१० जना भन्दा बढी व्यवसायी सांसद भए, केही चर्चित व्यवसायीले सांसद हुने रहर गरेपनि संसदमा प्रवेश पाएनन्

Nov 26, 2022 08:03 PM MeroLagani

आम चुनाव २०७९ मार्फत केही व्यवसायीलाई पनि सांसदको रुपमा देख्न पाइने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबाट चुनाव लडेका धेरै व्यवसायी उम्मेदवारले चुनाव जितेका छन् भने थोरै उम्मेदवारले भने हारको सामना गर्नुपरेको छ । केही व्यवसायी उम्मेदवार भएका क्षेत्रको मतगणना भने हालसम्म सकिएको छैन ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेको व्यवसायीहरुमा डलर अरबपति विनोद चौधरी, उदयशमशेर जबरा, डा. सुनिल शर्मा, मोहन आचार्य, दीपक खड्का, राजेन्द्र बजगाई र श्यामकुमार घिमिरे विजयी भएका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका एलपी साँवा, एकीकृत समाजवादीबाट कृष्णकुमार श्रेष्ठ (किसान), जनता समाजवादी पार्टी (जसपा)बाट डा. वीरेन्द्र महतो र राप्रपाबाट विक्रम पाण्डे विजयी भएका छन् । 

नेपालको एक मात्र डलर अरबपति बिनोद चौधरीले नेपाली कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट विजयी हासिल गरेका छन् । उनले आफना निकतटम प्रतिद्वन्द्वी जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गरेका हुन । उनले पहिलोपटक प्रत्यक्ष निर्वाचनमार्फत विजयी भएर सांसद बनेका छन् । यसअघि उनी दुई पटक समानुपातिक कोटामार्फत सांंसद बनिसकेका छन् । एकपटक नेकपा एमालेको तर्फबाट संसदमा प्रतिनिधित्व गरेका चौधरीले पछिल्लो समय भने नेपाली कांग्रेसबाट समानुपातिकतर्फ संसदमा प्रतिनिधित्व गरेका हुन । मधेशबाट धेरैपटक संसदमा प्रतिनिधित्व गरिसकेका त्रिपाठीलाई रोकेर पहिलो प्रयासमै संसद छिर्न चौधरी सफल भएका हुन । चौधरीले २९ हजार ४ सय ९५ मत ल्याएका छन भने उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले २ हजार ३ सय ८ मत प्राप्त गरे ।

त्यस्तै ललितपुरको क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हस्तकला व्यवसायी उदय शमशेर जबरा विजयी भएका छन् । उनले २३ हजार ८९२ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज सिलवालले १९ हजार २ सय ७८ मत ल्याएका थिए । सिलवाल प्रहरी सेवाका पूर्व डिआइजी हुन ।

अर्का नेपाली कांग्रेसबाटै उम्मेदवार बनेका मेडिकल व्यवसायी डा. सुनिल शर्मा मोरङ–३ बाट विजयी भएका छन् । शर्मा यसअघिको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए। उनी विराटनगरको नोबेल हस्पिटल र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन्। शर्माले ४५ हजार ९७ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले २३ हजार ९९३ मत पाएका थिए ।

नेपाली कांग्रेसबाटै उम्मेदवार बनेका निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट विजयी भएका छन्। सिभिल इन्जिनियर समेत रहेका उनले विभिन्न आयोजनाको ठेक्का लिने गरेका छन्। उनले १८ हजार २३५ मत ल्याएका निकटतम प्रतिपस्पर्धी नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई पराजित गरेका थिए । तामाङले ८ हजार ६ सय १४ मत ल्याएका थिए ।

संखुवासभाबाट कांग्रेसका उम्मेदवार बनेका अर्का व्यवसायी दीपक खड्काले ३२ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी भएका छन् । घरजग्गा कारोबारमा संलग्न उनी कांग्रेस संखुवासभाका सभापति पनि हुन । उनको पर्यटनका साथै जलविद्युतमा पनि लगानी छ । उनका निकटम प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद गौतमले २६ हजार ७ सय १९ मत पाएका छन् ।

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा–१ बाट विजयी बनेका छन् । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उनले ३३ हजार ४ सय २८ भोट पाएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत पाएका छन् । पर्यटन व्यवसायी बजगाईंको १ अर्ब १६ करोड लगानीको होटल वर्णबास छ ।

त्यस्तै सिन्धुली १ मा कांग्रेसबाट उम्मेदवार बनेका श्यामकुमार घिमिरेले ३० हजार ३२ सय ९१ मत पाएर विजयी भएका छन्। उनी समाज डेन्टलका सञ्चालक हुन् ।उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार कटुवाल क्षेत्रीले २५ हजार ५ सय ४६ मत पाएका थिए।

