भारत-बंगलादेश उर्जा सम्झौताकाे लाभ नेपालले लिने,अर्काे महिना त्रिदेशीय सम्झौता हुने, बंगलादेशले नेपालबाट थप विद्युत खरिद गर्ने

Jun 26, 2024 06:25 PM Merolagani



बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले गत साता भारत भ्रमण गर्दा ऊर्जा तथा व्यापार सम्बन्धी द्विपक्षीय सम्झौता भयो । 

सम्झौता ती दुईहरुका बीचमा भए पनि त्यसको सोझो प्रभाव नेपाललाई पर्ने भएको छ । किनकी भारतसँग विद्युत आयात निर्यात गरिरहेको नेपालले बंगलादेशलाई पनि विद्युत निर्यात गर्ने प्रयास गर्दै आएको छ ।

बंगलादेशी प्रधानमन्त्री हसिनाको भ्रमणका बेला जारी भएको दुई देशको संयुक्त वक्तव्यमा नेपाल र भुटानको समेत नाम उल्लेख गर्दै भारतीय ग्रिडमार्फत क्षेत्रिय स्तरमै विद्युत व्यापार विकास गर्ने कुरा उल्लेख छ ।

‘हामी हाम्रो ऊर्जा सहकार्य विस्तारलाई जारी राख्ने छौं र भारत,नेपाल र भुटानमा स्वच्छ ऊर्जा आयोजनाहरूबाट उत्पादित प्रतिस्पर्धात्मक मूूल्यको ऊर्जा भारतीय विद्युत् ग्रिडमार्फत् विस्तार गर्दै अन्तर क्षेत्रीय विद्युत् व्यापारको विकास गर्ने छौं’ संयुक्त प्रेस वक्तव्यमा भनिएको छ । दुवै देशहरूले ऊर्जा सहकार्यलाई निरन्तर विस्तार गर्ने र क्षेत्रीयस्तरको विद्युत् व्यापार विकासमा सहकार्य गर्ने कुरा उल्लेख छ ।

यो सम्झौतापछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न थप सहज हुने अनुमान विज्ञहरुले गरेका छन् । त्योसँगसँगै भविश्यमा अन्य देशहरुमासमेत विद्युत निर्यात गर्ने बाटो खोलिदिने विश्वास गरिएको छ ।

स्मरणरहोस् ऊर्जा संकटबाट ग्रस्त रहेको बंगलादेशले नेपालबाट बिजुली लैजान केही वर्षदेखि निरन्तर प्रयास गर्दै आएको छ भने नेपालले पनि वंगलादेशको माग अनुसार निर्यात गर्ने प्रयास गरिरहेको छ । तर भारतले विद्युत लाइन उपलब्ध नगराउँदा त्यो प्रयासले सार्थकता पाएको छैन ।

हसिनासँगको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशले आफ्नो देशको उर्जा संकट समाधानको लागि नेपालबाट भारतको ग्रिड प्रयोग गरेर बिजुली लैजान सक्ने र त्यसमा भारतले आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने घोषणा गरेका थिए । साथै उनले यसरी नेपाल बंगलादेशबीच विद्युत निर्यात गर्ने कुरा ऊर्जा क्षेत्रमा दक्षिण एशियाको पहिलो उपक्षेत्रीय सहयोगको उदाहरण भएको बताए ।

बंगलादेश सरकारले पनि प्रधानमन्त्री हसिनाको भारत भ्रमणको मुख्य सफलताको रुपमा भारतको ग्रिड प्रयोग गरेर नेपालबाट बिजुली आयात गर्न भारतले सहजीकरण गर्ने कुरालाई उल्लेख गरेको छ ।

भारत र बंगलादेशबीचको पछिल्लो सम्झौतापछि नेपाल—भारत—बंगलादेशबीच त्रिदेशिय विद्युत सम्झौता गर्नको लागि आन्तरिक तयारी शुरु भएको छ । चर्काे उर्जा संकट भोगिरहेको बंगलादेशकै पहलमा त्यस्तो सम्झौताको तयारी भइरहेको उर्जा मन्त्रालयका एक अधिकारीले मेरो लगानीलाई जानकारी दिए । ‘अबको एक महिना भित्र नै सम्झौता गर्ने गरि आन्तरिक तयारी भइरहेको छ,’ उनले भने ।

त्यसको लागि सम्झौताको मस्यौता तयार भइरहेको छ । त्यो मस्यौदाको अहिले नेपाल विद्युत् प्राधिकरण, भारतको नेशनल थर्मल पावर कर्पाेरेशन (एनटीपीसी) र विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) तथा बंगलादेशको क्याबिनेट कमिटी अन गभन्र्मन्ट पर्चेज (सीसीजीपी) र बंगलादेश पावर डेभलपमेण्ट बोर्ड (बीपीडीपी)का उच्च अधिकारीहरुले थप अध्ययन गरिरहेका छन् । यी चारबाटै संस्थाका अधिकारीहरुको अन्तिम रायसुझावलाई समेत सम्झौतालाई अन्तिमरुप दिइ हस्ताक्षर गरिने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

स्मरणरहोस केही समय अघि बंगलादेशको क्याबिनेट कमिटी अन गभन्र्मन्ट पर्चेज (सीसीजीपी) ले नेपालबाट पाँच वर्षका लागि ४० मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरिसकेको छ । अब हुने त्रिदेशीय सम्झौतापछि बंगलादेशले नेपालबाट थप सके जति विद्युत खरिद गर्ने प्रकृया अगाडि बढाउने बताइएको छ ।

 




comments powered by Disqus

रविसँगै जेल जाने १४ जना काे काे हुन् ?

Oct 18, 2024 06:03 PM

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।