अहिले 'रिस्क' एकदम कम छ भने 'रिवार्ड' बढी छ,२० प्रतिशत रिस्क लिने हो भने प्रतिफल ८० प्रतिशत लिन सकिन्छः लगानीकर्ता रौनियारको विश्लेषण

Nov 26, 2022 10:31 AM Merolagani



छोटेलाल रौनियार

बजार विगत १५ महिनादेखि घटिरहेको छ। २१ अर्बसम्म भएको बजारमा कारोबार रकम पनि घटेर ५५-६० कराेडमा झरेको थियो । अहिले बजार १९०० माथि नै बसेको छ भने कारोबार पनि १ अर्ब माथि नै छ।

बजार घट्नुमा राष्ट्र बैंकले लिएका नीतिले आम लगानीकर्ताको साइकोलोजी कमजोर भयो। राष्ट्र बैंकले गरेकाे माैद्रीक नीतिकाे समीक्षामा पनि शेयर बजारलाई सुधार गर्ने कुराहरु आएनन्।

मौद्रिक नीतिकै कारण बैंकहरुको ब्याजदर बढ्यो। ब्याजदर बढ्दा त्यसले पूँजी बजारको लागि विषको काम गर्यो। यो अवधिको गिरावट अहिलेसम्मकै ठुलो गिरावट हो। यस अवधिमा लगानीकर्ताको पोर्टफोलियो ५५-६० प्रतिशतले घटेको छ।

आम लगानीकर्ताको साइकोलोजी अहिले पनि कमजोर छ। बजार बढ्न खोजिरहेको छ तर बढ्न सकेको छैन्।

बजार अब घट्ने स्थान छैन। बजार घटेर ५०-५५ करोडको कारोबार भइसकेको छ। यसअघि पनि बजार ११ सयमा झर्दा १५-२० करोडको कारोबार भएको थियो। सो समयमा लगानीकर्ताले शेयर बेच्न मानेनन्। अहिलेको अवस्था पनि त्यस्तै छ। अब बजार तल जाने अवस्था छैन।

अहिले शेयर खरिद गर्दा १५ महिनाको ब्याज तिरिसकेको अवस्था छ। अर्को कुरा दसैं, तिहार, चुनाव सकिएको छ र कम्पनीहरुले लाभांश वितरण गर्ने समय पनि भएको छ।

अब नयाँ सरकार केही दिनमा नै बन्ने छ। अब आउने सरकारले राम्रो काम गर्न बाध्य हुनेछ। अब जुन सरकार बनेपनि त्यसले पूँजीबजारको लागि पनि राम्रो काम गर्छ।

चुनाव अघिको घोषणपत्रमा पनि धेरै पार्टीले पूँजीबजारलाई समेटेका छन्। त्यसले गर्दा पनि परिस्थिति फेरिएको छ। पहिलेको जस्तो अवस्था अहिले छैन्।

अहिले पूँजी बजारको सुधारको लागि नियामक निकाय धितोपत्र बोर्डले पनि राम्रो काम गरेको छ। नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने, कमिसन कम गर्ने, आइपीओमा कोटा लगायतका कुराहरु गरेको छ। नयाँ स्टक एक्सचेञ्ज आउने प्रकृयामा छ। त्यो आँउदा नयाँ डिजिटल प्रविधि ल्याउछ। यो पनि सकारात्मक पक्ष हो। त्यसपश्चात इन्ट्राडे, सटसेललगायतका कारोबार पनि सुरु हुने छ।

अहिले रेमिट्यान्स पनि बढिरहेको छ। तरलता विस्तारै सहज हुँदै छ। ९०-९२ प्रतिशत रहेको सिडि रेशियो अहिले ८७ प्रतिशत भन्दा कममा झरेको छ। अहिले कर्जाको माग पनि कम छ। उद्योग व्यवसायमा पनि कर्जाको माग निकै घटेको छ।

अब आउने अवस्था सकारात्मक नै छ। अहिले 'रिस्क' एकदम कम छ भने 'रिवार्ड' बढी छ। २० प्रतिशत रिस्क लिने हो भने प्रतिफल ८० प्रतिशत लिन सकिन्छ।

नेपालमा लगानीकर्ताहरु घटेको समयमा शेयर बेचेर भाग्छन् र बजार बढेको बेलामा किन्न दौडन्छन्। यो सहि होइन। वारेन बफेटले भनेका छन्। जब अरु मान्छे ग्रिडि हुन्छन त्यो बेलामा शेयर बेच्नुपर्छ र जब मान्छे डराउछन् त्यो बेलामा शेयर खरिद गर्नुपर्छ। अहिले आफ्नो पैसा छ भने शेयर खरिद गर्ने 'गोल्डेन अपर्चुनिटी' हो।

अहिले डिम्याट खोल्नेको सँख्या झण्डै ६० हजार पुगिसकेका छन्, टिएमएस नै १४ लाख बढीले लिएका छन्। यसमा सर्वसाधारणको सँलग्नता बढ्दै गएको छ। नियमनकारी निकायले बजारलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा हेर्नुपर्छ र सकारात्मक नीति बनाउनुपर्छ।

गत १५ महिनामा लगानीकर्ताको १४ खर्ब गुमेको छ। यसको जिम्मेवार भनेको हाम्रा नियामक निकायहरु नै हुन। पूँजीबजारमा ५-७ प्रतिशतले बदमासी गर्दा १०० प्रतिशतलाई नै कारवाही गर्नु हुँदैन। जसले बदमासी गरेको छ। उसैलाई कारवाही गर्ने हो। पूँजी बजारलाई नै कारवाही गर्ने होइन।

नयाँ सरकार बनेपछि अझै बजार सकारात्मक हुन्छ। पूँजी बजारको भविष्य उज्जवल छ। धैर्यताको साथ बस्नुपर्छ आत्तिनु हुँदैन। आधारभुत रुपमा बलिया कम्पनी छानेर लगानी गर्ने हो भने अहिले डराउनु पर्दैन। पूँजी बजार भनेको आज कमाउने भोली भाग्ने होइन। पूँजीबजारमा लगानी गर्ने पनि एउटा व्यवसायी हुन्।

(नेपाल इन्भेष्टर्स फाेरमका पूर्वअध्यक्ष राैनियारसँग मेराेलगानीका रबिन पाैडेलले गरेकाे कुराकानीमा आधारीत लेख)




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।