सबै कम्पनीको शेयरलाई संस्थापक र पब्लिक गरिँदै, सिडिएससीले माग्यो धितोपत्र बोर्डसँग अनुमति

Jul 30, 2025 06:13 AM Merolagani



केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) सबै कम्पनीको शेयर संस्थापक र पब्लिक छुट्टाछुट्टै गर्ने विषयमा अडिग देखिएको छ। लामो समयदेखि कम्पनी र सिडिएससीबीच हुँदै आएको टसल अन्ततः कानुनमा परिणत हुने भएको छ।

इमर्जिङ नेपाल कम्पनीको दुई वटा सिम्बोल छन्। उसको लकइन अवधि २०८१ फागुन ३ गते सकिएको हो। तर कम्पनीका संस्थापकले अहिलेसम्म शेयर बिक्री गर्न पाएका छैनन्। किनकि उनीहरूको संस्थापकको शेयर संस्थापक कै कोडबाट कारोबार गर्नु पर्ने हुन्छ भने पब्लिक शेयरको अर्कै सिम्बोल छ। दुवै सिम्बोल एउटै नगरिदिएको कारण इमर्जिङका संस्थापक शेयरधनीले लक इन सकिए पनि शेयर बिक्री नगरेका हुन्।

यस विषयमा कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएससी र नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। तर सिडिएससीले भने दुई आइजिनलाई एकै बनाउन मानेको छैन। उसले सबै कम्पनीको संस्थापक र पब्लिक दुवैथरी आइजिन हुनु पर्ने भन्ने अडान लिएको छ। इमर्जिङ नेपालबाट(इन्टरनेशनल सेक्युरिटीज आइडिन्टिफसिकेस नम्बर)को लफडा सुरु भएको थियो। त्यसपछि आएका ओम मेगाश्रीको संस्थापकको शेयर पनि अझै संस्थापकको डिम्याट खातामा गएको छैन। ओम मेगाश्री यता जति पनि कम्पनीका शेयर सूचीकृत भएका छन्। कसैको पनि संस्थापक शेयर डिम्याट खातामा पठाइएको छैन। ती सबै सूचीकृत कम्पनीको आइजिन नम्बर दुई वटा नै दिनु पर्छ भन्ने मान्यता सिडिएससीले राख्दै आएको छ।

तर त्यस विषयमा बजारमा चर्को विरोध भइरहेको छ। चर्को विरोधकाबीच नेपाल धितोपत्र बोर्डले समेत सिडिएससीलाई निकास दिन भन्दै निर्देशन दिएको छ। गत साता मात्रै नेपाल धितोपत्र बोर्डले कानुन बनाउन धेरै समय लाग्ने भएकोले एक साता भित्र समस्या समाधान गर्न भन्दै निर्देशन दियो। जुन निर्देशन पाउने बित्तिकै सिडिएससीले नयाँ निर्देशिका बनाएर स्वीकृतिको लागि धितोपत्र बोर्ड पठाएको छ। सिडिएससीले आइतबार मात्रै आफ्नो सञ्चालक समितिबाट ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका–२०८२’ पास गर्दै स्वीकृतिको लागि धितोपत्र बोर्ड पठाइएको बताइएको छ। “धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका–२०८२ स्वीकृतिको लागि हामीले धितोपत्र बोर्ड पठाएका छौ,” सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले मेरो लगानीसँग भने।

उक्त निर्देशिकामा कुनै पनि नयाँ आउने कम्पनीको छुट्टाछुट्टै आइजिन नम्बर दिने विषय उल्लेख छ। यदि सिडिएससीले पठाएको निर्देशिका नेपाल धितोपत्र बोर्डले जस्ताको त्यस्तै पास गरे आउने दिनमा सबै कम्पनीको संस्थापक शेयर र पब्लिक शेयर दुई थरी सिम्बोलबाट कारोबार हुने छन्।

अहिले जस्तो लक इन अवधि सकिएपछि सबै कम्पनीको शेयर साधारण हुने गरेका छन्। अब त्यस्तो हुने छैन। संस्थापक हुन चाहनेले संस्थापक नै शेयर किन्नु पर्ने छ भने पब्लिक शेयर पब्लिक कै रुपमा कारोबार हुने छन्।

कस्तो हुन्छ संस्थापक शेयर र पब्लिक शेयर कारोबार ?

प्रारम्भिक निष्कासनमा आएका कम्पनीका संस्थापक शेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने व्यवस्था छ। त्यस्तै,कर्मचारी र स्थानीयका लागि आरक्षित शेयर पनि तीन वर्षसम्म बिक्री गर्न मिल्दैन। आरक्षणमा दिइएका सामूहिक लगानी कोषहरूले भने ६ महिनासम्म बिक्री गर्न मिल्दैन। निश्चित समूहका शेयर प्रारम्भिक निष्कासन भएको तीन वर्षदेखि ६ महिनासम्म बिक्री गर्न नपाउने नियम छ।

के हो आइजिन र सिम्बोल ?

कुनै पनि कम्पनीले प्रारम्भिक सेयर निष्कासन गरेपछि दोस्रो बजारमा कारोबार गर्न योग्य बनाउनको लागि सिडिएससी र नेप्सेमा सम्पूर्ण शेयर सूचीकरण गर्नु पर्छ। सूचीकरण गर्दा बैंक वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीको हकमा सिडिएससीले दुई थरी आइजिन नम्बर दिन्छ। आइजिन नम्बर भनेको (International Securities Identification Number (ISIN)हो। यो युनिक हुन्छ र विश्वका कुनै पनि स्टक एक्सचेन्जमा दर्ता भएका कम्पनीसँग यो नम्बर मेल खाँदैन। नेपालका कम्पनीको ISIN नम्बर 'NP' बाट सुरु हुन्छ। उदाहरणका लागि, ओम मेगाश्रीको शेयरको ISIN नम्बर 'NPE478A00005' हो भने पिओर इनर्जीको ISIN नम्बर 'NPE480A00001' हो। उनीहरूलाई यही नम्बरको आधारमा कारोबार गर्नको लागि नेपाल स्टक एक्सचेन्जले सिम्बोल उपलब्ध गराएको छ। तर एउटै कम्पनीको आइजिन नम्बर दुई पाए उनीहरूलाई नेपाल स्टक एक्सचेन्जले पनि कारोबारको लागि दुई वटा सिम्बोल दिन्छ। जस्तै बैंक वित्तीय संस्थाको शेयरलाई दुई आइजिन दिइएको हुन्छ। जसले गर्दा नेप्सेले साधारण शेयरको एक सिम्बोल र संस्थापकलाई पछाडि पी थपेर सिम्बोल दिने गरेको छ। आइजिन नम्बर सिडिएससीले उपलब्ध गराउँछ भने कारोबार सिम्बोल नेप्सेले गराउने गर्छ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।