७० हजार लगानीमा जन्मिएको कुमारी जब, पब्लिक कम्पनीदेखि अन्तर्राष्ट्रिय स्तरमा लग्ने सन्देशको ‘प्लान’

May 26, 2022 06:21 PM Merolagani



युबराज बस्नेत

काठमाडौंमा केही यस्ता युवाहरू छन्, जो नेपालमै केही गर्न चाहन्छन । विदेश जाने सपनालाई त्यागेर संघर्ष गर्दै उद्यममा लागेका छन् । नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि प्रेरणाका स्रोत पनि बनेका छन् यी युवा ।

नेपाली माटोमै पसिना बगाएर नेपालमा सम्भावना छ भन्ने उदाहरण दिएका व्यक्ति हुन युवा उद्यमी तथा कुमारी जब डटकमका प्रबन्ध निर्देशक सन्देश भण्डारी । उद्यमी मात्रै बनेका छैनन जागिर नपाएर छटपटिएका हजारौं युवा/तन्नेरी पुस्ताको सहारा बनेका छन उनी ।

पश्चिम कन्चनपुर बेलौरी नगरपालिकामा जन्मिएका सन्देशले माध्यमिक तहको पढाइ महेन्द्रनगरमै सकाए ।
एलएलसीसम्मको पढाइ उतै सकेर आफ्नो भविष्य खोज्दै बाँकी पढाइ सक्न काठमाडौं आए । राजधानी आएर प्लसटु र स्नातक तह छैटौं सेमेस्टर पढ्दै गर्दा सन्देशलाई बागबजारस्थित एउटा ट्रेनिङ कम्पनीमा जागिरको अफर आयो जुन परिवारले चलाइरहेको कम्पनी थियो ।

स्नातक गर्दै गर्दा उनले दुई बर्ष सिटिएफ नामक ट्रेनिङ्ग कम्पनीमा काम गरे । व्याचलर पढ्दै गरेका उनले एमबीएस पढ्ने विद्यार्थीहरुलाई व्यवस्थापन सम्बन्धी विभिन्न विधा ग्रुपहरु निर्माण गरि ट्रेनिङ दिनुपथ्र्यो ।

 

स्नातक तहकै पढाईको दौरानमा उनी पढ्दै गरेको कलेज बानेश्वर, काठमाण्डौमा रहेको र दैनिक कक्षा सकेर जानुपर्दा प्रायजसो भाडा तिर्ने पैसा पनि नहुने त्यो परिस्थितिमा सन्देश हिडेर बागबजारमा रहेको अफिस पुग्थे र क्लास लिन्थे ।

बागबजारमा ट्रेनिङ कम्पनीमा काम गर्दागर्दै उनलाई मैले धेरै गर्न सक्ने रहेछु भन्ने लाग्यो । ‘म आफुभन्दा सिनियरहरुलाई ट्रेनिङ दिन सक्ने रहेछु, म आम मानिसलाई फेस गर्न सक्ने रहेछु भन्ने मेरो मनमा लाग्यो’ सन्देशले हाँस्दै भने ।

उनले त्यहाँ आफुलाई मात्रै परिवर्तन गराएनन, कार्यालयको काम गर्ने शैली, कर्पोरेट कल्चर, ब्रान्ड तथा कम्पनीको सिस्टमलाई नै परिवर्तन गराइदए । अफिसको सबै बिषयहरुलाई एक एक गरि सुधार गर्दै लगे ।

ट्रेनिङ अफिसमा काम गर्दै गर्दा सन्देश डक्युमेन्टेसन, सिस्टम डेभलपमेन्टदेखि कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने सबै प्रक्रियाका लागि पोक्त भए ।

२६ बर्षको उमेरमा उनलाई अफिस नै चलाउँछु भन्नेसम्म आँट आयो । जबवल्ड नेपालबाट सन्देशको यात्रा उही सिटिएफ ट्रेनिङ कम्पनीको अर्को सानो कम्पनी थियो जसले स्कुलहरुमा शिक्षकहरु प्लेसमेन्ट गथ्र्यो । त्यो कम्पनीलाई सन्देशले नजिकबाट नियालिरहन्थे ।

प्लेसमेन्ट कम्पनीलाई नजिकबाट हेरिरहेका उनलाई शिक्षक प्लेसमेन्ट गर्ने कम्पनी चलाउने इच्छा जाग्यो। सन्देशले ट्रेनिङ कम्पनीको मालिकलाई प्लसमेन्ट कम्पनी चलाउन दिनुपर्ने प्रस्ताव गरे ।

