'पोहर सालको चैतमा हामीले नीतिलाई केही सहज बनायौँ, त्योभन्दा यता आएर हामी क्रमशः सहज हुँदै गइरहेका छौँ'

Jun 25, 2024 06:05 PM Merolagani



महाप्रसाद अधिकारी

हामीले करिब डेढ वर्षजति टाइट मोनिटरी पोलिसी अपनायौँ। विश्वको परिस्थिति यहाँहरुलाई थाहा नै छ, सन् २०२२ मा विश्वको समग्र मुद्रास्फिती साढे ८ प्रतिशत पुग्यो। जसले गर्दा विश्वभरी नै सबैको मोनिटरी पोलिसी टाइट रहन गयो। हामीकहाँ पनि त्यस्तै परिदृश्यहरु आयो।

हामी पनि ८ प्रतिशतभन्दा माथिको मुद्रास्फितीमा परेको समयमा एक वर्षमा करिब १९ प्रतिशत हाम्रो रिजर्भ घट्यो। जुन कुरा हाम्रो लागि खतरनाक थियो। हाम्रो रिजर्भको साइज सानो होइन। साढे ६ महिनासम्मको कभरेज त्यतिबेला पनि थियो। तर, त्यसरी नै घट्दै गयो भने भोलिलाई हामीलाई असजिलो हुन्छ भन्ने कुरा हामी नीति निर्माताहरुलाई महसुस भयो र वास्तविकता त्यही हो। जसलाई करेक्सन गर्नका लागि हामीले करिब डेढ वर्षजति टाइट मोनिटरी स्ट्यास लियौँ।

२०७९/८० को तेस्रो त्रैमास, अर्थात पोहर सालको चैतको समीक्षा गरिराख्दा हामीले नीतिलाई केही सहज बनायौँ। त्योभन्दा यता आएर हामी क्रमशः सहज हुँदै गइरहेका छौँ। अहिलेको पछिल्लो पोलिसी रेट भनेको साढे ५ प्रतिशत हो। यहाँले रिलेटिभ कम्पेरिजन गर्नुभयो भने हामी राम्रो अवस्थामा छौँ। केही अपवाद जस्तै, अर्जेन्टिनासँग तुलना गर्न मिल्दै मिल्दैन। जसको २५१ प्रतिशत मुद्रास्फिती छ। त्यस्तै, थाइल्याण्डहरु जो नेगेटिभ मुद्रास्फितीमा बसिरहेका छन्। नत्र भने औसतमा पोलिसी स्ट्यान्स सबै मुलुकहरुले सहज बनाउँदै लगेका छन्। तर पनि सचेत छन्। रेट नै घटाइ हालेका छैनन् कतिपय मुलुकहरुले। भारतको साढे ६ प्रतिशत पोलिसी रेट छ। हामीभन्दा एक प्रतिशतविन्दु माथि छ। पाकिस्तानको साढे १७ प्रतिशत छ जुन हामीभन्दा धेरै माथि हो। श्रीलंका, माल्दिभ्सहरु असज परिस्थितिमै छन्। रिकभरीको लागि टाइम लाग्नेछ। हामी कोभिडको अवस्थाबाट आर्थिक हिसाबले पहिलो वर्ष नै रिकभर भयौँ। पौने ६ प्रतिशतको वृद्धि भनेको राम्रो वृद्धि हो। पछिल्ला दुई वर्ष राम्रै भएको थियो। तर गत वर्ष हामी फेरी वृद्धि घट्यो, यो वर्ष पनि ४ प्रतिशतको हाराहारीमा हुने अनुमान छ। त्यसपछाडिका कारणहरु छन्। धेरै कुराहरु मैले बताइराख्नु पर्दैन।

