सरकारी स्वामित्वको दुई बाहेक सबै बीमा कम्पनीले गरे लाभांश घोषणा, कसको लाभांश कति ?

Aug 17, 2025 01:05 PM MeroLagani



नेप्सेमा सूचीकृत १२ जीवन बीमा, १२ निर्जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनीमध्ये सरकारी स्वामित्वको दुई बाहेक सबै बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । जीवन बीमातर्फ सबै बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् भने निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनी र पुनर्बीमा कम्पनीतर्फ नेपाल रिइन्स्योरेन्स कम्पनीले मात्रै लाभांश घोषणा गर्न बाँकी छ । दुवै सरकारी स्वामित्वका कम्पनी हुन ।

राष्ट्रिय बीमा कम्पनीको आव २०७४/७५ पछिको साधारण सभा हुन सकेको छैन । प्रतिस्पर्धी हिमालयन रि इन्स्योरेन्सले समयमै साधारण सभा सकाइसक्दा नेपाल रि इन्स्योरेन्सले भने अहिलेसम्म गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण समेत प्रकाशित गर्न सकेको छैन जबकि अहिले चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने समय भइसकेको छ । कम्पनीले २०८१ जेठ १७ गते आव २०७९/८० को साधारण सभा सम्पन्न गरेको थियो ।

नेप्सेमा सूचीकृत १२ जीवन बीमामध्ये ११ वटाले शेयरधनीलाईलाई लाभांश बाँडेको छ भने एउटा जीवन बीमा कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । १२ निर्जीवन बीमामध्ये ११ वटाले तथा २ वटा पुनर्बीमा मध्ये एउटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

हालै सञ्चालनमा आएको ३ वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले भने गत वर्षको नाफाबाट लाभांश वितरण गर्न सक्ने अवस्था छैन । ७ वटा लघु बीमा कम्पनीमध्ये पनि अहिले ३ वटा कम्पनीले मात्रै आइपीओ जारी गरेर दोस्रो बजारमा सूचीकृत भएको अवस्था छ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनामा साधारण सभा गरिसक्नु पर्ने भएपनि एक्च्युरी भ्यालुएसनलगायतका कामहरु समयमा नसकिने हुँदा प्रायः बीमा कम्पनीहरुले ढिला नै साधारण सभा गर्ने गर्दछन् । अहिले आव २०८१/८२ सकेर म्युचुएल फन्डहरुले धमाधम लाभांश घोषणा गरिसकेको अवस्था छ भने आव २०८१/८२ को नाफाबाट सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश समेत बाँडिसकेको अवस्थामा कतिपय बीमा कम्पनीहरु भने अघिल्लो वर्षको साधारण सभा आह्वान र लाभांश घोषणा गर्न समेत सकेका छैनन । कम्पनी ऐनको समय सीमा भित्र यस वर्ष एउटा मात्रै बीमा कम्पनी सुर्यज्योति लाइफ इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरेको थियो ।

आर्थिक वर्ष सकेको ११ महिना बितिसक्दा नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुमध्ये अहिलेसम्म ११ जीवन बीमा र १० निर्जीवन बीमा तथा एउटा पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्।

निर्जीवन बीमा कम्पनीहरुमध्ये अहिलेसम्म सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सिद्धार्थ प्रिमियम पछि प्रभु इन्स्याेरेन्सले १८ दशमलब ९५ प्रतिशत लाभांश घाेषणा गरेका छन्। १८ प्रतिशत बाेनस र बाँकी नगद गरी कुल १८ दशमलब ९५ प्रतिशत लाभा‌ंश घाेषणा गरेकाे हाे। नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । अन्य निर्जीवन बीमा कम्पनीको लाभांश दर १० प्रतिशत वा सो भन्दा मुनि नै रहेको छ ।

गत वर्षको नाफाबाट जीवन बीमा कम्पनीहरु मध्ये ४ वटा जीवन बीमा कम्पनीले २० प्रतिशतको हाराहारीमा लाभांश बाँडेका छन् । नेपाल लाइफ, सूर्य ज्योति, आइएमई लाइफ र सिटिजन्स लाइफले २० प्रतिशत वा सो भन्दा माथि लाभांश घोषणा गरेका छन् । नेसनल लाइफले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरेर १५ प्रतिशत लाभांश दिएको छ । रिलायवल नेपाल लाइफले १२ दशमलब ६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले साढे १० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, हिमालयन लाइफ र एसियन लाइफ इन्स्योरेन्सको लाभांश ५ देखि १० प्रतिशतको हाराहारीमा देखिएको छ । १२ वटा जीवन बीमा कम्पनीमध्ये सन नेपाल लाइफ इन्स्योरेन्सले मात्रै लगानीकर्ताको हात खाली बनाएको छ ।

 लाभांश घोषणा गरेका २४ बीमा कम्पनीमध्ये १६ कम्पनीले मात्रै बोनस शेयर दिएका छन् भने बाँकी कम्पनीहरुले नगद लाभांशलाई नै विशेष जोड दिएका छन् । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुगिसकेका नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्ससँगै सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सले बोनस शेयरलाई प्राथमिकतामा राखेका छन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमालाई ५ अर्ब, निर्जीवन बीमालाई साढे २ अर्ब र पुनर्विमा कम्पनीलाई २० अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिए अनुसार पुँजी नपुगेका बीमा कम्पनीहरुले बोनस शेयरलाई प्राथमिकतामा राखेको देखिन्छ । पुँजी पुगिसकेका बीमा कम्पनीहरुले भने नगद लाभांशलाई नै जोड दिएका छन् । पुँजी पुगिसके पनि जोखिममा आधारित पुँजी पुर्याउनुपर्ने भएकाले केही कम्पनीहरुले जोखिमको आधारमा पुँजी वृद्धि गरेका छन् ।

