१० प्रतिशत बढेर बुलिस ट्रेन्डमा उक्लिएको बजारमा करेक्सन, प्रफिट बुकिङले बजार खस्कियो

Jul 04, 2022 03:33 PM merolagani



छोटो समयमा नै १० प्रतिशत भन्दा बढीको वृद्धि कायम गरेको बजारमा सोमबार करेक्सन आएको छ। आइतबार मात्रै बुलिस ट्रेन्डमा प्रवेश गरेको बजारमा सोमबार नै करेक्सन देखियो।

सोमबारको करेक्सन भने अस्वाभाविक देखिएको छ। निक्कै ठुलो फड्को मारेको बजारले अन्तिम समयमा आएर धोका दिएपछि लगानीकर्ता त्रसित देखिएका छन्। गएको सातादेखि बढेको बजारले आइतबार मात्रै बुलिस ट्रेन्ड समाएपछि लगानीकर्तामा थप कन्फिडेन्स बढेको थियो। तर सर्टटर्म कारोबारीले भटाभट शेयर भिडाउन थालेपछि अन्तिम समयमा आएर बजार रातो भएर बन्द भयो।

सूचकले तल्लो बिन्दुबाट १० प्रतिशतको वृद्धि कायम गरेपछि बजार बुलिस ट्रेन्ड उन्मुख हुने मान्यता छ। यसैगरी उच्चतम बिन्दुबाट सूचक २० प्रतिशतले तल झरेपछि बियरिस ट्रेन्ड हुने विश्व मान्यता छ।

गएको असार ९ गते सूचकले न्युनतम् बिन्दु १८४८.२८ अंक छोएको थियो। त्यसयता बजारले १० प्रतिशत भन्दा बढीको छलाङ मारिसकेको छ। आइतबार बजारले १० प्रतिशतको आँकडा पार गरेको हो। आइतबार सूचक बढेर २०८६.४२ अंकमा उक्लिएको थियो। जुन न्युनतम् बिन्दुबाट १२.८७ प्रतिशतको वृद्धि हो। शुक्रवारसम्म बजार ९.७१ प्रतिशत मात्रै बढेको थियो। तर आइतबार एकाएक १० प्रतिशत भन्दा बढीको वृद्धि कायम गरेपछि सोमबार लगानीकर्तामा थप कन्फिडेन्स बढेको थियो। धेरै जसो लगानीकर्ता बजार बुलिस ट्रेन्ड उन्मुख भएपछि बजार पस्ने गर्छन्। आइतबार ट्रेन्डको कनफरमेसन आएपछि सोमबार थप बजार बढेको थियो। तर अन्त्यमा बजार ९.७५ अंक घटेर २०७६.६७ अंकमा बन्द भयो। तथापि सोमबारसम्म बजारमा न्युनतम् बिन्दुबाट १२.३४ प्रतिशतको वृद्धि कायमै छ।    

सोमबार सूचक घटेपनि कारोबार रकमको सपोर्ट देखिएको छ। पछिल्लो समय एक अर्ब भन्दा तल झरिसकेको कारोबार रकम सोमबार बढेर चार अर्ब ३४ करोड माथि उक्लिएको छ। बजार १० प्रतिशत बढ्दा धेरै जसो कम्पनीको मूल्य २० प्रतिशत माथि उक्लिसकेका छन्। १० प्रतिशत भन्दा बढी नाफा भएका सर्टटर्म लगानीकर्ताले भटाभट प्रफिट बुक गर्न थालेका छन्। जसले गर्दा कारोबार रकम बढेको हो। अर्कोतर्फ सर्टटर्म कारोबारीले स्क्रिप्ट चेन्ज गर्ने अवस्था समेत सिर्जना भएपछि बजारको पैसा पुन: बजारमै घुम्न थालेको छ। जसले पनि कारोबार रकम बढाउन टेवा दिएको छ।

बिस्तारै कारोबार रकम बढ्दै जाँदा कारोबारमा आउने शेयरको सङ्ख्या समेत बढ्न थालेको छ। पछिल्लो समय सूचक न्युनतम् बिन्दुमा झर्दा २० देखि २२ लाख कित्ता मात्रै बजारमा कारोबार हुने गरेका थिए। तर आइतबार मात्रै बजारमा ६८ लाख कित्ता भन्दा बढी शेयर कारोबार भए। उक्त सङ्ख्या सोमबार थप बढेको छ। सोमबार मात्रै बजारमा एक करोड कित्ता भन्दा बढी शेयर कारोबार भए।

शेयर बजार बढ्दै जाँदा सबैभन्दा बढी आकर्षण जलविद्युत क्षेत्रमा देखिएको छ। बैंक र बिमा क्षेत्रले भने अपेक्षाकृत लाभ दिन सकेका छैनन्। धेरै जसो बैंक र बिमा कम्पनीमा मर्जरको लहर चल्दै गर्दा लगानीकर्ताले ती क्षेत्रको शेयरलाई खासै वास्ता गरेका छैनन्। मर्जरमा गए लामो समयसम्म शेयर बन्धक हुने भएकोले पनि लगानीकर्ता ती क्षेत्रमा धक फुकाएर लगानी गर्ने अवस्थामा देखिँदैनन्। जसले गर्दा पनि ती क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले अपेक्षाकृत लाभ पाउन नसकेका हुन्। 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।