३ हजार माथि टिक्न नसक्दा के भन्छन् विश्लेषकहरु ?

Jul 28, 2025 06:06 AM Merolagani



मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तर आठ दिन बढेकाे बजार नवाैं दिन अर्थात आइतबार नेप्से परिसूचक १८ दशमलव ४४ विन्दुले घटेर २९ सय ५८ दशमलब २० विन्दुमा बन्द भएको छ । आइतबार ‘इन्ट्रा डे’ मा भने बजार ३ हजार १३ दशमलब १७ विन्दुसम्म पुगेर घटेको हाे ।

आइतबार २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार रकमसहित ३ हजार विन्दुलाई परिक्षण गरेर बजार फर्किएको छ। गत वर्ष २९ अर्ब ९५ अर्बको कारोबार रकमसहित ३ हजार माथि एक दिन बसेको नेप्से परिसूचक त्यसपछिको कारोबार दिन भने निरन्तर कारोबार रकममा गिरावटसहित घटेको थियो । ३ हजारको ‘स्वीङ हाइ’ बनाएको भोलिपल्ट नेप्से परिसूचक २८ अर्ब ८३ करोडको कारोबार रकमसहित ३४ दशमलब ४८ विन्दु घटेर बन्द भएको थियो भने तेस्रो कारोबार दिन २ दशमलब ११ अंकले नेप्से परिसूचक बढे पनि कारोबार रकम भने खुम्चिएर १८ अर्ब ९० करोडमा सिमित भएको थियो ।

धेरै प्राविधिक विश्लेषकहरुले पछिल्लो बढाईमा कारोबार रकम नपुगेको बताइरहँदा आइतबार कारोबार रकममा भने उछाल आएको छ । २० अर्बभन्दा मुनिको कारोबार भइरहेकोमा आइतबार भने साढे २६ अर्ब रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा वृद्धि देखिएपनि ३ हजारको मनोवैज्ञानिक प्रतिरोध तोडेको आजको नेप्से परिसूचक माथि टिक्न नसक्दा ३ हजारभन्दा मुनि झर्न थालेपछि धेरै लगानीकर्ताले पछिल्लो केही दिनमा भएको नाफा बुक गरेको देखिएको छ । जसले गर्दा कारोबार रकममा समेत वृद्धि देखिएको छ यद्यपि यसपटक ३ हजारको विन्दु छुँदै गर्दा पनि अघिल्लो पटकको ३ हजार छुँदाजस्तो झन्डै ३० अर्बको कारोबार रकम भने पुगेन।

अघिल्लो पटक नेप्से बढ्नुमा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनु ठूलो कारण बनेको थियो । त्यसपछि लगत्तै आएको मौद्रिक नीतिमा संस्थागत लगानीकर्तालाई मार्जिन कर्जाको सीमा खारेज गर्नु तथा वाणिज्य बैंकले शेयर बजारमा गरेको लगानीमध्ये १ वर्ष व्यतित भइसकेको लगानीमध्ये २० प्रतिशतसम्म बेच्न पाउने प्रावधानपछि भने नेप्से परिसूचक झन द्रुत्त गतिमा बढेको थियो । झन्डै २१ सयबाट बढ्न थालेको नेप्से परिसूचक गत वर्ष ३ हजारको प्रतिरोध तोड्न नसकेपछि पुनः फर्किएको थियो । 

तर अहिले भने २६ सयदेखि मात्रै नेप्से परिसूचक बढन थालेको हो । अहिलेसम्म झन्डै ४ सय विन्दुले मात्रै नेप्से परिसूचक बढेको छ । गत वर्ष झन्डै १ महिना नेप्से परिसूचक लगातार बढेको थियो यसपटक भने झन्डै दुई हप्ता मात्रै पुगेको छ ।

तुलनात्मक रुपमा नेप्सेको बढाई अवधि कम हुनुका साथै नेप्से बढ्न लिएको समय पनि छोटो रहेकाले अझ नेप्से बढ्नै बाँकी रहेकोे विश्लेषण धेरै लगानीकर्ताले गरेका छन् । प्राविधिक विश्लेषक अशोककुमार शाहले ३ हजारको मनोवैज्ञानिक तहमा पुगेपछि लगानीकर्ताले प्रोफिट बुक गरेको फेसबुकमा उल्लेख गरेका छन् । ‘अबको कुनै पनि गिरावट खरिद गर्ने राम्रो अवसर हुन सक्छ ।’–उनले फेसबुकमा लेखेका छन् । शाह कोरियामा रहे पनि नेपाली लगानीकर्ता माझ परिचित प्राविधिक विश्लेषक हुन ।

त्यसैगरी अर्का बजार विश्लेषक योगेश दारुका आइतबार बजारमा केही प्रोफिट बुकिङ देखिए पनि बजार घट्न सक्ने आधार नदेखिएको बताउँछन् । उनले बजार ५० देखि १ सय अंक भन्दा बढी घट्न सक्ने ठाउँ नरहेको बताए । बजारमा स्मार्ट मनीको प्रवेश देखिएको हुँदा बजार माथि नै जाने सम्भावना बढी रहेको उनले बताए ।

लगानीकर्ता रोहन कार्की ३–४ दिन बढेपछि २०–२५ अंक घट्नु सामान्य रहेको बताउँदै गत वर्ष जस्तो ‘डीप करेक्सन’मा जाने सम्भावना नरहेको उनले बताए । 'गत वर्ष ३ हजार पुग्नु भनेको बियर ट्रेन्डको एउटा स्वीङ मात्र थियो भने अहिले बुल ट्रेन्डको र्यालीको करेक्सन हो । अहिले हामी बुलिस र्यालीमा नै छौ । पहिलाको हाइ अर्थात ३ हजार तोड्न केही समय लाग्न सक्छ । समग्र बजार नै नउठे पनि कुनै सेक्टर चलेर बस्ने अनुमान मेरो छ । त्यसपछि भने बजारले ३ हजार क्रस गर्नेमा म ढुक्क छु।’–उनले भने । उनले गत वर्ष ३ हजार पुग्दा जस्तो डीप करेक्सनको डरमा शेयर बेचेर बस्नुपर्ने अवस्था भने अहिले नरहेको ठोकुवा गरे ।




यी हुन् गत वर्ष नेप्से ३ हजार पुगेकाे बेलाभन्दा अहिले ३ हजार पुग्दै गर्दा उच्च मूल्यमा कारोबार भइरहेका कम्पनी

Jul 24, 2025 06:24 AM

मौद्रिक नीति आउन एक दिन अगाडिबाट बढ्न थालेको बजार अहिले झन्डै ३ हजारको हाराहारीमा छ । असार २६ गते २६८० को हाराहारीमा रहेको बजार अहिले साउन ६ गतेसम्म पुग्दा २९७८.८८ विन्दुमा पुगेको छ । गत वर्ष साउनको अन्तिम दिन पनि नेप्से परिसूचक ३ हजारको विन्दुमा अडिएको थियो त्यसपछि भने नेप्सेले ओरालो गति समातेको थियो ।