उनको प्रस्ताव पनि सहजै स्वीकार समेत गरे र लगत्तै सिटिएफ ट्रेनिङ कम्पनीलाई छोडेर जबवल्ड नेपाल प्लेसमेन्ट कम्पनीतर्फ नयाँ यात्रा सुरु गरे ।

जबवल्डमा जाने वित्तिकै सो कम्पनीको संरचनासहित ‘लोगो’ परिवर्तन गरे सन्देशले । स्कुल सेक्टरमा काम गरिरहेको कम्पनीलाई सन्देशले कर्पोरेट सेक्टरतर्फ मोडे । जबवल्डमा रहँदै गर्दा सन्देश नेपालका ठूला ठूला कम्पनीहरुसँग आफै बिजनेश माग्न हिंडे ।

आफै बजार दौडिनुपर्ने, आफै मान्छे खोज्नुपर्ने भएपछि कम्पनीको क्षमता बढाउने, स्टाफ थप्ने लगायतका योजना ट्रेनिङ कम्पनीको सञ्चालकलाई प्रस्ताव गरे तर, कुरा सुनुवाइ भएन ।

उनीहरुबाट नहुने जस्तो बुझेपछि सन २०१३ को पहिलो महिना तिर फष्टजब प्रालि नामको कम्पनी दर्ता गराए । कम्पनी दर्ता गराएको बिषय साथीभाईबाट सञ्चालकसम्म कुरा पुग्यो र सञ्चालकले सन्देशलाई बोलाए ।

‘सञ्चालकले बोलाएको समयमा कम्पनीको शेयर दिए कतै नजाने प्रस्ताव राखे तर, सञ्चालकले भने सेयर दिन स्वीकार गरेनन्’ ट्रेनिङ कम्पनीमा काम गर्दैगर्दा अन्य चार पाँच वटा अफिसँग जोडिन पुगेका सन्देशको साथीभाईको सर्कलपनि राम्रै भैसकेको थियो ।

 

दुई लाख पैसा फसेपछि कुमारी जब

जबवल्डमा जागिर छोडेको थाहा पाएपछि एक जना साथीले बोलाएर एचआर नेपाल कम्पनी सञ्चालन गर्ने योजना सन्देशलाई सुनाए । नाम राम्रो रहेको सो कम्पनीको प्रस्तावलाई सहजै स्वीकार गरेर सन्देशसहित दुई जना साथी मिलेर कम्पनी अघि बढाउने निर्णय भयो ।

कम्पनी चलाउने भनेपनि सन्देशसँग खल्तीमा पैसा थिएन । ‘पैसा नभएपछि घरमा हारगुहार गरेर दुई लाख पैसा बुबाले जुटाइदिनुभयो’ सन्देशले सुनाए‘ -पैसा त ल्याए अफिसका लागि भनेर विना कुनै कानुनी कागज विना विस्वासको आधारमा लगानी पनि गरे तर मैले मान्छेको नियत बुझ्न सकिन’ ।

अफिस पनि सेटअप गरे तर तीन चार महिनासम्म ती दुई साथीहरुबाट कुनै सहयोग भएन । सल्लाह बमोजिम काम नभएपछि ती साथीहरुले सहयोग नगरेजस्तो लाग्यो र त्यहाँबाट पार नलाग्ने भएपछि आफु डुबेर भएपनि आफ्नो समान उठाएर उनी हिडे ।

सेकेन्ड ह्यान्ड फर्निचर रिसेप्सनमा राखेर एउटा टेबल कुर्सि तथा ल्यापटप र आफुसँग लिएर उक्त अफिसबाट ल्याएको केही सामान र ती पार्टन बाट फिर्ता पाएको ७० हजार रुपैयाँ पैसा लिएर २०१४ जनावरीमा अनामनगर काठमाण्डौमा फष्ट जबको यात्रा सुरु गरे ।

२०१३मा सन्देशले फष्ट जब नाम दिएर कम्पनी दर्ता गराएका थिए । फष्ट जब डोमेनमा वेवसाइट बनाए पनि उनी नामप्रति सन्तुष्ट थिएनन् । ब्रान्डको नाम र आम मानिसले त्यो नामलाई कसरी लिन्छन भन्ने बिषयमा सन्देश पहिलेदेखि नै जानकार थिए । फष्ट जब लामो र अर्कै सुनिने भएपछि नाम खोज्नतिर भौतारिन थाले सन्देश ।

 

‘म त्यो समय अफिसबाट घर जाँदा र जता कतै जाँदा समेत नाम मात्रै दिमागमा खेलाउने गर्थे, मैले ६ महिना जति नाम मात्रै सोचे’ सन्देशले सम्झिदै भन्छन ।

