आफ्नो ५० प्रतिशत पैसाले उनी शतप्रतिशत जस्तो नियमित काम गर्छन्। तर गत आइतबार देखि भने उनी आफ्नो पैसाले मात्रै शेयर किन्ने र बिक्री गर्ने गरिरहेका छन्। ब्रोकरले आफ्नो पैसा बाहेकको लिमिट नराखिदिएको कारण उनले आफ्नो पैसाले मात्रै शेयर किनिरहेका हुन्। ब्रोकरले उधारो दिएको भए उनी पहिले जस्तै नै कारोबार गर्ने थिए।
अहिले श्रेष्ठ मात्रै होइन, नियमित कारोबार गर्ने खुद्रे लगानीकर्ताले आफ्नो पैसाले मात्रै शेयर किनिरहेका छन्। अहिले ब्रोकर कम्पनीले उधारो कारोबार ठप्पै पारेका छन्। नियमित कारोबार गर्ने खुद्रे लगानीकर्तालाई ब्रोकर कम्पनीले लिमिट बन्द गरिदिएका छन्। ग्राहकको क्रय शक्तिलाई हेरेर उनीहरुले लिमिट टाइट गरिरहेको बताएका छन्। खासगरि अहिले चालु आर्थिक बर्षको अन्तिम दिनहरु चलिरहेका छन्। सोहि कारण ब्रोकर कम्पनीले हिसाव मिलान गर्दा उधारो बन्द गरेको बताएका छन्। “अहिले क्लोजिङ नजिकिदै गरेकोले उधारो पुरै बन्द गरिएको छ। साउन लागेपछि फेरि पहिले जस्तै नियमित कारोबार हुन्छ। अहिले भने हिसाव मिलान गर्नु पर्ने भएकोले लिमिट पुरै टाइट गरिएको हो ” एक ब्रोकर कम्पनीका संचालकले मेरो लगानी सँग भने।
अहिले ब्रोकर कम्पनीले लिमिट टाइट गरिदिएको कारण बढ्दो बजारमा पनि उल्लेख्य कारोबार रकम बढ्न सकेको छैन। बिहिबार मात्रै शेयर कारोबार मापक सूचक २५.८९ अंकले बढ्यो। तर यति धेरै अंकको सुधार आउदा समेत कारोबार रकम भने उल्लेख्य बढ्न सकेन। बिहिबार ९ अर्ब ६८ करोडको मात्रै शेयर किन/बेच भयो। बुधबार सात अर्ब ४५ करोडको शेयर किनबेच भएको थियो। जसरी शेयर बजारमा सुधार देखिएको छ। त्यस अनुसार कारोबार रकम १० अर्ब भन्दा बढी हुनु पर्ने थियो। तर कारोबार रकम भने १० अर्ब नाघ्न सकेको छैन। आउने केहि दिन कारवबार रकम १० अर्ब नाघ्न मुस्किल हुने बताइएको छ। “ब्रोकरको लिमिटमा ट्रेडिङ गर्नेहरुको यतिबेला कारोबार ठप्प छ। त्यसले गर्दा पनि कारोबार रकम बढ्न नसकेको हो। आउने केहि दिन यस्तै होला। तर साउन पछि भने कारोबार रकम बढ्छ। किनकि नयाँ आर्थिक बर्ष लागेपछि नयाँ हिसाव सुरु हुन्छ। जसले गर्दा कारोबार रकम पनि बढ्ने अनुमान गर्न सकिन्छ,” ति ब्रोकरले भने।
बिहिबारसम्म शेयर किन/बेच गर्नेले असार मसान्तका पैसाको राफसाफ गर्न सक्छन्। आइतबारदेखि शेयर किन/बेच गर्नेको राफसाफ हुन साउन लाग्न सक्छ। हुन त आइतबारका दिन सम्म किन/बेच गर्नेको असार अन्तिम दिनसम्म राफसाफ हुन्छ। तर मध्यान्हमा मात्रै राफसाफ हुने भएकोले उक्त रकमले व्याज वा कर तिर्नको लागि पर्याप्त समय नहुन सक्छ। सोही कारण बिहिबार देखिनै हिसाव मिलान गर्न थालिएको बताइएको छ।