दीपेन्द्र अग्रवाल पक्राउ तर पक्राउ पुर्जी जारी भएका अग्रवालकी श्रीमती, दिदी र चार ब्रोकर अझै फरार

Jul 22, 2025 02:47 PM merolagani



सुवास निरौला

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले हिरासतमा लियो। अग्रवाललाई दिनेश कुमार शाहको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले गएको असार १ गते नै शाहको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी सोमबार पक्राउ परे। जबकि पक्राउ पुर्जी भने तीन जनाको नाममा जारी भएको थियो। दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवाल र दिदी ज्योति अग्रवालको नाममा संयुक्त पक्राउ पुर्जी जारी भएको थियो। सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले सोमबार काठमाण्डौको टोखाबाट पक्राउ गरेको हो। तर अहिलेसम्म दीपेन्द्र बाहेक अरूलाई प्रहरीले पक्राउ गरेको छैन।

तल फोटोमा हेर्नुहोस् पक्राउ पुर्जी

तर एक महिना अघि नै दीपेन्द्रकी श्रीमती मिता मुरारका अग्रवालले ब्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालिका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने विरुद्ध जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगी गरेको आरोप लगाउँदै निवेदन दिएकी थिइन्। उनले निवेदन दिए लगत्तै प्रहरी वृत्त सिंहदरबारले चारै जनालाई पक्राउ गर्न भन्दै पक्राउ पुर्जी जारी गरेको थियो। त्यो पनि एक महिना अघि गत असार ९ गते।

तल फोटोमा हेर्नुहोस् पक्राउ पुर्जी

प्रहरीले चारै जनाको नाममा पक्राउ पुर्जी जारी गरेको भए पनि अहिलेसम्म उनीहरू पक्राउ परेका छैनन्। सबै सञ्चालक फरार भनिएकाे छ। तर दिनेश प्रसाद शाहले दिएको निवेदनको आधारमा भने प्रहरीले दीपेन्द्रलाई भने तत्कालै पक्राउ गर्‍यो।  दीपेन्द्रकी श्रीमती दिएको निवेदनका आधारमा अझै उनीहरू पक्राउ नपर्नुले लफडा थप जटिल बन्दै गइरहेको छ। अझै प्रहरीले निवेदन दिनेलाई नै पक्राउ गर्नु पर्ने अवस्था सिर्जना भएको छ। किनकि दिनेशले दिएको उजुरीको आधारमा स्वयम् निवेदनकर्ता दीपेन्द्रकी श्रीमती मिता मुरारका अग्रवाललाई नै प्रहरीले पक्रेर अनुसन्धान गर्नु पर्ने देखिन्छ।

एकले अर्को विरुद्ध उजुरी गरेर दुवै तर्फबाट पक्राउ पुर्जी जारी भएको देखिन्छ। तर उजुरीको प्राथमिकताका आधारमा हेर्ने हो भने पहिले सिप्रवी सेक्युरिटिज प्रालिका सञ्चालकहरू पक्राउ हुनु पर्ने थियो। किनकि दीपेन्द्रकी श्रीमतीले पहिले उजुरी गरेकी थिइन्। दीपेन्द्रकी श्रीमतीले उजुरी गरेपछि दिनेशले उल्टै उनैलाई प्रतिवादी बनाएर उजुरी दिए। जस कारण दीपेन्द्र सहित श्रीमती र दिदीको नाममा समेत पक्राउ पुर्जी जारी भयो।

किन एक अर्काले उजुरी दिने अवस्था आयो।

त्यस विषयमा सोमबार नै दीपेन्द्र पक्षले दिएको दलिलको आधारमा मेरो लगानीले समाचार लेखि सकेको छ। उक्त समाचार “दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछब्रोकर र अग्रवाल बिच उधारो सेटलमेन्टको पुरानै लफडा” शीर्षकमा हेर्न सकिन्छ। हेर्नको लागि माथि बोल्ड अक्षरमा क्लिक गर्नुहोस्।

ब्रोकर कम्पनी वा अग्रवाल को दोषी भन्ने कुरा प्रहरीले आफ्नो अनुसन्धानबाट पत्ता लगाउने नै छ। तर त्यसअघि एकतर्फका व्यक्तिलाई मात्रै पक्राउ गरेर प्रहरीले निचोडमा पुग्न खोज्नु पक्कै पनि अनुसन्धान अपुरो ठहरिने छ। त्यसकारण उजुरी परेका सबैलाई पक्राउ गरेर थप अनुसन्धान प्रहरीले गर्नु पर्ने देखिन्छ। 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।