यस पटकको बुल हाईड्रोकै नेतृत्वमा हुने सम्भावना धेरै देखिन्छ

Jul 10, 2025 02:54 PM MeroLagani



दोस्रो बजारमा २७ सयको वरपरको विन्दुमा रहेर कारोबार भईरहेको छ । यो समय लगानीकर्ताहरु मसान्तको प्रभाव र नेपाल राष्ट्र बैंकले ल्याउदै गरेको मौद्रिक नीतिले लिने व्यवस्थाहरु हेरेर मात्रै थप लगानीको रणनीतिमा रहेका छन्।

यस पटक नेपाल राष्ट्र बैंकले शेयर बजारका विषयलाई पनि महत्व दिनेमा लगानीकर्ताहरु आशावादी भएका छन् । विगतमा मौद्रिक नीति तथा अन्य निर्देशिका मार्फत गरिएको नीतिगत कठिनाईलाई खुकुलो बनाउने आशामा लगानीकर्ता छन् । त्यसैगरी, प्रणालीमा थुप्रिएको पूँजी परिचालन र बैंक तथा वित्तीय संस्थाको आम्दानी बढाउनको लागि पनि मौद्रिक नीतिले बैंकलाई दोस्रो बजारमा कारोबार गर्न सहज बनाउनु पर्ने लगानीकर्ता ललित (रमेश) ढुङ्गानाको तर्क छ । शेयर बजार र मौद्रिक नीतिको सेरोफरेरोमा रहेर लगानीकर्ता ढुङ्गानासँग सुधा देवकोटाले गरेको कुराकानीः

आर्थिक वर्ष सकिंदै गरेको मसान्त नजिक हुँदै गर्दाको बजारलाई कसरी हेर्न सकिन्छ ?

अहिलेको बजारको अवस्थालाई हेर्दा बजारमा ठूलो अंकको उतार चढाव भएर धेरै अन्तर रहने अवस्था देखिदैन । असार मसान्तको धेरथोर दवाव हुन्छ । तर यो पटकको मसान्तमा सूचकमा ठूलो अन्तर रहंदैन । अर्को कुरा के पनि रहेको छ भने साउन महिनादेखि बजार राम्रो अंकले बढ्ने सम्भावना छ । यो अवधिमा बजारमा फण्डामेन्टल हेरेर लगानी गर्ने, संस्थागत लगनीकर्ताहरु बजारमा प्रवेश गर्ने सम्भावना बढी देखिएको छ ।

यस्तो हुनुमा धेरै कुराहरुले सम्बन्ध राखेको हुन्छ । लामो समयसम्म बजार नबढेको, बैंकको ब्याजदर निरन्तर घटेर अत्यन्त न्यून विन्दुमा झरेको छ । यस्तो बेलामा शेयर खरिद गर्न पर्खेर बसेकाहरुलाई उपयुक्त समय हो । अहिले केही बीमा कम्पनीहरु बजारमा लगानी गरेको भएपनि वित्तीय सेक्टरका संस्थागत लगानीकर्ताहरु बजार अझै प्रवेश गरेका छैनन । साउन महिनाको पहिलो हप्ता त्यस्ता संस्थगत लगानी पनि बजारमा आउने रणनीतिमा रहेका छन । त्यसैले अबको बजार निरन्तर बढ्ने संघारमा छ ।

बजारमा कारोबार गरेको मेरो दुई दशक लामो अनुभवले अहिलेको बजारमा लगानी गर्नु अत्यन्त सहि समय हो । अर्को यो अवस्थामा लगानी गर्नेले एक दुई महिनाको अन्तरालमा कम्पनीले वितरण गर्ने प्रतिफलसहित पूँजीगत लाभ प्राप्त गर्न सक्ने सम्भावना प्रशस्तै बनेका छन् । मैले यसो भन्दै गर्दा हचुवाको भरमा लगानी गर्नु हुदैन । अध्ययन गरेर सुझवुझका साथमा लगानी गर्नेले पछुताउनु पर्दैन । कम्पनी हेरेर लगानी गर्दा दुईचार महिनामा राम्रो आम्दानी गर्ने अवस्था बनेको छ ।

 

साउन महिनादेखि बजार बढ्ने कुरामा तपाई कसरी ढुक्क हुनुहुन्छ ?

