एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ : महामन्त्री शर्मा

Jul 22, 2025 12:08 PM merolagani



नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका छन् ।

मंगलवार ४३ औँ विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो चेतावनी दिनुभएका हुन्। शर्माले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउन र दोषीलाई कारबाही गर्न सर्वसम्मत रुपमा छानबिन समिति बनाएको स्मरण गराए । सर्वसम्मत रुपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्त्याउने उनको चेतावनी थियो । शर्माले गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र फरक मतलाई सम्मान गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह पनि गरे । 

महामन्त्री शर्माले भने, ‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सम्मानीय सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । सँगै हामीले राज्यव्यवस्था समितिबाट सर्वसम्मत रुपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ । हामी सँगै बस्दैगर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन प्रश्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुईवटा दलको हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ । परिस्थितिको अत्यन्तै प्रतिकुलता र जटिलताको बिचबाट गठबन्धनको सरकार बनेको छ । यो सरकारको सफलता हाम्रा फरक मतहरूको बिचको साझा मतबाट बन्ने हो । एउटै दलभित्र पनि दुईवटा, तीनवटा दृष्टिकोणहरू हुन्छन् भने स्वाभाविक छ अहिले दुईवटा दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बिचबाट साझा मतको खोजी गनु पनि छ । त्यसैले यो बेलामा सम्माननीय प्रधानमन्त्रीलाई यहाँबाट अपील गर्नुप¥यो । अहिले हामीबीच उत्पन्न हुँदै गरेको समस्या, दुईवटा कुराको सन्दर्भमा हामी फरक मतमा छौँ । यो दुईटै कुराको हल, हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीज्युले गम्भीरता राख्नुपर्छ ।’


महामन्त्री शर्माले गठबन्धनमा उत्पन्न समस्याको हल खोज्ने जिम्मा प्रधानमन्त्री ओलीको रहेको पनि स्पष्ट पारे ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।