तर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनलाई उपकुलपति बनाइएन भनेर उनले जागिर मात्र हाेइन देश नै छाडे भन्ने समाचार आइरहेको छ । उनले अमेरिका पुगेर गरेकाे पाेष्टले त्यही भन्छ ।
यो समाचार आएपछि दुईवटा कुरासँगै आएका छन् । पहिलो कुरा डा. रामेश सामाजिक सन्जाल टुइटर अहिलेको एक्समा सबैभन्दा धेरै फलोअर भएका मध्येमा पर्छन । उनका पोष्ट बिसंगतिहरुमाथि तिखाे प्रहार गर्ने हुन्छन् । उनले सर्वसाधारणबाट धेरै ताली पाएका छन । त्यस्तै गाली पनि धेरै पाएका छन् । उनका पोस्टहरुमा बिशेषगरी सिस्टम भित्रका पुराना नेताहरु, नयाँ शक्ति भन्ने दलका नेताहरु र राजावादीहरु तीव्र निसानामा पर्थे । साहित्यिक चेतपनि भएका उनका पोस्टहरुमा तर्क र बौद्धिकता दुबै हुन्थ्यो । उनले आफूलाई क्षुद्र भाषा लेखेर गाली गरेपछि उनलाई व्लक गरेको बताउने रवीद्र मिश्रले पनि उनलाई बौद्धिक नै मान्दारहेछन् ।
चिकित्सक भएर इन्जिनियरिङको स्वअध्ययन गरेका रामेशले प्रधानमन्त्री केपी ओलीको चुच्चे रेलको सपनाकाे हुर्मत लिएका थिए । त्यसैबाट उनी चर्चित पनि भएका थिए । ओलीका भक्तहरुले उनलाई गुगल डाक्टर भन्न थालेको त्यही बेलादेखि हो । गुगल डाक्टर उनको ब्राण्ड जस्तै बन्यो पछि गएर । साहित्यका किताव लेख्ने, हिमाल चढने सोख भएका, टुइटरमा लेखेर चर्चा कमाउने, डाक्टर भएर इन्जिनियरिङमा रमाउने मुटुका यी कुशल सर्जनले प्राइभेट क्लिनिक भने कहिले चलाएनन् । उनको यो गतिविधिबाट उनी लालसाबाट टाढै छन् भन्ने देखिन्छ ।

तर यस्ता स्वभावका डा.रामेश सरकारी नियुक्तिका लागि किन यति धेरै पछि लागे । बुझ्न नसकेको कुरा यही हो । बिकृति बिरुद्ध तिखा लेखाइमा सन्तुष्ट देखिएका उनी यसमै रम्न सक्नु पथ्र्यो । बिकृति विरुद्ध अवकासपछि पनि जेहाद छेडिरहनु पथ्र्यो । उनकाे त्यसमै इज्जत थियाे । जब यो गन्जागोल स्थितिमा राजनितिक नियुक्तिमा उनले आशक्ति देखाए । पहिलो समस्या उनीभित्रै देखियो ।
दोश्रो,काँग्रेसमा युवा नेता त्रय गगन थापा, बिश्वप्रकाश शर्मा र प्रदीप पौडेलसँग उनको एकदमै घनीभूत सम्वन्ध थियो र छ । यी तिनै नेतालाई उनी तिमी भन्छन् । गगन थापा पहिलो पटक काँग्रेस केन्द्रिय सदस्य बनेदेखि नै उनी सल्लाहकार जस्ताे भूमिकामा छन् भने शर्मा र उनको गृह जिल्ला झापा भएकाले यसै नजिक भइहाले । बर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडलसँग पुरानाे चिनजान भएका यी डाक्टर गएको निर्वाचनमा प्रदीपको क्षेत्रमा राम्ररी नै खटेका थिए भने स्वास्थ्य मन्त्री भएपछि झन नजिक भएका थिए ।
दुई जना महामन्त्री र प्रदीप नै स्वास्थ्य मन्त्री भएपछि एक ठाँउको उपकुलपति किन नमिल्ला भन्ने आत्मविश्वास यिनमा उव्जिएको हुनसक्छ । यस्तो आत्मविश्वास उनीभित्र आउनु अस्वभाविक पनि होइन । अर्कोतिर, काग्रेसका तीन भाइ नेताले हजुरको कुनै एक बिश्वबिद्यालयमा कन्फर्म भनेर आश्वस्त दिएका पनि हुन सक्छन् । तर पछि गएर सरी दाइ भनेको पनि हुन सक्छन् । यसबाट उनी बिरक्तिए कि भन्ने पनि छ ।
काँग्रेस र एमालेको गठवन्धनमा बनेको भनिए पनि यो सरकार देउवा र ओलीबीच आपसी अन्डरस्टान्डिङमा चलेको छ । यो कुरा डा. रामेश र तीन भाइ नेताहरुमा हेक्का रहेपनि बेवास्ता गरेका छन् । अहिलेको सरकारका मालदार नियुक्तिहरुमा बुढानिलकण्ठ र बालुवाटारको हिस्सादारी देखिन्छ । बिभागीय मन्त्रीहरु नियुक्तिको विषयमा निरीह देखिन्छन् । देउवा दम्पति र ओलीलाई टुइटरमा बाँकी नराखेका रामेशको नाममा ओली, देउवा दम्पति सहमत हुन्छन् भन्ने कुरा कतैबाट मेल खाँदैन थियो । र, अन्त्यमा भयो पनि त्यस्तै ।
यस्तो अवस्थामा रामेशलाई नै उपकुलपतिमा ल्याउनु थियो भने बिभागीय मन्त्री प्रदीप पौडेलले अडान लिन सक्नु पथ्र्यो । अडान यस्तो हुनु पथ्र्यो कि राजीनामाकाे हदसम्म पुग्नु पथ्र्यो । तर त्यहाँसम्म पुग्ने आँट उनीमा पनि देखिएन ।
पहिले फिक्स्ड भएको अमेरिका भ्रमणलाई देश छोडेको रुपमा व्याख्या गरेर रामेशले अपरिपक्वता देखाएका छन्। जुन गलत छ । अबको पाँच बर्षपछि उनैले छानेको विश्वविद्यालयमा जान सक्ने अवस्थाको नजर अन्दाज गरेर जागिर नै छोडनु उनीबाट भएकाे अर्को भूल हाे । देउवा दम्पतिको कोप भाजनमा परेर नियुक्त हुन नसकेर बिदेश जाँदैछु भनेर लेख्नु रामेश जस्ता प्रवुद्ध व्यक्तिका लागि सुहाउने कुरा थिएन र छैन ।