सातामा करिब २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jun 07, 2025 05:49 AM Merolagani



यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६९३.०६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.९३ प्रतिशत अर्थात ५२.१० अंक घटेर २६४०.९६ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ९.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६५ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ५८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब २६ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.१८ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ३.२० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ६.५३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ८३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८४ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ९९ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटा उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।

कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.३ प्रतिशत घटेको छ। गत साता १४२०.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५५.८२ अंक घटेर १३६४.४२ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी २०४.९७ अंक घटेको छ।

यस साता नेप्सेमा दुई कम्पनीको ३० लाख ४४ हजार ८९३ कित्ता शेयर सूचीकृत भएको छ। यस साता शिखर इन्स्योरेन्स कम्पनी र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक ४६.३७ प्रतिशत बढेको छ। गत साता ३५० रुपैयाँ रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता ५१२ रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै, यस साता ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य साढे २० प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक ९.०५ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता पियोर इनर्जी, एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१, सुपर मादी हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, एनएमबि लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

Jun 19, 2025 10:56 AM

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।