ठूला जलविद्युत आयोजनामा बाढीको त्रास, साढे २०० मेगावाट प्रणालीबाहिर, क्षतिको विवरण संकलन गर्दै प्राधिकरण

Jul 08, 2025 11:55 AM merolagani



हरिप्रसाद शर्मा

गत सोमबार राती परेको अविरल वर्षाका कारण आएको बाढीका कारण नेपालका ठूला जलविद्युत् आयोजना बढी प्रभावित बन्न पुगेका छन् । 

एकैदिनको वर्षाका कारण विभिन्न नदीहरुमा बाढी आउँदा जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, बाढीका कारण हालसम्म साढे २०० देखि ३०० मेगावाट बिजुली प्रणालीबाहिर रहेको छ । बाढीले बढी क्षति बनाएका जलविद्युत् आयोजनाको उत्पादन नै बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, हालसम्म बाढीले ६० मेगावाटको त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको बाँध बगाएको छ । त्रिशुली नदीमा आएको बाढीले उक्त जलविद्युत् आयोजनाको बाँध संरचनामा ठूलो क्षति पुर्याएको हो ।

त्यस्तै २४ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनामा पानीको सतह बढेकाले विद्युत् केन्द्र सट डाउन(बन्द) गरिएको छ । रसुवाखोलामा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको बाँध लगायतका संरचनामा ठूलो क्षति पुगेको प्राधिकरणको दाबी छ । त्यस्तै त्रिशुली ३ बी सबस्टेशनलाई समेत बाढीसहित आएको माटोले पुरेको छ । अन्य संरचनामा समेत क्षति पुगेको आयोजनाले जनाएको छ ।

यो सँगै देशका अन्य ठाउँका जलविद्युत् आयोजनालाई समेत बाढीले प्रत्यक्ष प्रभाव पारेको छ । बाढीका कारण कुन कुन जलविद्युत् आयोजनामा क्षति पुग्यो ? भौतिक र मानवीय क्षति कति भयो ? कुन कुन आयोजना प्रभावित बने ? पुनर्निमाण कसरी गर्ने ? लगायतका विषयबारेमा प्राधिकरणले अहिले छलफल गरिरहेछ।

बाढीका कारण हाइड्रोपावर क्षेत्रमा भएको क्षतिका बारेमा प्राधिकरणले छलफल गरेर यकिन तथ्यांक निकाल्ने प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

‘कुन कुन जलविद्युत् आयोजनालाई बाढीले क्षति गर्यो, त्यसको बारेमा आज प्राधिकरणमा छलफल हुँदैछ । कहाँ कति क्षति भयो त्यसपछि यकिन विवरण आउँला’, उनले मेरो लगानीलाई बताए । उनका अनुसार, बाढीका कारणा साढे २०० मेगावाट विद्युत प्रणाालीमा आउन सकेकाे छैन् ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।