साइडवेज बजारमा त्यसकारण लामो समयसम्म आधारभूत रुपमा कमजोर भए पनि कम चुक्ता पुँजी भएका कम्पनीहरुको शेयर मूल्यले आकाश छोयो । पछिल्लो समय न्यून चुक्ता पुँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण कम हुँदै गएको छ।
केही समय अगाडिसम्म नेप्सेमा हाइड्रोपावर समूहका कम्पनीहरुको शेयर एकदमै धेरै कारोबार हुन्थ्यो । कुल कारोबारको ७५ प्रतिशतसम्म पनि हाइड्रोपावर समूहका कम्पनीहरुको कारोबार भएको तथ्यांक छ । अहिले बजार बढ्दो लयमा रहँदा हाइड्रोपावरको हिस्सा आधा भन्दा कम छ र विस्तारै बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारको हिस्सा बढ्दै जान थालेको छ । न्यून चुक्ता पुँजी भएका कारण बेला बेलामा विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्य आकासिए पनि उच्च चुक्ता पूँजीका कारण वाणिज्य बैंकको शेयर मूल्य बढ्न सकेको थिएन ।
मौद्रिक नीति सार्वजनिक भएसँगै बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको देखिएको छ । नीति सार्वजनिक भएको छोटो समयमै नेप्सेले एक वर्ष अगाडिको उचाई अर्थात ३ हजारको विन्दु नजिक पुगिसकेको छ। चौथो त्रैमासिक रिपोर्ट समेत चाँडै प्रकाशित हुने क्रममा रहेको हुँदा नेटवर्थ तथा अन्य आधारभूत पक्षलाई पनि लगानीकर्ताले हेर्न थालेका छन् । यहाँ वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रकाशित नेटवर्थका आधारमा बैंकको शेयर मूल्य कति माथि तल रहेको विश्लेषण गर्ने प्रयास गरिएको छ।
नेप्सेले नयाँ आइपीओ सूचीकरणको लागि पहिलो मूल्य रेञ्ज दिँदा नेटवर्थको तीन गुणासम्ममा पहिलो कारोबार गराउने गरेको छ । नेप्सेकै अनुसार पनि अहिले अधिकांश वाणिज्य बैंकको शेयर मूल्य न्यून रहेको मान्न सकिन्छ । नेप्सेमा सूचीकृत वाणिज्य बैंकमध्ये एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको मात्रै शेयर कम्पनीको नेटवर्थ भन्दा ३ गुणा माथि छ । बाँकी सबै वाणिज्य बैंकको शेयर मूल्य ३ गुणाभन्दा कम रहेको देखिएको छ। यहाँ बैंकको शेयर सप्लाईलाई कन्सिडर गरिएको छैन ।
वाणिज्य बैंकको शेयर मूल्यलाई त्यो बैंकको नेटवर्थसँग तुलना गर्दा अहिले सबै भन्दा न्यून मूल्यमा नेपाल बैंकको शेयर कारोबार भइरहेको छ । नेपाल बैंकले प्रकाशित गरेको विवरण अनुसार नेटवर्थ २ सय ६० रुपैयाँ ७४ पैसा हुँदा बैंकको शेयर ३ सय ७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बैंक शेयर मूल्य नेटवर्थ भन्दा १ दशमलब १४ गुणा मात्रै बढी छ ।
त्यसैगरी दोस्रो सस्तो शेयरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकको नेटवर्थ १ सय ९० रुपैयाँ ३९ पैसा रहँदा कम्पनीकाे बजार मूल्य भने २ सय ३८ रुपैयाँ ८० पैसा रहेको छ । बिहीबार बैंकको नेटवर्थको २ गुणाभन्दा कम मूल्यमा १३ वटा वाणिज्य बैंकको शेयर कारोबार भएको छ। सिद्धार्थ बैंक, प्राइम, कमर्सियल बैंक, माछापुच्छे् बैंक, कुमारी बैंक, एनएमबी बैंक, प्रभु बैंक, सिटिजनस बैंक इन्टरनेसनल, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंकको शेयर नेटवर्थको २ गुणाभन्दा कम मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै एनआईसी एसिया बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकको शेयर मूल्य भने सम्बन्धित बैंकको नेटवर्थ भन्दा २ देखि ३ गुणाको बीचमा कारोबार भइरहेको छ । सामान्यतया नेटवर्थ हेर्दा नेटवर्थको ५ गुणासम्मको शेयर मूल्यलाई सामान्य मूल्य मान्ने गरिन्छ । यो मान्यता अनुसार वाणिज्य बैंकको शेयर मूल्य अझै बढ्नै बाँकी रहेको आधारभुत विश्लेषण अनुसार शेयर किन्ने एक लगानीकर्ताले बताए तर नेपालको शेयर बजारमा भने कम्पनीको शेयर आपूर्ति पक्षलाई विशेष ध्यान दिने गरिन्छ । त्यही भएर कम चुक्ता पुँजी भएका कम्पनीको शेयर बजारमा बोलवाला छ तर विगत केही दिनदेखि भने बजारमा वाणिज्य बैंकको शेयर पनि १ अर्ब भन्दा बढी रुपैयाँका कारोबार हुन थालेको छ । यसले लगानीकर्ताहरु नेटवर्थ हेरेर पनि शेयर किन्न थालेको रुपमा बुझ्नुपर्ने ती लगानीकर्ताले बताए ।