जब वेवसाइटहरुमा आउने अधिकांश जब भ्याकेन्सी इन्ट्री लेबलको हुन्छ त्यसैले सन्देशले कुमारीत्वसँग जब वेबसाईटलाइ जोडे । काठमाडौं भित्रपनि कुमारी नाम आफैमा प्रचलित रहेको कारण पनि एकपटक सुन्दा नर्बिसर्ने नाम जस्तो सन्देशलाई लाग्यो ।

फष्ट जब दर्ता गराएको चार बर्षपछि अर्थात २०१७ तिर फष्ट जब प्रालिको नाम परिवर्तन गरि कुमारी जब प्रालि दर्ता गराए ।

तन्नेरी पुस्ताको साहारा बनिरहेको कुमारी जब

अहिले अधिकांश तन्नेरी पुस्ता माझ परिचित नाम बनेको छ कुमारी जब डटकम । कुनै बेला आँफै जागिरे कुमारी जब डटकमका संस्थापक सन्देश भण्डारी अहिले बेरोजगारलाई जागिर खोज्ने र स्टाफ/कर्मचारी चाहिने कम्पनीबीच पुल बनिरहेका छन ।

‘हामी कहाँ जबको लागि भ्याकेन्सी छ भन्छौं तर जागिर नपाएर भौतारिरहेका युवा सजिलो मात्रै खोज्नतिर लागिरहेका छन’ भण्डारी भन्छन ‘युवापुस्तालाई अनलाइन फारम भर्ने जाँगर समेत छैन’ ।
जागिर नपाएर भौतारिएका युवा पुस्ताको सहारा बनिरहेका छन सन्देश ।

 

क्षमता अनुसारको जागिर खोज्नेका लागि कुमारी जब अनलाइन साइट अहिले सबैको लागि भरपर्दो प्ल्याटफर्म बनेको छ ।

स्थापना भएको एक दशक नपुग्दै कुमारी जब एउटा प्रख्यात ब्रान्डको रुपमा स्थापित भइसकेको छ। ३२ बर्षिय युवा सन्देश एक्लैले कुमारी जब डटकम हाँकिरहेका मात्रै छैनन हजारौंलाई रोजगारी समेत दिलाइरहेका छन ।

नेपालमा केहि गर्न सकिन्न भनेर विदेशिने युवाजमातको लागी प्रेरणाका स्रोत बनेका छन । आजको दिनसम्म आईसक्दा लगानी डुबेर बचेको ७० हजारबाट सुरु भएको कुमारी जब अहिले करोडौंको कम्पनी बनेको छ ।

‘मलाई ज्ञान तथा सिपको हिसाबले कमजोर छु भन्ने कहिले पनि फिल भएन, आफु भन्दा दुई कदम अघि बढेर काम गर्न रुचाउँछु’ सन्देशले गर्वका साथ भने ‘नेपालमै अन्तर्राष्ट्रियस्तरको पढाइ पाएको भएर पनि होला विदेश जाने बिषय सोच्दा पनि सोचिएन’ ।

सानो कम्पनीलाई संघर्ष गरेर उचाइमा पुर्याउँदासम्म हार नखाएका सन्देश कोभिडको समयमा भने निकै निराश भए तर हिम्मत हारेनन् । कोभिडको मारमा परि झन्डै बन्द हुने अवस्थामा पुगेको कुमारी जबलाई उठाएका मात्रै छैनन अहिले कुमारी जव बजारमा एक नम्वर रोजाइको कम्पनी समेत बनिसकेको छ ।

यसकारण रोजाइमा ‘कुमारी जब’

बिशेषगरी कुमारी जबले चार ओटा सेवा दिइरहेको छ । जसमा पहिलो कुमारी जब डटकम (जव वेवसाइट) जसमा रोजगारदाताले भ्याकेन्सी अनाउन्समेन्ट गरेबापत विभिन्न सेवा अनुसार सेवा शुल्क तिर्नुपर्छ र त्यसबापत कुमारी जबले जब सम्बन्धी विज्ञापन पोस्ट गर्ने गर्दछ ।

अर्को सेवा मेनपावर आउटसोर्सिङ तथा पेरोल आउटसोर्सिङ हो । जसमा कुमारीजबका १००० भन्दा बढि कर्मचारीहरु विभिन्न ख्याति प्राप्त संघ संस्थाहरुमा कार्यरत छन् जसको सम्पूर्ण प्रशासनिक जिम्मा कुमारी जब आफैले नै लिने गर्दछ ।

