सामाजिक संजालमा खाना बनाउँदा बनाउँदै सेफ प्रकाशलाई जुरेकाे अवसर "अलेभ कबाब सल्टनेट" रेष्टुरेण्ट

Jun 08, 2023 06:50 PM Merolagani



ज्याेति शाह

विश्वभर टर्कीको खानाले लगभग अतिक्रमण नै गरिसकेको छ । अझै युरोपियन देशहरुमा टर्कीको दुरुम (टर्किस ह्याप), डोनर केबाप, मिठाईमा बकलाभा, टर्किस डिलाईटले अन्य खानालाई पछि पारिसकेको छ । टर्कीको खानाको स्वाद लिन चाहनेको संख्या विश्वभर नै फैलदा नेपालमा पनि यी खाना खान चाहनेका लागि अलेभ कबाब रेष्टुरेण्ट एक नाम बन्दैछ ।

अलेभ कबाब सल्टनेट रेष्टुरेण्टमा पस्नासाथ टर्कीमा भएको अनुभव पाउन सकिन्छ । यहाँको सजावटदेखि पृष्ठभूमीमा बज्ने गीतले कसलाई नौलो र आनन्दको अनुभव नगराउला ?

"अलेभ कबाब सल्टनेट टर्किस नाम हो", रेष्टुरेण्टका सहसंस्थापक प्रकाश कटुवाल अर्थ्याउँछन् । "अलेभको अर्थ आगोको राप, आगोको फ्लेमबाट पाक्ने केबापलाई अलेभ कबाब भनिन्छ । सल्टनेटको अर्थ सुल्तानले राज्य गरेको देश हो," उनी सुनाउँछन् ।

नक्सालको टंगलवुडमा रहेकाे अलेभ कबाब सल्टनेट रेष्टुरेण्ट साढे २ वर्ष अघि खोलिएको थियो । कैयौं वर्षदेखि नेपाली होटल जगतमा रमाइरहेका तीन जनाले सुरु गरेको अलेभ कबाबमा टर्की र मध्य पूर्वी देशका स्वादिला परिकारहरु पस्किने गरेकाे छ । नेपालको पहिलो टर्किस रेष्टुरेण्ट अलेभ कबाबका सहसंस्थापक प्रकाश विस्तृतमा भन्छन्, "टर्किस खाना धर्म र संस्कृतिसँग जोडिएको हुन्छ । संसारभरको बजारलाई तताइरहेका बेलामा त्यहाँका खाना नेपालमा बेचिरहेका छौँ । नेपालमा नभएको खाना हामीले दिँदा राम्रो प्रतिक्रिया पनि पाइरहेका छौँ ।"

अलेभ कबाब सल्टनेट रेष्टुरेन्टमा खानासँगसँगै खानाकै माध्यमबाट नाटक पनि मन्चन गर्ने गरेको प्रकाशले मेरोलगानीलाई जानकारी दिए । उनी भन्छन्, "तपाईँ टेबलमा बसिसकेपछि खाना सर्भ गर्दा नयाँ कुरा देखाउने कोशिस गर्छौँ । खानाका नयाँ गतिविधि मैले गरेमा तपाईलाई रमाइलो लाग्छ । प्रकाश थप्छन्, "टेबलमा खानाको ठुलो प्लाटर हुन्छ । त्यसमा हामीलो हट सिजलिङ गर्छौँ । त्यो प्लाटरले ४ जनालाई पुग्छ ।"

सुनको जलप भएको खाना देखि ६ फिट अग्लो केबाप

सुनको जलप लगाएको खाना पनि प्रकाश कटुवालले नेपालमा पहिलो पटक यस रेष्टुरेण्टमा नै पस्किएका थिए । नाइट्रोजनमा पानी राख्दा जुन धुँवा निस्कन्छ,त्यो हेर्दा स्वर्गमा भएको अनुभूति कसलाई नहोला । यस्तो दृश्य देख्दा हर कोहिको मन लोभिन्छ वा मोबाइलमार्फत कैद गर्ने इच्छा जाग्छ ।

तीन किलो नुनको ढिक्का भित्र खाना बनाएको पनि सेफ प्रकाशको अनुभव रहेको छ । नुनमा आगो बाल्ने देखि ६ फिटको केबाप समेत उनले बनाएका छन् । 

नेपाली खानासँग केहि हदसम्म टर्कीका मसलाहरु मेल खान्छ । टर्किस खाना नेपालीहरुको जस्तो चटपटा नभएपनि यो स्वस्थवर्द्धक खानामा पर्छ । मेडिटेरियन खाना लोकप्रिय हुनुको कारण  खानाको स्वादकासाथै कलर कम्बिनेसन र प्रेजेन्टेसनले पनि मूख्य भूमिका खेलेकाे हुन्छ ।

कबाब अथवा केबाप नरम र स्वादिलो हुने सेफ प्रकाश बताउँछन् । "मासु पिरो धेरै नभएपनि सफ्ट, टेण्डर र जुसी हुन्छ ।" नेपालीहरु उनले बनाएका टर्किको खाना मन पराउनेमा उनी विश्वस्त छन् ।

अलेभमा के खान जाने ?

