तोडिएला त अघिल्लो ‘अल टाइम हाइ’को रेकर्ड ?

Jul 22, 2025 06:18 AM Merolagani



बाबुकृष्ण महर्जन

मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजारका लगानीकर्तामा एकाएक आत्मविश्वास बढेको देखिएको छ। कारोबार रकममा पनि विस्तारै वृद्धि देखिन थालेको छ। बैंक तथा वित्तीय संस्था र हाइड्रोपावर समूहका कम्पनीको शेयर मूल्य बढ्दा त्यसले समग्र बजार मापक नेप्से परिसुचकलाई नै माथि धकेलिरहेको छ । 

यद्यपि आजभन्दा करिब ४ वर्ष अगाडि बनेको 'अल टाइम हाइ' अहिलेसम्म तोडिएको छैन। एक वर्ष अगाडि अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि त्यसको प्रभावस्वरुप नेप्से परिसुचकले ३ हजारको विन्दुसम्म परिक्षण गर्यो । कारोबार रकम पनि झन्डै ३० अर्बकै हाराहारीमा आयो तर त्यस लगत्तै विस्तारै फेरि नेप्से झरेर साढे २४ सयको विन्दुसम्म आएको थियो ।

यसबीचमा नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको रुपमा डा. विश्वनाथ पौडेल आएका छन् । पूर्व गभर्नर महाप्रसाद अधिकारीले मार्जिन कर्जामा लिएको ४–१२ करोडको मार्जिन कर्जा नीतिले गर्दा बजार ३२ सयबाट माथि जान नसकेको आरोप लगानीकर्ताहरुले लगाउने गरेका छन्। पूर्वगभर्नर अधिकारीले

आफ्नो कार्यकालमै सो नीतिलाई क्रमिक रुपमा संशोधन गर्दै आएका छन् । विगतमा संस्थागत लगानीकर्तालाई समेत सो सीमा रहेकोमा सो सीमा हटाएको थियो भने एक बैंकबाट ४ करोड मात्र ऋण लिन पाउने सीमा विस्तारै प्रणालीबाट १२ करोड हुँदै १५ करोडसम्म पुर्याएको थियो । अहिलेका गभर्नर पौडेलले ल्याएको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमालाई बढाएर २५ करोड पुर्याउनुको साथै बैंक तथा वित्तीय संंस्थालाई पुँजी कोष टाइट भएर व्यवसाय गर्न गार्हो भइरहेका बैंकलाई पुँजी वृद्धि गर्न सहजीकरण गर्ने तथा लघुवित्तलाई १५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था पुनरावलोन गर्ने लगायत बुँदाहरु सहित अझै निक्षेपको व्याज दर घट्ने गरी व्याज दर करिडोरको तल्लो सीमा ०.२५ प्रतिशतले घटाएका थिए । मौद्रिक नीति सार्वजनिक भएदेखि बजारले पुराना अवरोध क्षेत्र भत्काउँदै बढ्दो कारोबार रकम सहित अगाडि बढेको देखिएको छ ।

आइतबार नेप्से परिसूचकमा झिनो मात्रै वृद्धि देखिए पनि कारोबार रकममा भने उत्साहजनक वृद्धि देखिएको छ । आइतबार झन्डै सो २१ अर्ब रुपैयाँको कारोबार भएको थियो भने सोमबार कारोबार रकममा त्यस्तो उत्साहजनक वृद्धि देखिए पनि नेप्सेले २१ दशमलब ७७ अंकले बढेर २८ सय ९२ दशमलब ७२ विन्दुमा पुगेको छ भने कारोबार रकम भने आइतबारभन्दा केही कम अर्थात १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ जुन औसत भन्दा माथि नै हो ।

