शेयर बजारमा चलेका तीन हल्ला, जसले नेप्से सूचक घटायो, एसबिएलको मूल्य बढायो,एनआइसी एसियाको मूल्य घटायो

Mar 23, 2023 07:00 PM merolagani



सुवास निरौला

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार मापक सूचक १८.१५ अंकले घट्यो। कारोबार मापक सूचक बिहीबार ०.८४ प्रतिशतले घटेर १९१५.१४ अंकमा ओर्लियो।

सूचक घट्दै गर्दा बैंकिङ क्षेत्रका दुई सूचिकृत कम्पनीले सकारात्मक र नकारात्मक प्रतिक्रिया दिए। जसमा सिद्धार्थ बैकले बढेर सकारात्मक प्रतिक्रिया दियो भने एनआइसी एसिया बैंकले घटेर नकारात्मक प्रतिक्रिया दियो। बिहीबार सिद्धार्थ बैंक एकाएक ८.३४ प्रतिशत बढेर २८१ रुपैयाँ ९० पैसामा उक्लियो भने एनआइसी एसिया ५.१२ प्रतिशत घटेर ६८६ रुपैयाँ प्रति कित्तामा ओर्लियो।

बेला बेलामा शेयर बजारमा चल्ने हल्ला बिहीबार पनि राम्रैसँग चल्यो। कतैबाट पुष्टि नहुने भएपनि शेयर बजार घटाउन र सूचिकृत कम्पनीहरूको मूल्य तल/माथि गर्न उक्त हल्लाले निक्कै ठुलो भूमिका निर्वाह गर्‍यो। बिहीबार एनआइसी एसियाको मूल्य घटाउन र सिद्धार्थ बैंकको मूल्य बढाउन यी दुई कम्पनी मर्जरमा जान लागेको विषयले बजार तताएको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए। “आज बजारमा एनआइसी एसिया र सिद्धार्थ बैंक मर्जरमा जान लागेको व्यापक हल्ला चल्यो। जुन हल्लाले एनआइसीको मूल्य बेस्सरी घटायो भने सिद्धार्थ बैंकको मूल्य त्यसैगरी बढायो” ती ब्रोकरले मेरो लगानीसँग भने।

बजारमा चलेका यी दुवै हल्लालाई पुष्टि गर्ने कुनै आधार छैनन्। सिद्धार्थ बैंकले सूचना जारी गरेर मर्जरका बिषयमा चलेकाे हल्ला मिथ्या हाे भनिसकेकाे छ। तर जसरी बजारमा यी हल्ला चले, त्यसले बजारमा हुण्डरी ल्याउन ठुलै काम गर्‍यो। हल्लाकै पछि लाग्दा एनआइसी एसियाका शेयरधनीले बिहीबार बेस्सरी घाटा बेहोर्नु पर्‍यो भने सिद्धार्थ बैंकका शेयरधनी एकाएक मालामाल भए। यसअघि पनि एनआइसी एसियाका संस्थापकहरूले भटाभट शेयर बेच्न थालेको भन्ने हल्ला बजारमा व्याप्त थियो। जुन हल्लाले आठ सयप्रति कित्ताबाट नहल्लिएको एनआइसी एसियाको मूल्य तीन दिनमै ७५० को मूल्यमा झरेको थियो। यस अघिकै हल्लाको दबावमा घटिरहेको एनआइसीको मूल्यलाई यस पटक मर्जरको हल्लाले थप सर्पोट गर्‍यो। जसले गर्दा एनआइसी एसिया अर्को हल्लाको सिकार बन्यो। तर यही हल्लामा सिद्धार्थका शेयरधनी भने फाइदामा रहे।

समग्र बजार र एनआइसी एसियाको मूल्य घटाउन बिहीबार अर्को हल्लाले थप मलजल गर्‍यो। आउँदो चैत्र २९ मा नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्य समिति चयनको लागि निर्वाचन तय भएको छ। जुन निर्वाचनको लागि उद्यमीहरूले राम्रै पैसा खर्च गर्ने अनुमान गरिँदै छ। किनकि मुलुककै धनी कहलिएका उद्यमीहरू यस पटकको निर्वाचनमा भिड्दै छन्। उक्त निर्बाचनको लागि पनि उद्यमीहरूले दोस्रो बजारबाट पैसा झिकिरहेको हल्ला व्याप्त छ। उनीहरूले पैसा जोहो गर्नकै लागि जति मूल्य आए पनि शेयर दिएकै कारण सूचकमा प्रेसर परेको अनुमान गरिएको छ। “हुन त बजारबाट पैसा झिकेको हो या होइन भन्ने यकिन गर्ने कुनै ठोस आधार  भेटिँदैन। तर बजारमा जसरी सेल आएको छ। त्यसले भने हल्लालाई थोरै भएपनि सपोर्ट गरेको देखिन्छ।  एनआइसी एसियाको एक लाख भन्दा बढी कित्ता शेयर विक्रीमा आउनुले सोच्न बाध्य बनाएको छ” ती ब्रोकरले भने।

उद्योग वाणिज्य महासंघको आउँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उद्यमी रामचन्द्र संघाइ उठ्ने व्यापक चर्चा छ। हुन त संघाइले उठ्ने घोषणा भने गरिसकेका छैनन्। तर संघाइ एनआइसी एसियाका राम्रै शेयर होल्डरमा पर्छन्। उनैले शेयर बिक्री गरिरहेको हल्ला बजारमा चलेको हो। संघाइसँगै उठ्ने तयारीमा रहेका अरू उम्मेदवारले पनि शेयर बजारबाटै पैसा झिकिरहेको भनेर हल्ला चलाइएको  छ। “यति बेला सबै उद्यम व्यवसायबाट पैसा झिक्न सक्ने अवस्था छैन। बैंकले थप ऋण दिएका छैनन्। लिक्विड एसेट भएकोले यसैलाई क्यासमा रूपान्तरण गरिएको भन्ने छ। तर यी सबै कुरालाई पुष्टि गर्ने कुनै आधार भने भेटिँदैन। तर बिहीबार बजारलाई घटाउन र लिष्टेड कम्पनीको मूल्य बढाउन भने यी तीन कारणले राम्रै भूमिका खेले” ती ब्रोकरले भने।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।