असार नलाग्दै शेयर बजारमा देखिनसक्छ सकारात्मक माहौल

May 18, 2023 10:21 AM Merolagani

तिलक कोइराला

शेयर बजारमा अत्याँसलाग्दा घटाईका दिनहरु अब लगभग सकिन लागे जस्तो देखिएको छ।

बजारमा कारोबार रकम कम हुँदै गएर शेयरको मूल्य बढ्ने क्रम शुरु भएको कुरालाई मात्रै आधार नमानी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउँदै लगेर आधार दर कम भएको र कर्जाको ब्याजदर पनि घट्ने क्रमले शेयर बजारलाई आड दिने सम्भावना बढ्दो छ।

 

बैंक ब्याज र शेयर बजारको उल्टो सम्बन्ध

बैंक तथा वित्तीय संस्थामा तरलताको बढ्दो अवस्था, निक्षेप तथा कर्जाको घट्दो ब्याजदरले शेयर बजारमा माग बढाउन सहयोग गर्छ। बैंक ब्याजदर र शेयर बजारको जहिले पनि उल्टो सम्बन्ध हुन्छ। बैंक ब्याजदर सस्तो भएको बेला शेयरको मूल्य धेरै बढेको र बैंक ब्याजदर चर्को हुनुका साथै पैसाको अभाव भएको बेला शेयरको मूल्य धेरै घटेको ईतिहास दोहोरिदै आएका छन्। निक्षेपको ब्याजदर महंगो हुँदा पैसा शेयर बजारमा लगाउने नभई मुद्दती निक्षेपमा राख्नेहरु सक्रिय हुन्छन् भने महंगो ब्याजदरको कर्जा लिएर शेयर बजारमा लगानी गर्नेहरु पनि निरुत्साहित हुुन्छन्। तर ब्याजदर सस्तिदै जाँदा बैंकमा पैसा राख्ने भन्दा तुलनात्मक लाभका अरु क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढ्छ, त्यसमा पनि छिटो लगानी गर्न र लाभ लिन सकिने क्षेत्र शेयर बजार नै भएकाले अल्पकालीन लगानीकर्ताहरुले यही क्षेत्र रोज्छन्। अहिले नै बैंकरहरुले आफुहरुसँग लगानीयोग्य रकम पर्याप्त रहेको तर कर्जाको माग नै नभएकाले लगानी गर्न गाह्रो परेको बताईसकेका छन्। लगानी गर्ने ठाउँ नभएपछि कतिपय बैंकले निक्षेप लिन मानिरहेका छैनन्। कर्जाको माग नहुनुको मुख्य कारण ब्याजदर महंगो हुनु नै हो। महंगोमा कर्जा परिचालन गर्न नसकिएपछि बैंंकरहरु ब्याजदर घटाउन बाध्य हुँदैछन्। अर्थ मन्त्रालय पनि ब्याजदर घटाउनुपर्ने पक्षमा रहेको र राष्ट्र बैंकले त्यससम्बन्धी नीतिगत अनुकुलता पनि सिर्जना गर्दै गएकाले असारको शुरुदेखि नै ब्याजदरमा आशातीत गिरावट आउने सम्भावना बढेको छ। अन्तर बैंक ब्याजदर अहिले ७ प्रतिशत छ र त्यो ३ प्रतिशत तलसम्म झर्यो भने त उधुमै हुनेछ।

ब्याजदर अरु घट्ने आधार

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार २०८० साल असारदेखि वाणिज्य बैंकले स्प्रेड दर ४ प्रतिशतमा र विकास बैंक तथा फाईनान्सले ४.६ प्रतिशतमा झार्नु पर्ने भएकाले पनि असारमा ब्याजदर उल्लेखनीय रुपमा घटाउनुपर्ने बाध्यतामा बैंकहरु छन्। निक्षेपको ब्याजदर हरेक महिना फेरबदल गरेसँगै कर्जाको ब्याजदर पनि हेरफेर गर्नुपर्ने भएकाले असारमा ब्याजदर घटाएर लगानी बढाउनुपर्ने दबाबमा बैंकहरु पर्छन्। ऋणीहरुलाई उत्साहित पारी कर्जाको बक्यौता सावाँ ब्याज असुलेर आफ्नो निष्क्रिय कर्जा घटाउने रणनीति बैंकहरुले अख्तियार गर्नसक्छन्। अर्को उपाय छैन।
निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने बाध्यता

