सातामा करिब ४ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Jun 18, 2022 08:39 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ४ प्रतिशत घटेको छ। गत साता २०४८.१६ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.७५ प्रतिशत अर्थात ७६.७८ अंक घटेर १९७१.३८ विन्दुमा झरेको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घटेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साता बिहीबार मात्र नेप्से उकालो लागेको हो। बाँकी कारोबार दिन नेप्से ओरालो लागेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ११.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९५ अंक घटेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता दैनिक औषतमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस साता दैनिक कारोबार भएको शेयर संख्या ६.८० प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब रुपैयाँ घटेको छ। गत साता २९ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता घटेर २८ खर्ब १० अर्बमा झरेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशत घटेको छ भने म्युचुअल फण्ड उपसमूहको सबैभन्दा कम १.६३ प्रतिशत घटेको छ।

गत साता ६६.७३ विन्दुमा रहेको लगानी उपसमूहको परिसूचक, यस साता ४ अंक घटेर ६२.७३ विन्दुमा झरेको छ। त्यसैगरी, गत साता १४.७४ विन्दुमा रहेको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस साता १४.५० विन्दुमा झरेको छ। यस साता जीवन बीमा, निर्जीवन बीमा, व्यापार र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ।

यस साता ३ कम्पनीको ९७ लाख ४१ हजार २२४.२६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सिद्धार्थ इन्स्योरेन्स र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर र रिभर फल्स पावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ४९.७४ प्रतिशत बढेको छ। गत साता ३९८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस साता ५९६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।

यता, सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक १४.०७ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता शिखर इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।