बैंकरदेखि व्यवसायी, महिलादेखि विपन्न वर्ग सबैलाई खुसी तुल्याउने मौद्रिक नीतिका बारेमा कसले के प्रतिक्रिया दिए

Jul 11, 2025 03:56 PM merolagani



सुवास निरौला

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति शुक्रवार सार्वजनिक गरे। उनले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंकरदेखि व्यवसायी, महिलादेखि विपन्न वर्ग सबैलाई खुसी तुल्याएको छ।

हुलाकी राजमार्ग तथा मध्य–पहाडी लोक मार्ग आसपासका क्षेत्रमा होटेल तथा रेस्टुरेन्ट र राजमार्ग,लोक मार्गको मुख्य बजार आसपासका उद्योगी व्यवसायीहरू शुक्रवार सार्वजनिक भएको मौद्रिक नीतिले उनीहरूलाई समेत समेटेपछि व्यवसायीहरू निक्कै उत्साही भएका छन्। शुक्रवार सार्वजनिक नीतिले उनीहरूलाई समेत समेटेको छ। उनीहरूको व्यवसायलाई पहिचान मात्रै गरेको छैन,नीति मार्फत विशेष व्यवस्था समेत गरिदिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण लोगो (सङ्केत) लिएका होटेल तथा रेस्टुरेन्ट र राजमार्ग-लोक मार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायहरूलाई प्रवर्द्धन गर्न उक्त क्षेत्रका उद्योग व्यवसायीहरूलाई प्रवाह हुने कर्जामा विभिन्न व्यवस्थाहरू गरिने भएको छ। “३ करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइनेछ। यस्तो कर्जामा आधार दरमा बढीमा २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी कर्जा दिनु पर्ने छ,” मौद्रिक नीतिमा उल्लेख छ। जसले गर्दा साना व्यवसायी उत्साही भएका हुन्।

यता साना तथा ठुला व्यवसायीहरूको छाता सङ्गठनले समेत यस पटकको मौद्रिक नीति सहजता पूर्वक ल्याइएको लचिलो मौद्रिक नीति भनेर प्रशंसा गरेका छन्। “अहिले अर्थतन्त्र शिथिल हुनुको मुख्य कारण भनेको घरजग्गा कारोबार शिथिल हुनुलाई मान्ने गरिएको थियो। त्यसमा अहिले निक्कै लचकता अपनाइएको छ। दुई करोडको सीमालाई बढाएर तीन करोड पुर्‍याइएको छ। लोन टु भ्यालु रेसियो पनि ५० बाट बढाए ८० पुर्‍याइएको छ। अर्को तर्फ विगतमा लिएको घरजग्गा ऋणलाई पुनर्संरचना गर्न दिनु पर्छ भनिएको थियो। त्यो व्यवस्था पनि गरिदिएको छ। शेयर बजारको व्यक्तिगत सीमा हटाउनु पर्छ भनेका थियौ। हट्न त हटेन। तर सीमा बढाएर २५ करोड पुर्‍याइएको छ। साना घरेलु लघु व्यवसायलाई कर्जा सहजीकरण गरिने भएको छ। सबैभन्दा राम्रो पक्ष भनेको ब्याजदर करिडर घटाइएको छ। जसले स्थिर ब्याजदर काम गर्न निक्कै ठुलो भूमिका खेल्छ। अहिलेको अवस्थामा भन्नु पर्दा यो लचक मौद्रिक नीति नै आएको निष्कर्ष हाम्रो छ," नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मेरो लगानीसँग भने।

शुक्रवार सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्र तर जाने कर्जाको वृद्धिदर १२ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने। उक्त कर्जा वृद्धिले सरकारले बजेट मार्फत राखेको ६ प्रतिशतको आर्थिक वृद्धि समेट्ने अनुमान केन्द्रीय बैंकले गरेको छ।

आज सार्वजनिक मौद्रिक नीति समय सान्दर्भिक आएको भनेर बैंक वित्तीय संस्थाको छाता सङ्गठनले समेत प्रशंसा गरेको छ। पूँजी कोषको दबाबमा रहेका बैंकहरुलाई केन्द्रीय बैंकले पूँजी वृद्धि गर्न दिने भएको छ। यस अघि कुनै पनि बैंक वित्तीय संस्थाले हकप्रद निष्कासनमा अनौपचारिक बन्देज लगाएकोमा यस पटक त्यसमा खुला गर्ने नीति अघि सारिएको छ। "बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने उद्देश्यले यस बैंकको स्वीकृतिमा आवश्यकताअनुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिनेछ,” मौद्रिक नीतिको बुँदा नम्बर ९४ मा उल्लेख छ। जुन व्यवस्थाले गर्दा पूँजी अभाव झेलिरहेका बैंक वित्तीय संस्थाले आवश्यकता अनुसार पूँजी वृद्धि योजना बनाउँदै लैजाने नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए। अर्को तर्फ घरजग्गा गरिएको व्यवस्थाले अर्थतन्त्र चलायमान हुने अपेक्षा कोइरालाले गरेका छन्।

यता सबैभन्दा खुसी घरजग्गा व्यवसायी देखिएका छन्। किनकि मौद्रिक नीतिले जुन व्यवस्था घरजग्गा व्यवसायीको लागि गर्ने भएको छ। त्यसले समग्र अर्थतन्त्र नै चलायमान गराउन सघाउने नेपाल जग्गा तथा आवास विकास महासंघक अध्यक्ष भेषराज लोहनीले बताए। “निजी आवासीय घर निर्माण खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा रु.२ करोडबाट बढाई रु.३ करोड कायम गरिनेछ । पहिलो घर निर्माण खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइनेछ” मौद्रिक नीतिमा उल्लेख छ।

अर्को तर्फ “नेपाल सरकारबाट स्वीकृतिप्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म-कम्पनीलाई प्रवाहित कर्जाका लागि पुनर्संरचना पुनर्तालिकीकरण गर्नका लागि आवश्यक सहजीकरण गरिनेछ,” थप मौद्रिक नीतिले बोलेको छ। जसले गर्दा घरजग्गा व्यवसायी उत्साही भएका हुन्। 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।