीक्षा गर्ने समय आएको छ । यसै समयको मौका पारेर बजारमा मार्जिन कर्जालाई थप कडाई गर्ने हो कि भन्ने लगानीकर्तामा त्रास छ । चालु आर्थिक वर्ष सुरु भएदेखि बजारमा तरलता संकट खेप्दै आउनु परेको समाचारहरु सुन्न परेको छ। सामाजिक सञ्जाल र समाचारहरुमा पनि बैंक तथा वित्तीय संस्थाहरुरुले थप कर्जा परिचालन गर्न नसक्ने कुराहरु आएकाे छ ।

यस्ता किसिमका सूचनाले बजारलाई दबाब पर्ने गरेको देखिन्छ। यस्ता समाचारहरु बजारमा हल्लाको रुपमा आउँदा लगानीकर्ताको मनोभावनामा नकारात्मक स्थान बनाएको पाइन्छ । अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन्। त्यसले गर्दा पनि बजारमा झट्ट त्यस्तो सकारात्मक प्रतिक्रिया नदेखिएको हो ।

साथै, अहिलेको बजारमा छोटो अवधिको लागि लगानी गर्ने लगानीकर्ताहरु हावी भएका छन् । बजारमा लगानी परिचालन गर्नको लागि यो राम्रो पक्ष पनि हो । ट्रेडर्सहरुको संख्या धेरै हुँदा बजार बढ्दैन जस्तो भएपछि प्रोफिट बुक गरेकाे हुन्छ ।

तथापि अहिलेको बजारको अवस्था हेर्दा लगानीकर्ताहरुले शेयर बिक्री गर्न नचाहिरहेको देखिन्छ। त्यसैले पछिल्ला कारोबार दिनहरुमा कारोबार रकम खुम्चिएको छ। त्यसले पनि बजार घट्ने अवस्था देखि‌ंदैन। बजार बढ्ने प्रशस्त ठाउँ रहेका छन्।

अहिले थाेरै अन्यौलता भएको कारणले गर्दा बजारमा करेक्सन भएको हो। बजारका लगानीकर्ताहरुले राजनीतिक र आर्थिक सबै किसिमका कृयाकलाप प्रष्ट भएको हेर्न चाहेको हुन्छ। बैशाखमा निर्वाचन गर्नको लागि मिति तय मात्र भएको छ। निर्वाचन हुने सूचना अचानक नआएको कारणले गर्दा त्यसले बजारमा प्रभाव पार्न नसकेको जस्तो देखिएको हो । निवाचनमा लाग्ने खर्च र विकास खर्च हुन सुरु भएपछि बजारमा त्यसको प्रभाव देखिने छ।

त्यसैगरी बजारलाई प्रभाव पार्ने धेरै कुराहरु हल्लाको रुपमा रहेका छन् । अब कुनै महिनाको मसान्तमा छौ बैंक तथा वित्तीय संस्थाको व्याजदर वृद्धि हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कसेको मार्जिन कर्जामा थप कडा गर्न सक्ने अनुमान गरिएको छ । बजारमा दोस्रो त्रैमासको मौद्रिक नीति समीक्षा गर्दैछ । मौद्रिक नीति मार्फत गरेको कडाईलाई बजारले पचाइसकेको छ तर अहिले फेरि त्यसमा कडाइ गर्ने बजार हल्ला फैलाइएकाे छ ।

वास्तविक रुपमा भन्ने हो भने बजारमा लुकेको छोपिएको नराम्रो नकारात्मक कुराहरु छैनन्। मेरो आफ्ने तर्फबाट भन्नु पर्दा बजार बढ्ने नै हो । सम्बन्धित निकायबाट अलिकति राम्रो कदम चाल्नासाथ बजारले सकारात्मक गति समाउने छ ।