सरकारले विकास आयोजनाहरुमा खर्च भएको ८० अर्ब हाराहारी रकम निर्माण व्यवसायीहरुलाई असारमै भुक्तानी गर्नपर्ने बाध्यता छ। यो भुक्तानीको क्रम पनि अब तीब्र हुने भएकाले बैंकहरुमा तरलता पर्याप्त हुने संकेत देखिन्छ। जब निर्माण व्यवसायीहरुले यो रकम बैंकिङ्ग प्रणालीबाट पाउँछन्, त्यसपछि उनीहरुले सिमेन्ट, छडवाला र अरु व्यवसायीहरुलाई बक्यौता रकम भुक्तानी दिने क्रम बढ्छ। यो रकमले निर्माण क्षेत्रलाई चलायमान बनाउँछ। बैंकिङ्ग प्रणालीबाटै रकम भुक्तानी हुने हुँदा बैंकिङ्ग कारोबार पनि बढ्छ।

राष्ट्र बैंकको पछिल्लो आँकडा अनुसार बैंकहरुले ५४ खर्ब अर्ब निक्षेप संकलन र ४८ खर्ब ४७ अर्ब कर्जा परिचालन गरेका छन्। कर्जा र निक्षेपको अनुपात ( सीडी रेशियो) ८५ प्रतिशतमा झरेको अवस्था छ। अहिले पनि बैंकहरुमा एक खर्ब बराबरको कर्जा लगानीयोग्य रकम रहेको बताईन्छ। आर्थिक वर्षको अन्त्यमा सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी तीब्र पार्ने, साधारण खर्चको बक्यौता चुक्ता गर्ने हुँदा बैंकहरुमा तरलता र लगानीयोग्य रकम अरु बढेर जानेछ।

हाम्रो आवश्यकता आन्तरिक उत्पादन र खपत बढाउनु भए पनि रातारात उत्पादन वृद्धि हुनसक्दैन। जति नै बल गरे पनि हाम्रो सीमित वित्तीय स्रोत परिचालनले एकै वर्षमा आन्तरिक उत्पादन वृद्धिमा कायापलट हुनसक्दैन। आयात नियन्त्रणको रणनीतिमा सरकार रहेकाले त्यो क्षेत्रमा पहिले जसरी ठूलो कर्जा लिएर व्यापारीहरुले जथाभावी आयात गर्ने अवस्था छैन। वर्षायाम शुरु भईसकेको हुँदा ठूला उद्योग धन्दा सञ्चालन गर्न र घरजग्गामा धेरै कर्जाको माग हुने सम्भावना छैन, त्यसमाथि घरजग्गामा कडाईपूर्ण सरकारी नीति अरु प्रभावकारी भएर जाने सम्भावना छ। अटो क्षेत्रमा सरकारको निरुत्साहनमुखी नीति कायमै रहँदा अल्पकालीन लगानीका लागि शेयर बजार उपयुक्त क्षेत्र हो भन्दै बैंक तथा वित्तीय संस्था र लगानीकर्ताको रोजाईको क्षेत्र यही नै बन्ने सम्भावना छ। जोखिम भार १५० प्रतिशत नै कायम रहेको अवस्थामा पनि बैंकहरुले अघिल्ला वर्षहरुमा जस्तै लगानीकर्ताहरुलाई निमन्त्रणा गरेरै शेयर धितो कर्जा दिने योजनाहरु पस्कनसक्छन् किनभने यस्तो कर्जा वितरण र असुली प्रक्रिया बैंकहरुका लागि छिटो र सजिलो छ।

नयाँ बजेटबाट आशा

जेठ १५ मा आउने नयाँ बजेटले खर्च कटौतिको परिणाममुखी योजना सार्वजनिक गर्नुपर्ने बाध्यता त छदैछ, पूँजी बजार लगायतका शिथिल भएको क्षेत्रलाई पुनर्जागरण गर्ने गरी रणनीतिक कार्यक्रमहरु पनि पस्कनुपर्ने भएकाले सबैतिरबाट प्रचण्ड सरकारबाट आशा गरिएकै छ। नयाँ बजेटबाट उद्योग व्यवसाय र पूँजी बजारलाई चलायमान बनाउने कार्यक्रमहरु पस्किएन भने जनतामा झन् धेरै निराशा बढ्ने हुँदा सरकार चेपुवामा छ। अर्थतन्त्र सुधार्ने जिम्मा राष्ट्र बैंकको काँधमा छ भन्ने दोषारोपण गर्दै सरकार उम्किनसक्ने अवस्था छैन। मौद्रिक नीतिबाट हैन वित्त नीतिबाट मात्रै अर्थतन्त्रको पुनर्जागरण सम्भव छ। शेयर बजारलाई आशावादी बनाउने यो पनि एउटा आधार हो।