यो अवधिमा बजारमा बढ्नुमा सिजनको पनि सुरुवात भएको छ । अहिलेको बजारमा सिजनल कारोबारी बजारमा आउने भएकाले चहलपहल रहेको हुन्छ । सरकारले शेयर बजार बढ्न पर्छ भन्ने विषयलाई महत्व दिएको छ । अर्कोतर्फ बैंकको ब्याजदर घटेको छ । नेपालमा मात्रै नभएर अन्तराष्ट्रिय बजारहरुमा पनि ब्याजदर घट्दा शेयर बजार बढ्ने गरेको छ । तर हाम्रो नेपालमा पछिल्ला दुई वर्षदेखि निरन्तर रुपमा ब्याजदर घटेको छ । तर पनि बजार अपेक्षित बढ्न सकेको छैन। अब बजार बढ्का लागि अन्य कुराले पनि साथ दिएको छ । अब बढ्ने नै हो सस्तो दरमा कर्जा लिएर लगानी गर्ने योजनामा रहेकाहरुका लागि पनि अनुकुल वातावरण बनेको छ ।

पछिल्लो समय बजार बढ्नेमा बलियो आधारको रुपमा नेपाल राष्ट्र बैंकको गभर्नर प्रतिको अपेक्षा पनि रहेको छ । विगतदेखि नै बजारमा प्रभाव पारेका केही नीतिहरु सहज बनाएर बजारप्रति सकारात्मकता झल्काउनु भएको छ । उहाँलाइ अर्थतन्त्र बुझेर न्याय गर्ने सक्ने व्यक्तिको रुपमा लगानीकर्ताहरुले लिएका छन् । केन्द्रिय बैंकको मुख्य काम भनेको बजारमा तरलताको व्यवस्थापन गर्ने हो। आम नागरिकको शेयर बजारमा लाखौ रुपैयाँ लगानी छ । आम सर्वसाधारणको लगानीको सुरक्षा गर्नु सरकारको दायित्व हो । गभर्नरले पनि लगानीको सुरक्षा गर्नुपर्ने अभिव्यक्ति दिएको पाइन्छ । गभर्नरले मौद्रिक नीति मार्फत बजार अनुकुल नीति लिनेमा अपेक्षा बढेको छ ।

अबको केही दिनमै नेपाल राष्ट्र बैंकको मौद्रिक नीति ल्याउंदै छ । मौद्रिक नीतिले अहिलेको परिस्थितिलाई कस्ता नीति ल्याउन जरुरी छ ?

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि विभिन्न निकायबाट सुझाव रायहरु लिएको छ । गभर्नर आफैले विभिन्न समिति उप समितिहरु गठन गरेर अध्ययन भईरहेको छ । समिति तथा व्यक्ति, संघसस्था सबै पक्षका सुझावहरुलाई नै मध्यनजर गरेर मौद्रिक नीति आउनेमा विश्वास गर्न सकिन्छ । अहिले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन तथा आम नागरिकलाई न्याय गर्ने गरि नीति आउनु पर्छ । समग्रमा भन्दा शेयर बजारका लगानीकर्ता र व्यवसायीहरु सबैको मानोवल उठाउने खालको मौद्रिक नीति आउनेमा आशावादी छन ।

शेयर बजारका लागि निस्पक्ष भएर भन्दैगर्दा केही सुधारहरु गर्नुपर्ने कुराहरु रहेका छन । पहिलोमा शेयर धितोकर्जाको सिमा खारेज नै गर्नुपर्छ । यो कुनै हालतमा पनि व्यवहारिक छैन । कुनै व्यक्तिको सम्पत्तिको मुल्याङकन गरेर राखिने धितो कर्जामा सिमा तोकिनु जायज होईन । यो लगानीकर्ताको दृष्टिकोणबाट अत्यन्त अन्यायपूर्ण छ । यो खारेज नै हुन पर्छ ।