बढ्दै गरेको कारोबार रकम र किसिमले करेक्सन हुँदै सम्हालिए बजार बढेको कारण यसपटक पुरानो ‘अल टाइम हाइ’ तोडेर नयाँ हाइ बनाउने सम्भावना देखिएको ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष सन्तोष मैनालीले बताए । ‘बजार एकोहोरो नबढेर करेक्सन हुँदै बढेको छ । कारोबार रकम पनि विस्तारै बढ्दै गइरहेको छ । अहिले आइरहेको कारोबार रकमलाई राम्रै भोल्युम मान्नुपर्छ । पहिला हाइ बनाउँदा पनि छोटो समयको लागि मात्रै कारोबार रकम बढेको थियो । केही समय अगाडिसम्म ७–८ अर्बको दैनिक कारोबार लामो समय भएको थियो ।’–उनले भने । साउन लागेपछि कारोबार रकम ह्वात्तै बढेको छ । प्रणालीमा तरलता प्रशस्त छ । उनले ३२ सय ब्रेक गर्नलाई हाइ क्याप सेक्टरले नै लिड गर्नुपर्ने बताए । बैकिङ इन्स्योरेन्स सेक्टरको कम्पनी पनि बढेर नेप्से अगाडि बढेमा ३२ सय तोड्न सजिलो हुने उनको अनुमान छ ।

ऐतिहासिक तथ्यांकहरु केलाउँदा प्रायः साउन भदौकै समयमा नेप्सेले अल टाइम हाइ बनाएको रेकर्ड छ । चाहे त्यो ३२ सय होस या १८ सय ८० वा ११ सय ७५ सबै ‘अल टाइम हाइ’ यही सेरोफेरोमै बनेको देखिएको छ । पूर्व ब्रोकर एसोसिएसनका अध्यक्ष मैनालीले विभिन्न तत्वहरुले साथ दिँदा यही समयमा शेयर बजारले ‘अल टाइम हाइ’ बनाउने गरेको बताउँछन । प्रायः यो समयमा बैकिङ प्रणालीमा तरलता पर्याप्त हुने गरेको छ भने मौद्रिक नीति पनि यही बीचमा आउने गर्दछ र कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गर्ने समय पनि यही हो । विभिन्न कारणहरुको सम्मिश्रण स्वरुप प्रायः साउन भदौ महिनामा नेप्सेले टप लगाउने गरेको उनले आफ्नो अनु्भव सुनाए ।

नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले पनि भदौसम्म पुरानो ‘अल टाइम हाइ’ ब्रेक हुन सक्ने बताए । झन्डै विगत दुई दशकदेखि शेयर बजारमा लगानी गर्दै आएका अनुभवी लगानीकर्ता लम्सालले अहिले लगानीकर्ताको आत्मविश्वासको स्तर, बजारमा व्याप्त तरतलाको अवस्था, व्याज दर सबैलाई हेरेर पुरानो नेप्सेको हाइ ब्रेक हुने सम्भावना उच्च रहेको उनले बताए । उनले भने–‘साउनभरि त त्यस्तै हो, भदौ महिनामा नेप्सेको पुरानो रेकर्ड ब्रेक गर्छ भन्ने मेरो अनुमान हो ।’ बजार बढ्दै जाँदा बजारमा आपूर्ति पक्ष कमजोर हुँदै जान्छ र माग पक्ष बलियो हुँदै जान्छ । माग पक्ष बलियो हुँदै जाँदा थोरै थोरै मूल्य बढाउँदै शेयर किन्दा बजार माथि जाने हो । पुरानो रेकर्ड तोड्न यति नै तोकिएको कारोबार रकम आउनुपर्छ भन्ने नहुने उनले बताए ।

बजार पुँजीकरणमा नयाँ रेकर्ड

हाइ क्याप कम्पनीहरुको मूल्य बढ्दै जाँदा सोमबार नेप्सेको बजार पुँजीकरणले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेपाल रिइन्स्योरेन्स र हिमालय रिइन्स्योरेन्स जस्ता उच्च चुक्ता पुँजी भएका कम्पनीहरुको शेयर मूल्य बढ्दा बजार पुँजीकरणमा रेकर्ड बन्न गएको हो । पछिल्लो समय नयाँ कम्पनीहरु आउने क्रम पनि बढेको छ । भर्खरै आएका कम्पनीहरु झनै उच्च मूल्यमा कारोबार हुन थालेका छन जसले झन नेप्सेको बजार पुँजीकरण बढाएको छ। सोमबार नेप्सेको बजार पुँजीकरण ४८ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। यसअघि ४७ खर्ब ९९ करोड रुपैयाँ बजार पुँजीकरण थियो ।

 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।