अहिलेको बजारको अवस्था हेर्ने हो भने राम्रा र बलिया कम्पनीहरुको मूल्य झर्न मानेको छैन् । त्यो भनेको मतलब लगानीकर्ताहरुले राम्रो राम्रो कम्पनीको शेयर होल्ड गरेर बसेका छन् । अहिलेको करेक्सन ट्रेडर्सहरुले नाफा बुक गर्न थाल्दा प्रभाव परेको हुन सक्छ। नयाँ लगानीकर्ताहरु अहिले ट्रेडिङमा रमाउने गरेको पाइन्छ। दीर्घकालको लागि लगानी र मध्यम अवधिको लागि लगानी भन्दा पनि ट्रेडिङ गर्ने लगानीकर्ताहरु धेरै हुँदा पनि बजार घटेको देखिन्छ ।

बजारमा सवल पक्षहरु धेरै छन्। अहिले यसै हप्ता नेप्सेले कार्यकारी प्रमुख प्राप्त गरेको छ भने अर्को हप्ता नेपाल धितोपत्र बोर्डले अध्यक्ष प्राप्त गर्नेछ । त्यसपछि बजारमा रोकिएर रहेका जति पनि योजनाहरु सबै कार्यान्वयन हुने हुँदा बजार माथिल्लो गति नै समाउने पक्कापक्की छ। शेयर बजारलाई एक हप्तालाई मात्र हेरेर निर्देशित हुँदैन।

हामीले लामो अवधिको लागि सोच बनाएर लाग्नुपर्ने हुन्छ । अहिले दोस्रो त्रैमासमा सूचिकृत कम्पनीहरुको विवरण राम्रो आएको छ । यो भनेको मर्निङ सोज द डे भने जस्तो छ । आगामी वर्षहरुमा राम्रो विवरण वितरण गर्न सक्छन् भन्ने बुझिन्छ।

 

चुनावी घोषणाले संसदमा देखिएको अवरोध हटेको छ। त्यसले राजनीति शान्ति हुने संकेत देखिएको छ । अहिले बजारको निम्ति सम्पूर्ण कुराहरु सकारात्मक रहेका छन् । तर लगानीकर्ताहरुको धैर्य भने गुमाउन हुँदैन् । अहिलेका लगानीकर्ताहरुले तातो खाउँ भन्दा समस्या भएको हो। बजार केही अवधिको लागि घट्न सक्ने देखिएतापनि बजार माथिल्लो गति समाएर नै अगाडि बढ्ने हो ।

अहिले सरकारले निर्वाचन गर्ने मिति मात्रै घोषणा गरेको हो । अहिले नै आर्थिक कृयाकलापहरु हुन नसकेकाले निर्वाचनको लागि बैकिङ प्रणालीमा आउने तरलतामा चाप नपरेको हो। खर्चको आँकडा बढन थालेपछि बजारमा त्यसको प्रभाव देखिन सुरु हुनेछ।

बजारको समग्र अवस्था सकारात्मक देखिएको छ। नेपाल राष्ट्र बैकले आयातलाई अझ कडाई गरेको छ भने क्रिप्टोकरेन्सिलाई नियन्त्रण गर्न खोजेको छ त्यसले गर्दा क्यापिटल फ्लाइट हुनसक्ने सम्भावना कम नै रहेको छ ।

यसो भन्दैमा लगानीकर्ताहरु आँखा चिम्लेर जस्तो पायो त्यस्तै कम्पनीमा लगानी गर्न हुँदैन । आधारभुत रुपमा बलिया कम्पनीको शेयरमा लगानी गर्नु गर्दा राम्रो हुन्छ । सूचिकृत कम्पनीहरु पूँजि वृद्धि गर्ने चरणमा रहेका छन् । विस्तारै मर्जर भएर भए पनि पूँजीवृद्धि गर्ने कम्पनीहरुको योजना रहेको छ । बजारमा सबैखाले लगानीकर्ताले लगानी गर्नुपर्ने हुन्छ । त्यसैगरी, आफ्नो लगानीलाई विविधिकरण गरेर लगानी गर्ने हो भने बजारबाट कहिले पनि निराश हुनुपर्ने देखि‌ंदैन। मलाई सधै ‌भ्यालु इन्भेष्ट गर्न मनपर्छ सन्तोष पनि भएको छु । अरु लगानीकर्तालाई पनि त्यस्तै सुझाव दिन्छु ।

(नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष रौनियारसँग मेरो लगानीका सुधा देवकोटाले गरेको कुराकानीमा आधारित)




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।