नेपाल लाइफ, हिमालयन लाइफ, शिखर इन्स्योरेन्सको चुक्ता पुँजी पुगिसकेको भए पनि बीमा प्राधिकरणको जोखिममा आधारित पुँजी वृद्धि गर्ने योजना अनुसार पुँजी वृद्धि गरेका हुन । सूर्यज्योति लाइफ, आईएमइ लाइफ, हिमालयन लाइफ, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स जस्ता कम्पनीले भने गत वर्षको नाफाबाट नगद लाभांश मात्रै घोषणा गरेका छन् । यी कम्पनीहरुले प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याइसकेका छन् ।

जीवन बीमा तर्फ सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी २८ दशमलब ४ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रिमियममा आइपीओ जारी गरेको सिटिजनले प्रिमियमबाट संकलन भएको रकमसहित अन्य नाफालाई पनि बोनस शेयर जारी गरेर पुँजी पुर्याउन खोजेको हो । 

आईएमई लाइफ र नेपाल लाइफले २१.०५ प्रतिशत नै लाभांश घोषणा गरेका छन् तर नेपाल लाइफले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश गरी टुक्राएर लाभांश घोषणा गरेको छ भने आईएमई लाइफले भने एकमुष्ट २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । मर्जरपछि कुनै लाभांश नबाँडेको हिमालयन लाइफले गत वर्ष १४ प्रतिशत बोनस शेयर दिएकोले यसपटक ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्राइम, गुराँस र युनिक लाइफ गरी ३ जीवन कम्पनी मर्ज भएर हिमालयन लाइफ कम्पनी बनेको थियो । सबैभन्दा चाँडो साधारण सभा गरेको सूर्यज्योति लाइफले पनि यसपटक २० प्रतिशत नगद लाभांश मात्रै बाँडेको छ । सानिमा रिलायन्स लाइफले भने चुक्ता पुँजी पुर्याउनुपर्ने हदसम्म मात्रै अर्थात १.२४ प्रतिशत मात्रै बोनस शेयर घोषणा गरेको छ । यता प्रभु महालक्ष्मी लाइफले ८ प्रतिशत बोनस शेयर र रिलायवल नेपाल लाइफले १२ प्रतिशत बोनस शेयर तथा त्यसमा लाग्ने कर प्रयोजनको लागि मात्रै नगद लाभांश घोषणा गरेको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश घोषणा गरेको छ भने एसियन लाइफ इन्स्योरेन्सले ५ दशमलब १ प्रतिशत बोनस शेयर र शून्य दशमलब २७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । नियामकले तोकेको पुँजी वृद्धि प्रयोजनको लागि एसियन लाइफले ४२ प्रतिशत हकप्रद शेयर निष्काशन अनुमति पाएको छ भने यही महिनाबाट सर्वसाधारणमा हकप्रद शेयरको लागि आवेदन दिन सूचना जारी गरेको छ ।

निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करको लागि शून्य दशमलब ५२६ प्रतिशत नगद लाभांश गरी १०.५२६ प्रतिशत लाभांश दिएको छ । त्यसैगरी सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश दिएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३ प्रतिशत नगद लाभांश दिएकाे छ । सानिमा जीआईसीले साढे ७ प्रतिशत बोनस शेयर र शून्य दशमलब ३९४७ प्रतिशत नगद र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत नगद लाभांश दिएकाे छ ।

त्यस्तै नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश बापत् शून्य दशमलब ७९ प्रतिशत नगद दिएकाे छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिएकाे छ । नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस दिएकाे छ। 

सानिमा जीआईसी इन्स्योरेन्सले भने प्राधिकरणले तोकेको चुक्ता पुँजी नपुगेका कारण साढे ७ प्रतिशत बोनस शेयर र सो शेयरमा लाग्ने करबापत् शून्य दशमलब ३९४७ प्रतिशत नगद लाभांश दिएकाे छ ।

६२ प्रतिशत हकप्रद शेयर निष्काशन गरेर सुचीकत गरेको एनएलजी इन्स्योरेन्सले लगानीकर्तालाई साढे २ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि मात्रै नगद लाभांशस्वरुप शून्य दशमलब १३२ प्रतिशत नगद दिएकाेछ । यता युनाइटेड अजोड इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने र स्वरुप शून्य दशमलब ५३ प्रतिशत नगद दिएकाे छ ।

त्यस्तै प्रभु इन्स्योरेन्सले यसपटक १८ प्रतिशत बोनस शेयर र शुन्य दशमलब ९५ प्रतिशत नगद लाभांश गरी १८ दशमलब ९५ प्रतिशत लाभांश बाँडेको छ ।

दुई वटा पुनर्बीमा कम्पनीमध्ये निजी क्षेत्रबाट स्थापना भएको हिमालयन रिइन्स्योरेन्सले साढे ४ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करस्वरुप शून्य दशमलब २४ प्रतिशत नगद लाभांश दिएकाे छ । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीले कहिले लाभांश घोषणा गर्ने र कहिले साधारण सभा गर्ने अझै अत्तोपत्तो छैन । दुवैले एउटै प्रकृतिको व्यवसाय गर्ने भए पनि हिमालयन रिइन्स्योरेन्सले समयमै वित्तीय विवरण सार्वजनिक गर्ने गर्छ भने नेपाल पुनर्बीमा कम्पनीले भने समय व्यत्तित भएको ६ महिना पछि मात्रै वित्तीय विवरण सार्वजनिक गर्ने गरेको छ।




बिक्री आम्दानी बढेपछि हिमालयन डिष्टिलरीको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Aug 14, 2025 07:08 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।