वैदेशिक रोजगार व्यवसायी लालप्रसाद (एलपी) साँवा लिम्बुले झापा– ४ बाट विजयी भएका छन् । उनले पछिल्लो समय वैदेशिक रोजगार व्यवसाय छोडेर जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । उनी नेकपा एमाले निकट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष पनि हुन्। उनी २९ हजार ३ सय १५ मत ल्याएका विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवकुमार थेवेले २२ हजार ४ सय ४८ मत पाएका छन् ।

एमालेबाट टुक्रा भएर बनेको एकीकृत समाजवादीबाट बारा– ४ बाट उम्मेदवार बनेका व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान) विजयी भएका छन् । उनले २० हजार २ सय ९७ मत पाएर जितेका हुन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका एकवाल मियाँले १३ हजार ८ सय ६३ मत पाएका छन् । विभिन्न व्यवसायमा आवद्ध श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बनिसकेका छन्। किसान पूर्वम्यानपावर व्यवसायी हुन् भने जग्गाको कारोबारमा पनि सक्रिय थिए ।

त्यसैगरी अर्का व्यवसायी डा. वीरेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट सिरहा क्षेत्र नम्बर ४ विजयी भएका छन् । डा. महतो एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । महतोको पनि आफ्नै विभिन्न व्यवसाय रहेको छ । उनी माछापुछ्रे बैंकका अध्यक्ष पनि हुन् । महतोले २४ हजार १०२ मत ल्याएर निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई सांसद बन्न रोकेका छन् । निकटतम प्रतिस्पर्धी शाहले १६ हजार २९४ मत पाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवार बनेका निर्माण व्यवसायी विक्रम पाण्डे विजयी भएका छन् । उनले ३५ हजार ५५ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८ सय २२ मत पाएका छन् । पाण्डे २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा वनमन्त्री थिए । उनको कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावर लगायतमा लगानी रहेको छ।

केही व्यवसायी उम्मेदवार भएका क्षेत्रको मतगणना अझै सम्पन्न भइसकेको छैन । रामेछापबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार अर्का निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङले ३७ हजार ६६१ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले २७ हजार २५४ मत पाएका छन् ।

अहिले आइपीओ निष्काशन हुँदै गरेको कालिञ्चोक केवलकारका सञ्चालक व्यवयायी बालकृष्ण सिवाकोटीले दोलखाबाट उम्मेदवारी दर्ता गराएको भए पनि केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको रिपोर्ट परेपछि त्यहाँ पुनः मतदान हुने बताइएको छ । एमालेबाट उम्मेदवार बन्न इच्छुक पार्वत गुरुङ र आनन्द कोइरालालाई पन्छाउँदे उनले दोलखाको उम्मेदवारी हात पारेका उनको प्रतिस्पर्धा माओवादी केन्द्रका गंगा कार्कीसँग प्रतिस्पर्धा हुनेछ । सिवाकोटी २०७३ मा लगानी बोर्डमा मनोनीत भएका थिए । मेगा बैंकका सञ्चालक समिति सदस्य सिवाकोटी कालिञ्चोक केवलकारका सञ्चालक पनि हुन् । करिब १ दर्जनभन्दा बढी उद्योग तथा व्यवसायमा उनको संलग्नता छ ।

नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका उमेश श्रेष्ठ भने प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुन सकेन । चर्चित सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका लामिछानेले श्रेष्ठलाई हराएर संसदीय यात्रामा सामेल हुन सफल भएका छन् । शुरुवातमा शिक्षा व्यवसायी भएर नाम कमाएका श्रेष्ठले पछिल्लो समयमा भने धेरै क्षेत्रमा लगानी गरेका छन्। जलविद्युत, बैंक, पर्यटन र अस्पताल क्षेत्रमा समेत उनको लगानी रहेको छ। उनी प्राइम कमर्सियल बैंकको पूर्व अध्यक्ष समेत हुन । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन (हिसान) का पूर्वअध्यक्ष पनि हुन् उनी ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नुवाकोट क्षेत्र नम्बर २ को लागि उम्मेदवार बनेका पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले पछिल्लो मतगणना अनुसार १६ हजार ४ सय ७७ मत पाए पनि जित हात पार्न सकेन । नुवाकोट . क्षेत्र नं. २ मा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी २८ हजार १०७ मतसहित विजयी भएका छन् । पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेष्टुराँलगायत विभिन्न विधाका व्यवसायका साथै ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष, एयरलाइन अपरेर्टस एसोसियसन (आवान) को महासचिव हुन् । उनी नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्यसमितिको सदस्यलगायत विभिन्न व्यावसायिक नेतृत्वमा पुगिसकेका छन् ।

त्यसैगरी एमालेबाट उम्मेदवारी दर्ता गराएका फेल्ट एसोसिसन नेपालका निवर्तमान अध्यक्ष अमृत खड्काले ललितपुर ३ पराजित भएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले विजयी भइन ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।