शेयर बजारका लागि 'सकारात्मक' मौद्रिक नीति, शेयर धितोकर्जाको सीमा बढेकोले पनि ठूलो राहत दिने लगानीकर्ताहरुकाे भनाइ

Jul 12, 2025 07:07 AM Merolagani



सुधा देवकोटा
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याएको छ । हालको सुस्त अर्थतन्त्रलाई गतिशील बनाउन सहजता पुग्नेगरी लचिलो मौद्रिक नीति अबलम्वन गरेको राष्ट्र बैंकले बताएको छ ।

मौद्रिक नीतिले गरेका व्यवस्थाहरुकै कारण बजार प्रभावित हुने गरेको छ । यसपटकको मौद्रिक नीति तुलनात्मक रुपमा सन्तुलित आएको छ ।

मौद्रिक नीतिले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोडको सिमा बढाएर २५ करोड पुर्याइएको छ । शेयर बजारलाई प्रत्यक्ष रुपमा प्रभावित बनाएको शेयर धितो कर्जाको सीमा हटाउनु पर्ने लगानीकर्ताको माग राख्दै आएका थिए । साथै, नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्ने व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ ।

त्यसैगरी, मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ । बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ भने नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशतमा झारेको छ । स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाइ २.७५ प्रतिशत बनाइएको छ । उक्त व्यवस्थाले बजारमा ब्याजदरमा सन्तुलनता आउने विश्वास गरिएको छ ।

त्यसैगरी, मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ । व्यक्तिगत आवासीय घर कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको छ । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो । यसले पनि घर जग्गा व्यवसाय चलायमान बनाउने विश्वास गरिएको हो ।

यसपट नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति लाचिलो र स्वागत योग्य रहेको सरोकारवालाहरुको भनाइ छ । साथै शेयर बजारका लगानीकर्ताले पनि मौद्रिक नीति समग्रमा राम्रो आएको प्रतिकृया दिएका छन ।

नेपाल राष्ट्र बैंकले हालको अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरेर मौद्रिक नीति ल्याएकाे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । शेयर बजारमा मौद्रिक नीतिले बनाएका कठिनाईहरु फुक्दैन गरेको छ । विगतमा भएको सुधारको निरन्तरता यस पटक पनि पाएको छ ।

केहि कठिनाईहरु सुधार भएर हाल कायम भएको शेयर धितोकर्जाको सीमा बढेकोले पनि ठूलो राहत दिएको छ । आगामी दिनमा यो व्यवस्था पनि पूर्णरुपमा खारेज हुने विश्वास ढकालको छ । मौद्रिक नीति शेयर बजारको लागि सकारात्मक छ । समग्र आर्थिक गतिविधिहरु चलायमान हुँदा बजार अझ बलियो हुनेछ । यो अवस्थामा लगानीकर्ता हौसियर भन्दा सुझबुझले लगानी गर्न ढाकालले सुझाव दिएका छन् ।

त्यसैगरी, शेयर बजारका लगानीकर्ताले राखेका मागहरु आंशिक रुपमा पुरा भएको शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेलले बताए । शेयर धितोकर्जाको सीमा हट्नु पर्ने र बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी सहज गर्नुपर्ने मागहरु रहेका थिए । मौद्रिक नीतिले शेयर धितोकर्जाको सीमा थोरै बढाए पनि बैंकलाई बजारमा लगानीको विषयमा मौन छ । यद्यपि मौद्रिक नीतिले बजारलाई बिगार गर्ने आएको छैन । भएको सुधारले पनि अहिलेको बजारलाई सकारात्मक रुपमा बढाउनको लागि पर्याप्त रहेको फुल्लेलको बुझाई छ ।

यता, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले समग्रमा मौद्रिक नीति बजार अनुकुल आएको बताएका छन् । शेयर धितो कर्जा बढाएको छ । घर जग्गा व्यवसाय चालयमान हुने व्यवस्था गरिएकाे छ । नीतिगत दारमा भएको व्यवस्थाले तरलता सन्तुलन बनाउने छ । साथै, लघुवित्त संस्थाको १५ प्रतिशतभन्दा बढी लाभांश सीमा पुनरावलोकन गर्ने भनिएको छ । बैंक तथा वित्तीय संस्थालाई आवश्यकता अनुसार पुँजी वृद्धि गर्ने सक्ने व्यवस्था गरिएको छ । अब शेयर बजारका अवरोधहरु हटेका छन् । अब बजारले निरन्तर सकारात्मक गति समाउने पाण्डेको बुझाई छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।