कृषि, व्यवसायमा, ग्रासरुटमा फिल्डमा उत्रने सबै साथीहरुलाई थाहा छ किन यस्तो भइरहेको छ? किन ग्रोथले मोमेन्टम लिन सकिरहेको छैन? किन आर्थिक क्रियाकलापहरु बढ्न सकिरहेको छैन? किन उद्योगी व्यवसायीहरुको मनोबल उच्च हुन सकिरहेको छैन? केही व्यवसायीहरुको होला। पोहरको दाँजोमा बजार हेर्ने हो भने टेस्ला गाडीको संख्या निकै बढेको छ। ११ हजार इभी गाडी गत महिनामा मात्रै आयात भएको छ। यी तथ्यांकहरुले के बताउँछ भन्दा उही आईएमएफले भने जस्तो हामी सुधारोन्मुख छौँ, सुधार राम्रो देखिन्छ। तर यो समान किसिमले भइरहेको छैन। यो अलिकति डाइभर्जेन्स छ। यी कुराहरु आफ्नो ठाउँमा छ। हामी वास्तविकताबाट भाग्न सक्दैनौँ। वास्तविकता के हो त भन्दा हामीकहाँ मान्छे बाहिर गइरहेका छन्। चाहे त्यो रोजगारीको लागि होस् या पढ्नका लागि। त्यसमा पनि युवाहरु गएका छन्। खाने मुख बाहिर छ र त्यो खालको उपभोग केही हदसम्म घट्नु स्वभाविक छ। अर्को कारण निर्माण घटेको छ। चाहे पब्लिक भनौँ या प्राइभेट। कोरोनाको बेलामा हेर्नु भयो भने प्रशस्त निर्माण भइरहेको पाउँथ्यौँ। कति घरहरु बनिरहेका हुन्थे। छतबाट मात्र हेर्दा पनि देखिन्थ्यो। अहिले त्यो यहाँहरुले पाउनुहुन्न। त्यसको असर कति ठूलो छ? त्यसमा प्रयोग हुने जुन जनशक्ति, सामाग्री छन् यी सबैलाई हामीले अगाडि बढाउन अलि सकेनौँ। त्यो राज्यले पनि महसुस गरेको छ। जसको फलस्वरुप आर्थिक शिथिलता भएको छ। त्यो शिथिलतालाई चिर्ने उद्देश्यसहित बजेट आएको छ। र अब त्यो बजेटलाई टेकेर हामी मौद्रिक नीति ल्याउँछौँ।

हामी सबैका कुराहरु राष्ट्र बैंकको टीमभित्र गहन रुपले छलफल गर्छौँ। हामीले यो सालबाट मौद्रिक नीति तयार गर्ने क्रममा नयाँ मेकानिजम पनि विकास गरेका छौँ। एउटा एडभाइजरी कमिटि जसले टेक्निकल्ली मौद्रिक नीतिका एग्रिगेटहरुको बारेमा, हिजो के काम गर्यो? भोली कस्तो हुन सक्छ? भन्ने सिफरिस उहाँहरुले गर्नुहुन्छ। त्यसले हामीलाई केही न केही टेक्निकल सहयोग पुग्नेछ। आर्थिक हिसाबले, मौद्रिक हिसाबले हामी धेरै सबल छौँ। हाम्रो मुद्रास्फिति पछिको धेरै कुराले सघाएको छ। धन्यवाद ति तत्वहरुलाई। मैले मौद्रिक नीतिले नै घटाएको भन्दिन। ४.४ को मुद्रास्फिति भनेको हाम्रो लागि धेरै सहज अवस्था हो किनभने विगत ३० वर्षको औसत हेर्नुभयो भने ७ प्रतिशत पाउनुहुन्छ। अर्को महत्वपूर्ण विषय भनेको फाइनान्सियल स्ट्याबिलिटी र फाइनान्सियल सेक्टर हो। हाम्रो बैंक तथा वित्तीय संस्था जुन छ, जस्तोसुकै अफ्ठ्यारो अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाको रिजिलियन्सी, सिस्टमको क्षमता, त्यो साँच्चै महत्वपूर्ण छ। कोभिडको बेला अफ्ठ्यारो पर्दा ग्राहकलाई बचाउने बैंकहरु हुन्। बैंकको क्यापिटलले बैंकको त्यो खालको क्षमता त्यो बेला देख्यौँ। कतै बैंकलाई अफ्ठ्यारो पर्ला कि भनेर केन्द्रीय बैंकले पनि सपोर्ट गर्यौँ त्यतिबेला। त्यो खालको रिजिलियन्सीलाई कायम गर्नुछ।