अलेभ कबाबको विशेष खानामा केबाप रहेको कटुवाल सुनाउँछन् । यसैगरी, केबापमा अन्य ४० भेराइटिज छन् । जसमा फेमिली प्लाटर, अरबिक खाना 'खाप्चा राइस', पिले, पिलाफ लगायतका छन् । अलेभ केबापमा ९० भन्दा धेरै परिकार पकाइने गरेको छ । हालसम्म अलेभमा २५०० भन्दा धेरै ग्राहक सन्तुष्ट भएर फर्केको रेष्टुरेण्टको भनाई छ । हलाल खाना मात्र पाइने भएकाले पनि मुस्लिम समुदायका लागि अलेभ कबाब रेष्टुरेण्ट रोजाईमा पर्ने गरेको छ ।

खाँडी मुलुक गइसकेका र अरबिक खाना मनपर्ने नेपालीहरुका लागि अलेभ कबाब उपयुक्त स्थानको भएको प्रकाशको दाबी छ ।

अलेभ कबाबमा टर्कीका विभिन्न स्वादका पेय पदार्थ पनि पाइने कटुवालले बताए । वाइल्ड टर्की, टर्किस डिलाइट, टर्किस बिट्वीन द सिट्स पनि एलेफ केबापमा बनाएर पस्किइने गरेको छ । यसबाहेक टर्किको विशेष मिठाई बक्लावा, बक्लावा विथ आईसक्रिम, लेबानिज मिठाई हलावेत एल जीबन आदि पनि डेजर्टका रुपमा परिचित छन् । मटन बोल सुप जसलाई चोर्बा पनि भनिन्छ, एलेफ कबाबले कम्पिल्मेन्ट्ररीको रुपमा सर्भ गर्ने गरेको छ ।

अलेभ कबाबको खाना घरैमा बसीबसी मगाउन पनि सकिन्छ । रेष्टुरेण्टमै फोन गरेर मात्र होइन पठाओ फुड, भोड डिल तथा फुडमाण्डुबाट पनि अलेभमा पाक्ने खाना मगाउन सकिन्छ ।

"हेर्दा मूल्य महंगो लागेपनि हाम्रोमा क्वान्टिटीका हिसाबले २ जनालाई पुग्छ," प्रकाश भन्छन् । "त्यस हिसाबले अर्फोडेबल छ," कटुवाल एलेफ कबाब सल्टनेट रेष्टुरेण्ट महंगो भएको कुरा नकार्छन् । ५०० रुपैयाँ लिएर गए पनि अलेभमा एक जनाले मजाले खाना खान सकिने उनको दाबी छ ।

६१ वटा राजदुतावासका राजदुतदेखि लिएर अन्य पाँच तारे होटलका संचालक, प्रतिष्ठित व्यापारी, बैंकर र चर्चित सेलिब्रेटिहरु पनि अलेभका नियमित ग्राहक हुन् । दुबइ र साउदी अरबका राजकुमारसँगै कतारका राष्ट्रिय खेलाडीहरु आएर खुलेर खानाको प्रशंसा गरेको उनले बताउँछन् ।

सर्वाधिक धेरै पहुँच युवाहरुमाझ भएपनि ३० वर्ष उमेर भन्दा माथिका आउने गरेको सहसंस्थापक कटुवालले बताए ।

अलेभ केबापमा हाल ३० जना युवा तथा युवतीहरु कर्मचारीले काम गरिरहेका छन् । बिहान १० बजेदेखि राती १० बजेसम्म खुल्ने यस रेष्टुरेण्टमा दैनिक २५० जनासम्म आउने गरेका छन् । ७० जनाकाे क्षमता भएकाे यस रेष्टुरेण्टमा विशेषगरी शुक्रबार, शनिबार तथा सार्वजनिक विदाकाे दिन भिडभाड हुने गर्छ ।

अलेभ कबाब रेष्टुरेण्टकाे मेनुमा भएका खाना तथा खाजाहरुमा महिनाको कम्तिमा एक नयाँ डिस थपिरहेको सेफ प्रकाश कटुवाल बताउँछन् । अलेभ कबाब सल्टेनट रेष्टुरेण्टको उपत्यका बाहिर शाखा विस्तार गर्ने योजनामा रहेको पनि उनी खुलाउँछन् । पोखरामा केहि समयमा यस रेष्टुरेण्टको शाखा खुल्ने भएको छ । टर्किस रेष्टुरेण्टको भविष्य भएकोले नै नयाँ रेष्टुरेण्ट खुलेको उनको भनाई छ ।