नेपालका बैंकहरु समस्या उन्मुख भएका छन । तरलता हुँदाहुदै पनि लगानी गर्न सकिरहेका छैनन् । बैंकमा पैसा थुप्रेको छ । अर्कोतर्फ गैर वित्तीय सम्पत्ति व्यवस्थापन भएको छैन । गएको पैसा उठ्न सकेको छैन । यो अवस्थाबाट उठाउनको लागि बैंक तथा वित्तीय संस्थालाई लगानीको लागि बाटो खुल्ला गर्नुपर्ने हुन्छ । कुल पुँजीको केहि प्रतिशत कारोबार गर्न सक्ने व्यवस्था गराउँदा बजार चलायमान हुनको साथै बैंकको आम्दानीमा वृद्धि हुने र थुप्रेको पैसा सदुपयोग हुनेछ । विगतदेखिनै गैर आवासिय नागरिकलाई बजारमा लगानी गर्न सहज गरिने भन्ने कुरा हरेक वर्षको वजेटमा स्थान पाएको हुन्छ । तर त्यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन । यसलाई केन्द्रिय बैंकले सहजीकरण गर्नुपर्छ । छिट्टै कार्यान्वयन भई लगानीको वातावरण बनाउन पर्छ ।

त्यसैगरी मार्जिन कर्जा ब्रोकर कम्पनी मार्फत प्राप्त गर्ने गरी राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने देखिन्छ । यस्तो भयो भने बजारमा आउने मार्जिन कर्जा व्यवस्थापन हुने छ र बजारमा नै लगानी हुने वातावरण सिर्जना हुने छ । यी कुराहरु मौद्रिक नीतिले छुटाउनै हुँदैन ।

दोस्रो बजारमा सधै लानीकर्ताको रोजाईमा परेको हाईड्रोपावर सेक्टरको कारोबार रकमको हिस्सा खुम्चिएको छ । यस्तो हुनुमा लगानी रणनीति परिवर्तन भएको हो वा यस सेक्टरमा सम्भावना नदेखिएकाले हो ?

विगतको बुलको प्रवृतिलाई हेर्दा सुरुमा जुन सेक्टर बढेको छ । सोही सेक्टरले बुलको नेतृत्व गरेको पाइन्छ । बिगतमा बैंक, बीमा जस्ता समूहलाई लिन सकिन्छ । अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा धेरै चुनौतिहरु भएकै कारण अपेक्षित वृद्धि हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा गरिएको लगानी नोक्सानीमा जाँदैन । तर दोस्रो बजारबाट लगानीकर्ताले चाहेको लाभ पाउने सम्भावना कम देखेका छन ।

यो बुलमा बीमा कम्पनीबाट राम्रो हुने आशा गर्न सकिने छ । पछिल्लो हप्ता बीमा कम्पनी चल्न सुरु गरेका छन् । तर हाईड्रोपावरले जस्तो लगानीकर्ताको आकषर्ण खिच्न सकेको छैन । हाईड्रोपावर बढ्नुमा बलियो तर्क छ । हाईड्रोमा अंधिकास लगानी ऋणबाट नै भएको हुन्छ । अहिलेको अवस्थामा व्याजदर घटेकाले खर्च घटेको छ । हाईड्रोपावर कम्पनीमा आम नागरिकहरुको पनि आवद्धता रहेको हुन्छ । हाईड्रोपावरमा आम लगानीकर्ताको पनि पहूँच पुगेको छ । सम्भावनाको दृष्टिकोणले हाईड्रोपावर कम्पनीमा राम्रो छ । कारोबार घट्बढ हुनु स्वभाविक हो । लगानीकर्ताले तर्क संगत रुपमा लगानी गरेका छन । यस पटकको बुल हाईड्रोकै नेतृत्वमा हुने सम्भावना धेरै देखिन्छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।