तेस्रो राष्ट्र बैंकको म्यान्डेट भित्रको बाह्य क्षेत्रको स्थिरता हो। जसभित्र पनि चालु खाता, बिओपी, रिजर्भको स्थिति आदि। एकजना साथीले भन्छन्, यति धेरै रिजर्भ राखेर के गर्नुहुन्छ? त्यसलाई प्रयोग गरौँ न, राज्यकै लागि हो। हामीसँग त्यस्तो रेजिस्टेन्स केही छैन। तर त्यसले हामीलाई सहजता दियो नि। म दुई हप्ता अघिमात्रै श्रीलंकामा सार्क फाइनान्सको मिटिङ्गमा गएर आएको छुँ। त्यहाँ इमर्जिङ्ग इकोनोमीहरुको कति कायम सुरु गरेका छन्? कति काम पाइपलाइनमा छन्? त्यसलाई सम्पन्न गराउनका लागि कम रिजर्भ भएका मुलुकले १५–२० वर्ष सोच्नुपर्ने अवस्था आयो। त्यसको महत्व हामीले बुझ्नुपर्यो। अर्थात, हामीसँग जे जति सकारात्मक कुराहरु छन्, त्यसलाई सकारात्मक रुपमा लिएर अघि बढ्नु पर्यो। र हामीलाई जे जति कमजोरी पक्षहरु छन्, जस्तै रियल सेक्टर, पब्लिक कन्फिडेन्स र व्यवसायीको कन्फिडन्सको इस्यू छ, त्यसलाई सबल बनाउँदै जानुपर्यो। यो आफै बन्ने कुरा होइन। आफ्नो आफ्नो ठाउँमा काम गर्नुपर्ने हुन्छ। त्यतिकै छोड्नु भएन नि। जस्तै, एउटा अफिसमा १० जना स्टाफ छन्। रिसेसन आउने भयो भनेर ३ जना स्टाफ घटायो भने झन् रिसेसन आउँछ नि। त्यो नल्याउनका लागि दुई जना थप्नुपर्यो। अलि कम्प्रमाइज गरेर। तब पो सहजता पुग्छ अर्थतन्त्रलाई, आर्थिक सिथिलता जित्नलाई।

हामीकहाँ धेरै नकारात्मक कुराहरु आउँछन्। मान्छेहरुको हैसियत बढेको छ। हामी कम छैनौँ। देश भित्रको अवस्था राम्रो छ। आफ्नो आफ्नो व्यवसाय गरिराख्दा स्वमूल्याङ्कन गर्नुपर्छ। आफ्नो घाँटी पनि हेर्नुपर्छ। एडप्टेशनका कुरा पनि छन्। हामीले मोर्डन टेक्नोलोजीलाई एडप्ट गर्नुपर्यो। पुरानै पारामा चलिरह्यो भने हुँदैन। सबै कुरामा सँगसँगै जानुपर्छ। जस्तै, एप्पल, सामसुङ्गभन्दा अगाडि ब्ल्याकबेरी मोबाइल सबैको हात हातमा थियो। त्यो कहाँ गयो थाहा छैन। मोबाइल नचलेर डुबेको त हैन नि कम्पनी त। मोबाइल त सबैले चलाईरहेका छन्। त्यो उसको बिजनेश स्ट्राटिजीका कारण भएको हो। त्यसैले आफ्नो स्ट्राटिजी बनाउनुपर्छ। आफु बिग्रिने अनि गाली अरुलाई गर्न पाइँदैन। हामी पोलिसीमेकर छौँ। हाम्रो कर्तव्य यहाँहरुलाई राम्रो वातावरण बनाइदिने हो। यहाँहरुलाई लेभल प्लेइङ्ग फिल्ड दिने हो। यहाँहरुलाई काम गर्ने वातावरण बनाइदिने हो।

(गभर्नर अधिकारीले नेपाल व्यवस्थापन संघद्वारा साेमवार आयाेजना गरेकाे कार्यक्रममा राखेकाे मन्तव्य) 

 




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।