चालु आवको तेस्रो त्रैमाससम्ममा ९ वटा बैंकको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी देखिएको छ। सिभिल बैंकलाई आफूमा गाभेर कारोबार गरेको हिमालयन बैंकको सबैभन्दा बढी खराब कर्जा देखिएको छ । हिमालयन बैंकको खराब कर्जा ७.६८ प्रतिशत रहेको छ भने त्यसलाई क्रमशः कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पछ्याएको छ । कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ६.०६ प्रतिशत रहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र प्रभु बैंकको खराब कर्जा राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमा भन्दा माथि देखिएको छ ।
कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माचापुच्छे बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक र सिद्धार्थ बैंकको खराब कर्जा ४ देखि ५ प्रतिशतमा बीचमा रहेको छ भने सानिमा बैंकको ३.४२ प्रतिशत रहेको छ । खराब कर्जा कम बैंक भएकाे पहिलो नम्बरमा एभरेष्ट बैंक रहेको छ । एभेष्टको खराब कर्जा ०.६४ प्रतिशत मात्रै रहेको छ भने दोस्रो नम्बरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको खराब कर्जा १.४ प्रतिशत रहेको छ ।
आर्थिक सुस्ततासँगै बैंकहरूलाई कर्जा अुसलीमा समेत सकस परिरहेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार कर्जा असुली थप पेचिलो बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तमसम्मको तथ्यांक अनुसार कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा (एनपीएल) बढेको छ । जबकि राष्ट्र बैंकले यस बीचमा असल कर्जामा १.१ प्रतिशत राख्नुपर्ने प्रोभिजनलाई घटाएर १ प्रतिशतमा झारेको थियो भने निर्माण व्यवसायीहरुको कर्जामा तिर्नुपर्ने व्याजको १० प्रतिशत मात्रै तिरे असार मसान्तसम्म ऋण पुनर्तालिकीकरण गर्न दिने सुविधा दिएको थियो । राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकहरुको खराब कर्जा घट्ने बैकरको अनुमान विपरित औसतमा बैंकहरुको खराब कर्जा भने बढेको छ । गत वर्ष ३.६५ प्रतिशत रहेको २० वटा वाणिज्य बैंकहरुको खराब कर्जा चालु आवको चैतसम्म आउँदा ४.८३ प्रतिशत पुगेको छ ।
समयमा कर्जा भुक्तानी नगरेपछि ऋणीको सम्पत्ति लिलामी गरेर कर्जा असुली गर्न सक्ने भए पनि लिलामीमा समेत सम्पत्ति बिक्री नभएको बैंकंरहरु बताउँछन् । समीक्षा अवधिमा नेपाल एसबीआई बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको छ। गत वर्षको चैतमा १.९८ प्रतिशत रहेको खराब कर्जा १०५ प्रतिशत बढेर ४.०६ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंकको ८६.६८ प्रतिशत बढेर ५.७५ प्रतिशत, सानिमा बैंकको ८०.९५ प्रतिशत बढेर ३.४२ प्रतिशत, सिद्धार्थ बैंकको ६०.३२ प्रतिशत बढेर ४.०४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।
यस्तै, एनएमबि बैंकको ५६.२९ प्रतिशत बढेर ४.४७ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५१.८६ प्रतिशत बढेर ५.७१ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ५०.९१ प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दु, कुमारी बैंकको ४१.०१ प्रतिशत बढेर ६.९८ प्रतिशत बिन्दु, प्राइम बैंकको ३१.७० प्रतिशत बढेर ५.६५ प्रतिशत खराब कर्जा पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३०.०४ प्रतिशत बढेर ६.०६ प्रतिशत, नबिल बैंकको २२.७७ प्रतिशत बढेर ४.९६ प्रतिशत, माछापुच्छे बैंंकको २४.७३ प्रतिशतले बढेर ३.६८ प्रतिशत र नबिल बैंकको २२.७७ प्रतिशत बढेर ४.९६ प्रतिशत पुगेको छ ।
तर, यसअवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको खराब कर्जा भने घटेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२.७१ प्रतिशत घटेर १.४४ प्रतिशत बिन्दु र एभरेष्ट बैंकको ८.५७ प्रतिशत घटेर ०.६४ प्रतिशत बिन्दुमा खराब कर्जा झरेकाे छ।
खराब कर्जाहरू धेरै हुँदा बैंकहरूको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । बैंकहरूले ऋण प्रवाह गरेपछि विभिन्न ५ क्याटागोरीमा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपर्ने हुन्छ । असल कर्जामा १ प्रतिशत, सुक्ष्म निगरानी कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था छ।