तर, ‘शेयरको मूल्य बढाउन नसकेको’मा जिम्मेवारी लिंदै भारतको एउटा बैंकका सिईओले राजीनामा दिएपछि भारतमा मात्र नभएर विश्वकै बैंकिङ तथा पूँजी बजारको क्षेत्रमा नयाँ बहस सृजना भएको छ ।
प्रसंग हो,भारतको सबैभन्दा पुरानो बैंक मध्येको एक कर्नाटका बैकको । बैंकका अध्यक्ष श्रीकृष्णन हरिहर शर्माले बैंकको शेयर मूल्य बढाउन नसकेकोमा ‘नैतिक जिम्मेवारी’ लिंदै राजीनामा दिएका छन् । मे २०२३ मा ५ वर्षको लागि बैंकको सिईओ नियुक्त भएका शर्माको कार्यकाल अझै करिब ३ वर्ष बाँकी थियो । तर, उनले अचानक राजीनामा दिएका छन् । उनीसंगै कार्यकारी निर्देशक शेखर रावले पनि राजीनामा दिएका छन् । वैंक संचालक समितिले उनीहरु दुवै जनाको राजीनामा स्वीकृत गरिसकेको छ ।
४० वर्षको अनुभव भएका शर्माको परिचय भारतको बैंकिङ क्षेत्रमा सफल र प्रतिष्ठित बैंकरको रुपमा स्थापित छ ।
उनले नियुक्तिको बेला बैंकको प्रति शेयर मूल्य २८० जति पुर्याउने प्रतिवद्धता जनाएको तर पछिल्लो दुई वर्षको अवधिमा त्यस्तो अवस्था नदेखेपछि राजिनामा दिएको बताइएको छ । आफूले जति प्रयास गर्दा पनि बैंकको शेयर मूल्य २०० को हाराहारीमै कायम रहेको र त्यसलाई उल्लेख्यरुपमा बढाउन सक्ने नदेखेको भन्दै उनले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
कतिपय संचारमाध्यमहरुले भने सिईओ शर्मा र कार्यकारी निर्देशक रावले प्रतिवद्धताअनुसार शेयर मूल्य बढाउन नसकेकोले मात्रै राजीनामा दिएको नभई त्यसको पछाडि अरु कारणहरु पनि रहेको दावी गरेका छन् । सिईओ शर्माले गरेको १ करोड ५३ लाखको खर्चमा लेखा परिक्षकले प्रश्न उठाएपछि संचालक समितिसंग उनको विवाद शुरु भएको कतिपय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । तर, सिईओ शर्माले राजीनामाको बारेमा जानकारी दिंदा त्यो विवादलाई उल्लेख नगरि शेयर मूल्य बढाउन नसकेको कुरामा मात्र जोड दिएको समाचारहरुमा उल्लेख गरिएको छ ।
स्मरणरहोस् एक सय एक वर्ष अगाडि अर्थान् सन् १९२४ मा स्थापना भएको कर्नाटका बैंकका ९४१ वटा शाखा छन् । २ लाख ३५ हजार शेयर होल्डर र १३ लाख ६० हजार ऋणीहरु रहेको बैंकका झण्डै ९ हजार कर्मचारी कार्यरत छन् ।