त्यसैगरी तेस्रो सेवा, हेड हन्टिङ्ग सर्भिस रहेको छ जसमा कुनै पनि कम्पनीलाई म्यानेजर, सेल्स हेड, रिसेप्सनिस्टलगायत विभिन्न पदपूर्ति गर्नुपरेमा कुमारी जबले भ्याकेन्सीको बारे अध्ययन गरी सिभि स्क्रीन गर्ने, सेलेक्सन गर्ने र फाइनल अन्तर्वार्ताको लागि कर्मचारी पठाइनदिने गर्दछ ।

त्यसबाहेक कुमारी जबले कर्पोरेट र इनहाउस ट्रेनिङ् सम्बन्धी सेवाहरु दिंदै आइरहेको छ । कुमारी जवमा दैनिक तीन देखि ५ ओटा विभिन्न विधाका ग्रुपहरु निर्माण गरि एकाउन्टिङ, आईटी, एचआर लगायतका बिषयमा विज्ञ बोलाएर ट्रेनिङ समेत गराउँदै आएको छ ।

कुमारी जबले आजको दिनसम्म कुनै पनि जबसिकरसँग जुनसुकै सेवा सुविधा दिएबापत शुल्क लिने गरेको छैन । सरकारले तोकेको मापदण्ड भित्र बसेर सेवा दिइरहेको छ ।

अहिले हरेक दिन १५,००० भन्दा वढी भिजिट गरीने कुमारी जव वेवसाईटबाट दैनिक सय देखि हजारौले जब अप्लाई गर्ने गरेको र लाखौले रोजगारी समेत पाइसकेको सन्देश बताउँछन ।

कुमारी जबबाट कर्मचारी रिक्रुटमेन्टबाट मासिक १०० भन्दा वढिले जागिर पाउँदै आएका छन। आउटसोर्सिङतर्फ हजार भन्दा बढी कर्मचारी ठूला ठूला घरानाका कम्पनीहरुमा विभिन्न पदमा कार्यरत छन् ।

सन्देश भन्छन ‘केहि बर्ष अघिसम्म कुन प्लाटफर्म फेक हो र कुन सहि हो भन्ने छुट्याउन सहज थिएन, मान्छेहरु ठगीमा पर्ने गरेका थिए तर, अहिले धेरै मानिसहरु सचेत भइसकेका छन’ ।

अब जागिर लगाइदिने भन्दै चोक चोकमा पोष्टर टाँस्ने, फारम भराएबाट पैसा लिनेबाट जोगिनुपर्ने र सम्बन्धित निकायहरुले यो बिषयमा ध्यान दिनुपर्ने सन्देश बताउँछन । मानव संशाधन व्यवसाय प्रविधिमा रुपान्तरण भएर स्वच्छ प्रतिस्पर्धा हुनु जरुरी रहेको उनको भनाई छ ।

 

सन्देशको १० बर्षे ‘मिसन’

कोभिडको समयमा नेपालमा व्यवसाय गर्न नसकिने रहेछ भन्ने अवस्थामा पुगेका सन्देश कम्पनीलाई पुनः पुरानै लयमा फर्काएका छन । कोभिडले पुर्याएको क्षति र घाटामा गएको कम्पनीलाई नयाँ उचाइ दिदैंछन सन्देश ।

‘हाम्रो कुनै ठूलो उद्देश्य छैन, जब पाेर्टललाई प्रभावकारी र विश्वासनीय बनाउँदै सबै पुस्ताका मानिसको हात हातमा पुग्ने गरी पस्किने कोसिस भइरहेको छ’ सन्देशले सुनाए । नयाँ योजना भन्दा पनि सबैभन्दा पहिला कम्पनीलाई सबै माझ विस्वसनीय बनाउनेतर्फ नै लागेको सन्देश बताउँछन ।

 

अर्को तर्फ कुमारी जब भित्रका चार ओटै विभागको काम कार्वाहीलाई पूर्णरुपमा सफ्टवेयर बेसमा लग्ने तयारी भण्डारीले गरेका छन । हाल वेवसाइटबाट मात्रै सेवा दिइरहेको कुमारी जबले मोबाइल एप्लिकेसन समेत सार्वजनिक गर्ने गरी काम गरिरहेको छ ।

यति मात्रै होइन अबको १० बर्षभित्र कुमारी जबलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने सँगै अन्तर्राष्ट्रियस्तरमा पनि चिनाउने योजना बनाएका छन ।

कुरा टुङ्ग्याउँदै सन्देश भन्छन ‘ मैले विगतमा गरेका संघर्षलाई सम्झिंदा मैले केही सफलता हासिल गरेको हो तर, अझै धेरै गर्नुछ त्यसैले यसलाई ठूलो सफलता पाए अहिल्यै भन्दिन’ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।