कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको बैशाखसम्ममा शिखरले सबैभन्दा धेरै ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १३.५४ प्रतिशत हो ।
कुल बीमाशुल्क आर्जनमा शिखरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । फागुन २९ गतेदेखि एकीकृत कारोबार थालेको सगरमाथा लुम्बिनीले यस अवधिमा ३ अर्ब ७३ करोड ७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै फागुन १७ गतेदेखि एकीकृत कारोबार थालेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ३ अर्ब ६४ करोड ९६ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमा शुल्कको ११.४१ प्रतिशत हो ।
यस अवधिमा आइएमई प्रुडेन्सिलयले २ अर्ब ७० करोड, हिमालयन एभरेष्टले २ अर्ब ४९ करोड, नेकोले २ अर्ब ४५ करोड, राष्ट्रिय बीमा संस्थानले २ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ८२ करोड ४२ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको २.५२ प्रतिशत मात्रै हुन आउँछ ।
राष्ट्रिय बीमा कम्पनीले व्यवसाय बढाउँदा युनाइटेडको सबै भन्दा धेरै घट्यो
राष्ट्रिय बीमा कम्पनीले व्यवसाय बढाउनेमा आफुलाई शीर्ष स्थानमा राख्न सफल भएको छ । कम्पनीले यस अवधिमा सबैभन्दा धेरै ३६.६७ प्रतिशतले बीमाशुल्क बढाउदै २ अर्ब २ करोड ५१ लाख रुपैयाँ पुर्याएको हो ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ४८ करोड १८ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनी पछि अजोड इन्स्योरेन्सको २७.९५ प्रतिशत, सानिमा जिआईसीको १६.०२ प्रतिशत, नेशनल इन्स्योरेन्सको १०.५६ प्रतिशत, आइएमई प्रुडेन्सियलको ९.६५ प्रतिशतले बीमा शुल्क बढेको छ ।
सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने नेको इन्स्योरेन्स रहेको छ । नेकोको बीमाशुल्क १.८५ प्रशितले मात्रै बढेर २ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यही अवधिमा नेकोले २ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो ।

पाँच कम्पनीको व्यवसाय भने खस्कियो
१६ निर्जीवन बीमा कम्पनीहरु मध्ये ११ वटाले आफ्नो व्यवसायलाई विस्तार गर्दा ५ वटा कम्पनीको व्यवसाय भने खस्किएको छ । यस अवधिमा साविकको युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट र नेपाल इन्स्योरेन्सको बीमा शुल्क भने घटेको हो ।
सबै भन्दा धेरै साविकको युनाइटेड इन्स्योरेन्सको बीमा शुल्क ९.९१ प्रतिशतले घटेर १ अर्ब १५ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १ अर्ब २८ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै, सिद्धार्थ प्रिमियरको ४.२८ प्रतिशत, सगरमाथा लुम्बिनीको ३.४२ प्रतिशत, हिमालयन एभरेष्टको २.६२ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.३४ प्रतिशतले बीमाशुल्क घटेको छ ।