असार २३ गते आएको बाढी पहिरोले रसुवागढी नाका आसपासको भन्सार यार्ड, जाँचपास भएका र हुन बाँकी सवारी साधन तथा कन्टेनरहरू बगाएको थियो। घटनामा ११ जनाको मृत्यु भएको थियो भने १९ जना अझै बेपत्ता छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म ११ वटा बीमा कम्पनीका बिमितहरूले ६८ वटा आवेदनबाट ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्।
दाबी रकममध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा लेखअन्तर्गत परेको छ । यस शीर्षकमा ६ वटा दाबीबाट ५८ करोड १ लाख रुपैयाँ बराबरको क्षतिको दाबी गरिएको छ। त्यस्तै सामुद्रिक बीमामा ७ वटा दाबीबाट १६ करोड २३ लाख १० हजार रुपैयाँ क्षतिको बीमा दाबी गरिएको छ ।
त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ३ वटा आवेदनबाट ५ करोड ५० लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) अन्तर्गत) ३८ वटा आवेदनबाट २ करोड ५९ लाख ५० हजार रुपैयाँ र मोटर बीमा (निजी) अन्तर्गत १४ वटा बीमा दाबीबाट २ करोड १४ लाख ५० हजार रुपैयाँ बीमा दाबी गरिएको छ ।
प्राधिकरणका अनुसार घटनाबाट थप दाबीहरू आउन सक्ने सम्भावना रहेको छ । बीमा कम्पनीहरूलाई सत्य तथ्य छानबिन गरी यथाशीघ्र दाबी हस्तारण गर्न निर्देशन दिइएको छ।

सबै भन्दा धेरै रकमको दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ भने सबैभन्दा धेरै आवेदन भने शिखर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा परेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा २ वटा आवेदकले ५५ करोड रुपैयाँको बीमा दाबी गरेका छन् । शिखर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीमा १२ वटा आवेदकले आफ्नो दाबी प्रस्तुत गरेका छन् । शिखर इन्स्योरेन्समा १२ वटा आवेदकबाट १६ करोड ८५ लाख १० हजार रुपैयाँको क्षति दाबी गरिएको छ भने नेपाल इन्स्योरेन्समा १२ वटै आवेदनबाट १ करोड २८ लाख ५० हजार रुपैयाँको बीमा दाबी गरिएको छ ।
त्यस्तै नेको इन्स्योरेन्समा ३ वटा आवेदनबाट ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ वटा आवेदनबाट २ करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा आवेदनबाट ९१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इनस्योरेन्समा ९ वटा आवेदनबाट ७५ लाख ५० हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ६ वटा आवेदनबाट ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा आवेदनबाट ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा ७ वटा आवेदनबाट ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटा आवेदनबाट २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
रसुवागढी बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावर क्षतिग्रस्त बनेका थिए ।
बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाटका हुन् । सामान्य मर्मतपछि अन्य आयोजना पुनः सञ्चालनमा आए पनि अहिलेसम्म रसुवा जलविद्युत आयोजना भने अझै मर्मतकै चरणमा छ । बाढीका कारण जलविद्युत आयोजना क्षति पुग्दा नेप्सेमा सूचीकृत क्षतिग्रस्त हाइड्रोपावर कम्पनीको शेयर मूल्य समेत प्रभावित भएको छ । रसुवागढीमा बाढी आएर क्षतिग्रत भएपछि गिरावट भएको रसुवागढीको शेयर मूल्य अझै लयमा फर्किन सकेको छैन ।