नेप्सेमा सुचीकृत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका कम्पनीहरुको हकमा आइपीओ बाँडफाँड भएको मितिले ३ वर्ष पछि सबै संस्थापक शेयर पनि सर्वसाधारण सरह नै बिक्री गर्न पाइने व्यवस्था रहेको छ । सोही व्यवस्थाका कारण नै अहिले एनआरएन इन्फ्रास्ट्रक्चर, हाथवे इन्भेष्टमेन्ट नेपाल, सीइडीबी होल्डिङ जस्ता लगानी समूहमा रहेका कम्पनीको शेयर मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । लगानी समूहमा रहेका इन्भेष्टमेन्ट कम्पनीले लगानी गरेका हाइड्रोपावर कम्पनीको लक इन पिरियड सकिन लागेको हुँदा ती शेयर बेचेपछि इन्भेष्टमेन्ट कम्पनीलाई ‘नाफा हुन्छ’ भन्ने हल्लामै अहिले प्रायः लगानी समूह र पुराना हाइड्रोपावर कम्पनीको शेयर मूल्य बढेको लगानीकर्ताहरु बताउँछन् ।
मेरो लगानीले केही लकिङ खुल्न लागेका कम्पनीमा कुन कुन सुचीकृत कम्पनीको लगानी छ, केलाउने प्रयास गरेको छ ।
गएको जेठ ८ गतेबाट रिभर फल्स पावर लिमिटेडको लक इन पिरियड सकियो । यो कम्पनीमा मायाखोला हाइड्रोपावरको १ लाख ६७ हजार १ सय ६६ कित्ता शेयर रहेको छ । सोही आधारमा सोमबार मायाखोला हाइड्रोपावरको शेयर मूल्य सर्किट लेभलमा कारोबार भयो यद्यपि विगत दुई कारोबार दिन पुनः यो कम्पनीको शेयर मूल्य घट्दो क्रममा रहेको छ र बुधबार ४ सय ३२ रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भयो ।
हालै मात्र १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको दोर्दी खोला हाइड्रोपावर कम्पनीमा राधी विद्युत कम्पनीको १६ लाख ४४ हजार ८ सय ८८ र सीइडीबी होल्डिङसको १ लाख २० हजार कित्ता संस्थापक शेयर रहेको छ । दोर्दीले १ बराबरको १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हुनाले राधी र सीइडीबीको होल्डिङ दोब्बर हुने अनुमान गर्न सकिन्छ । कम्पनीको लक इन पिरियड असार ७ मा मात्रै सकिंदैछ । दोर्दी खोला हाइड्रोपावरको शेयर बुधबार ३ सय ९१ रुपैयाँ २७ पैसा अन्तिम मूल्य कायम भयो ।
हिमालयन हाइड्रोपावरको लक इन पिरियड आगामी असार २७ मा सकिंदैछ । कम्पनीमा सानिमा बैंकको ५ लाख ६६ हजार ९ सय ९९ कित्ता संस्थापक शेयर रहेको छ ।
अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको लक इन पिरियड असार ३१ मा सकिंदैछ । कमपनीमा पिपल्स हाइड्रोपावर कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर लगानी रहेको छ । पिपल्स हाइड्रोपावर ५ सय ३९ रुपैयाँ ६७ पैसामा र अप्पर हेवा खोलाको शेयर ५ सय ६९ रुपैयाँ ३४ पैसामा बुधबार अन्तिम कारोबार भयो ।
हालै मात्र १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको राप्ती हाइड्रो एन्ड जनरर कन्स्ट्रक्सन लिमिटेडको लक इन पिरियडि साउन ८ गते सकिंदैछ । कम्पनीमा युनिभर्सल पावर कम्पनीको १४ लाख ४२ हजार १ सय ८७ कित्ता, राधी विद्युतको १२ लाख ९० हजार कित्ता, सीइडीबी होल्डिङ्सको १ लाख कित्ता संस्थापक शेयर रहेको छ । १ बराबर १ को अनु्पातमा हकप्रद शेयर निष्काशन गरेको हुँदा यी कम्पनीहरुको अहिलेको शेयर संख्या दोब्बर भइसकेको छ । राप्ती हाइड्रोको शेयर अहिले ३ सय रुपैयाँ भन्दा माथिल्लो मूल्यमै कारोबार भइरहेको छ ।