तीन जनाले गरे साढे २ करोडको लगानी

अलेभ कबाब सल्टनेट रेष्टुरेण्टमा कृण्ण पौडेल, विनायक पौडेल र प्रकाश कटुवालका लगानी रहेको छ । २ वर्ष ५ महिना अघि यी तीन संस्थापकले २ करोड ५० लाख रुपैयाँ खर्चिएर रेष्टुरेण्ट स्थापना गरे ।

रेष्टुरेण्ट खोलेको ४० दिनमै कोरोना महामारी कारण दोश्रो लकडाउन जारी गरियो । प्रकाश लगायतका तीन संचालकलाई सुरुको गाँसमा नै ढुंगा लागे जस्तो भयो । "भरखर खोलेको रेष्टुरेण्ट नै बन्द गर्नुपरेपछि धेरै तनाव र दबाब भयो । तर भाग्यवश हाम्रो मेहनत र टिम वर्कका कारणले अहिले फर्केर हेर्नु परेको छैन,"प्रकाश सन्तुष्ट सुनिन्छन् ।

 

"आयका हिसाबले सबै आवश्यक खर्च गरेर हामी तीनजनाको व्यक्तिगत खर्च चलाउन पनि पुगेको छ,"प्रकाश मुस्काउँछन् ।

प्रकाश कटुवालले कृष्ण पौडेललाई गुरु मान्छन् । केहि वर्ष पहिले प्रकाश कृष्णकाे होटलमा सेफका रुपमा कार्यरत थिए । पछि प्रकाश सिमरास्थित होटल इच्छामा काम गरिरहँदा कोभिड १९ संक्रमण फैलियो । त्यसको प्रत्यक्ष असर नेपालको होटल व्यवसायमा पर्याे जसकारण प्रकाशको रोजगार गुम्यो।

रोजगार गुमाएपनि हरेस नखाएका कटुवालले घरमा नै विभिन्न परिकार बनाउन थाले । ती परिकारका तस्बिर तथा भिडियो खिचेर उनले सामाजिक संजालमा राख्ने गर्थे । जसबाट उनलाई अर्डर आउँथ्यो र खाना बिक्री हुन्थ्याे । सामाजिक संजालबाट नै टर्कि तथा मेडिटेरियन खानाका बारेमा ज्ञान भएका कृष्णले प्रकाशसँग नयाँ केहि गर्ने सल्लाह गरे । "मैले हुन्छ भने र रेष्टुरेण्ट खोल्ने तयारी गर्योँ," प्रकाश सम्झिन्छन् । 

१० वर्ष सेफका रुपमा काम गरिसकेका कटुवाललाई रेष्टुरेण्ट खोल्ने इच्छा थियो । "एउटा रेष्टुरेण्ट खोलेर भविष्य सुरक्षित बनाउन मन थियो । समय पनि मिल्यो, योजना बन्यो ।" टर्कीका सेफलाई नेपालमा ल्याएर तालिम समेत गरेका थिए प्रकाशले । 

प्रकाशको नयाँ खाना बनाउने तथा कृष्णको हाेटल क्षेत्रतर्फको लगावले अलेभ कबाब सल्टनेट रेष्टुरेण्टको परिकल्पनालाई साकार बनायो । 

खानाका पारखीहरुलाई नयाँ ढंगले खाना प्रस्तुत गर्न शौखिन छन् प्रकाश । हुन त प्रकाश कटुवाल नसुनेको नाम होइन । ३८ वर्षका प्रकाश पाक कलाकारका रुपमा चिनिएका सेफ हुन्।

धुलाबारी, झापा घर भएका प्रकाशले कक्षा १२को अध्ययनपछि काठमाडौंमा पाइला टेकेका थिए । १८ वर्षयता उनी नेपालको होटल क्षेत्रमा रमाइरहेका छन् । हुन त विगतमा, जेठो छोरा भएका नाताले घरको आर्थिक बोझ धानेका प्रकाशले बाध्यताका कारण यस क्षेत्रमा भित्रिनुपरेको थियाे । तर पनि अनेकन् दुख र संघर्ष गर्दागर्दै उनमा कामको अनुभव बढ्दै गयो र विभिन्न स्थानबाट अफर आउन थाल्यो । बजारमा बिस्तारै चिनिँदै गएपछि प्रकाशलाई यहिँ क्षेत्रले नै सेफका रुपमा नेपालमा परिचित तुल्यायो । प्रकाशले ठमेलको भिआईपी रेष्टुरेण्ट, अनुपम फुडल्याण्ड, चाइना रेष्टुरेण्ट लगायतमा सेफका रुपमा काम गरिसकेका छन् ।