आशा नजगाई सुखै छैन

गहिरो निराशाबाट गुज्रिरहेका उद्योगी, व्यवसायी, लगानीकर्ता र सर्वसाधारणलाई अब आशावादी नबनाउने हो, भरोसा नदिलाउने होे र आड भरोसा नदिने हो भने त्यसको ठूलो मार आउने वर्षमा राजश्वमा नै पर्नेछ। आफ्नो नाफाको ३० प्रतिशत रकम कर तिर्ने बैंक र बीमा कम्पनीहरुले सरकारलाई कर बुझाउन सक्ने छैनन् किनभने बैंकहरुले ठूलो रकम नोकसानी व्यवस्थामा राख्नुपर्नेछ। सूचीकृत बाहेकका ठूला कम्पनीहरुको आय नै ऋणात्मक भएर आयकरको ठूलो हिस्सा गुम्ने छ। साना व्यवसायीहरुले धमाधम सटर बन्द गरेर कुलेलम ठोकिरहेकाले शहरी क्षेत्रबाट असुली हुँदै आएको राजश्व ठप्प हुनेछ। हालैको तथ्यांक अनुसार बागमति प्रदेशको आर्थिक बृद्धि सबैभन्दा सुस्त देखिनुले यसको संकेत गरिसकेको छ।

अर्थतन्त्रको सूचक शेयर बजार

शेयर बजारलाई अर्थतन्त्रको सूचक भनिन्छ। देशको अर्थतन्त्रमा सुधार हुन लागेको संकेत गर्ने पनि यही क्षेत्रले नै हो। जब शेयरको भाउ बढ्न थाल्छ, तब अर्थतन्त्र चलायमान बन्न थालेको आभाष मिल्छ। एक व्यक्तिबाट अर्को व्यक्ति र एक बैंकबाट अर्को बैंकमा पैसा छिटो छिटो कुद्न थाल्यो र ठूला ठूला कारोबारहरु हुन थाल्यो भने अड्किएर बसेका गाँठोहरु फुक्न थाल्छन्। त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन र आशा जगाउन पनि पूँजी बजारलाई चलायमान बनाउनु जरुरी छ। यसको ठूलो सांकेतिक अर्थ छ।

नयाँ ब्रोकरको आगमनले थप्नसक्छ उत्साह

हालै धितोपत्र बोर्डबाट आशय पत्र पाएर धमाधम पुर्वाधार तयार पार्दै गरेका ४३ वटा शेयर दलालले कारोबार शुरु गर्दा शेयर बजारमा उत्साह थपिनसक्छ। उनीहरुले परिचालन गर्ने झण्डै ११ अर्ब पूँजी र आबद्ध गर्ने नयाँ लगानीकर्ताका कारण पूँजी बजारमा माग पक्ष बलियो भएर शेयरको मूल्यका साथै दैैनिक कारोबार रकम बृद्धि भएर जाने आशा गर्न सकिन्छ। पुराना शेयर दलालसँग लगानीयोग्य रकम कम भएको अहिलेको अवस्थामा नयाँ ब्रोकरले प्रवाह गर्ने पूँजी बजारलाई चलायमान बनाउने अस्त्र बन्नसक्ने सम्भावना छ।

के सबै कम्पनीको शेयर मूल्य बढ्छ त?

हाम्रो शेयर बजारमा अहिले अधिक आपुर्तिको अबस्था कायम रहेको र आईपीओबाट धेरै कम्पनीहरुले शेयर बिक्रीको चास सिर्जना गरिरहेको हुँदा सबै कम्पनीको शेयरको मूल्य ह्वारह्वारती बढेर जान्छ भन्नु मुर्खतापूर्ण हुनेछ। फेरि पनि बजार माग र आपुर्तिको आधारमाा चल्नेछ र सेक्टरवाईज खेलहरु चल्नेछन्। यसपल्ट कुन सेक्टरले बजारको नेतृत्व गर्छ भन्न चाँही गाह्रो छ। त्यसैगरी नेप्से सूचक कहाँसम्म पुग्ला भन्ने कुरा ठ्याक्कै मिलाउन पनि कसैले सक्दैैन। बजारिया विश्लेषकहरुको कुरा पत्याउन छाडेर आफ्नो जोखिमबहन क्षमता बलियो पारी, रणनीति बनाएर लगानी कौशलका साथ सुझबुझपूर्ण लगानी गर्नु बुद्धिमानी हुनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।