श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडमा सानिमा माई हाइड्रोपावर, सानिमा बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको संस्थापक लगानी रहेको छ । सानिमा हाइड्रोपावरको ४५ लाख कित्ता, सानिमा बैंकको ५ लाख कित्ता र एनआरएनको १० लाख कित्ता शेयर कम्पनीमा रहेको छ । कम्पनीको लक इन पिरियड साउन १७ गते खुल्दैछ ।
त्यसैगरी त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा सरकारी स्वामित्वको नेपाल टेलिकमको ७४ लाख १० हजार कित्ता शेयर रहेको छ । सर्वसाधारणलाई जनतालाई प्रारम्भिक चरणमा १० रुपैयाँमा शेयर बेचेको यो कम्पनीको २०८२ फागुन १६ गते लकिङ पिरियड खुल्नेछ ।
यता २०८२ कै माघ २४ मा लकिङ खुल्ने मायाखोला हाइड्रोपावरमा प्रभु इन्स्योरेन्सको ४ लाख ६० हजार कित्ता संस्थापक शेयर लगानी रहेको छ भने २०८२ को फागुन १६ मै लकिङ खुल्ने एसियन हाइड्रोपावरमा सामलिङ पावर कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर लगानी रहेको छ ।
सानिमा मिडल तमोर हाइड्रोपावरमा सानिमा माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर सानिमा बैंकको संयुक्त लगानी रहेको छ । सानिमा मिडल तमोरमा सानिमा माई हाइड्रोपावरको ५३ लाख ३२ हजार कित्ता, एनआरएनको १२ लाख १ हजार २ सय २५ कित्ता र सानिमा बैंकको ११ लाख १० हजार ८ सय ३३ कित्ता संस्थापक शेयर लगानी रहेको छ । २०८२ को चैत्र ७ गते लकिङ पिरियड सकिने सानिमा मिडिल तमोरको अहिले ५ सय रुपैयाँ भन्दा माथिल्लो मूल्यमा शेयर कारोबार भइरहेको छ ।
सगरमाथा जलविद्युत कम्पनीले हालै मात्र धितोपत्र बोर्डमा १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्न आवेदन दिएको छ । कम्पनीमा ङादी गु्रप पावरको १४ लाख कित्ता संस्थापक शेयर लगानी रहेको छ । कम्पनीको २०८२ को चैत्र १६ मा मात्रै लकिङ खुल्नेछ । त्यसबेलासम्म कम्पनीले हकप्रद निष्काशन गरिसकेको हुनेछ ।
माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना पनि आगामी २०२६ सालभित्र लकिङ पिरियड सकिने कम्पनीमा पर्दछ । कम्पनीको २०८३ साउन २६ मात्र लकिङ खुल्नेछ । यसमा सानिमा माई हाइड्रोपावरको २३ लाख ७५ हजार कित्ता, सानिमा बैंकको ३ लाख ७५ हजार कित्ता, मैलुङ खोला जलविद्युत कम्पनीको २ लाख ५९ हजार २ सय ३१ कित्ता र एनआरएनको २ लाख २५ हजार कित्ता शेयर लगानी रहेको छ ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीमा एचआइडीसीएल, साइन रेसुगा विकास बैंक, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको संस्थापक लगानी रहेको छ । २०८३ को पुस ४ गते लकिङ सकिने यो कम्पनीमा एचआइडीसीएलको २० लाख कित्ता, साइन रेसुङाको ५ लाख, सानिमा रिलाइन्स लाइफको ५ लाख, प्रभु महालक्ष्मी लाइफको २ लाख र सेन्ट्रल फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर लगानी रहेको छ।