अभिनेत्री करिष्मा कपुरकी पूर्वपति ५३ वर्षीय उद्योगपति कपुरको मृत्युले जसरी धेरैलाई झस्कायो, उनको मृत्युले त्यो भन्दा धेरै बहस र विवाद अहिले भारतीय उद्योगी व्यवसायिक क्षेत्रमा निम्त्याएको छ । कपुरको मृत्युले सृजना गरेको बहसको विषय हो—उद्योगपतिहरुको उत्तराधिकारी चयन सम्वन्धी विवाद ।
साथै भारतीय धनाढ्यहरुका रंगीन जीवनशैलीको पछाडिका तनावपूर्ण रहस्यहरु र त्यसले थपिरहेका मानसिक तनावहरुलाई पनि सतहमा ल्याइदिएको छ ।
संजयले ३ वटा विवाह गरेका थिए । पहिलो डिजाइनर नन्दिता महतानीसंग, दोस्रो नायिका करिष्मा कपुरसंग र तेस्रो उद्यमी प्रिया सचदेवासंग ।
कपुरको मृत्युसंगै उनको सम्पत्तिको हकवाला को हो र उत्तराधिकारी को हो भन्ने विवादले उनको पारिवारिक अवस्था त छिन्नभिन्न भएको छैन, उनले संचालन गरेका उद्योग व्यवसाय पनि के होलान् भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।
कपुर सोना कमस्टारको उत्तराधिकारी थिए, जुन कम्पनीको ३.६ अरब डलरको कारोबार छ । भारतको शीर्ष अटो कम्पोनेन्ट निर्मातामध्ये एक सोना कमस्टारको भारत,चीन,मेक्सिको र अमेरिकामा १० वटा कारखाना छन्।
संजयको मृत्यु भएपछि कम्पनीले अमेरिकी नागरिक जेफरी मार्च ओबरलीलाई नयाँ अध्यक्ष बनाएको छ ।
तीनपटक विवाह गरेका सञ्जयकी आमा रानी कपुर सोना कमस्टारकी पूर्वअध्यक्ष हुन् । संजयको मृत्युको केही दिनपछि रानी कपुरले सोना कमस्टारको बोर्डलाई एउटा पत्र पठाएकी थिइन्, जसमा उनले आफ्नो छोराको मृत्यु र त्यसपछिको कम्पनीमा भएका नियुक्तिहरू माथि प्रश्न उठाएकी थिइन् ।
रानीले आफ्नो छोराको मृत्यु धेरै संदिग्ध र अस्पष्ट परिस्थितिमा भएको आरोप लगाएकी छिन् । साथै संजयको मृत्युको लगत्तै कम्पनीलाई कब्जा गर्न प्रयास गरिएको आरोप लगाएकी छन् ।
आफ्नो पत्रमा रानीले सन् २०१० मा उनका दिवंगत पतिले छोडेको इच्छापत्रको एकमात्र लाभार्थी आफू भएको दाबी गरेकी छिन् । यसमा सोना समूह र सोना कमस्टारको बहुमत हिस्सेदारी समावेश हुनेछ।

उनको दाबीप्रति कम्पनीको तिखो टिप्पणी गरेपछि विवाद चर्किदै गएको छ । बोर्डले रानी कपुरको चिठी चर्चा गर्न लायक पनि नभएको भन्दै कुनै प्राइभेट कम्पनीमा उत्तराधिकारी विरासतबाट चयन नहुने, कानुन अनुसार साधारण सभाबाट निर्वाचित हुने दावी गरेको छ । सोना कमस्टार सोना बीएलडब्लु ब्रान्ड नामअन्तर्गत भारतीय सेयर बजारमा सूचीकृत छ ।
यसमा ७१.९८ प्रतिशत बैंक, म्युचुअल फन्ड र वित्तीय संस्था सहितको स्वामित्वमा रहेको छ भने २८.०२ प्रतिशत प्रमोटरहरूको स्वामित्वमा रहेको छ।
कम्पनीका कागजातअनुसार सञ्जय कपुर आरके फेमिली ट्रस्टका एकमात्र लाभार्थी थिए । सोना कमस्टारको विरासतको विवाद अब अदालत पुग्ने लगभग निश्चित छ । अदालतले कस्तो फैसला गर्ला, त्यो अहिल्यै भन्न सकिदैन ।
त्यसो त उद्योगी व्यवसायिक घरानाहरुमा उत्तराधिकारीको विवाद सृजना भएको यो पहिलो घटना भने होइन ।
एक अध्ययन अनुसार सर्वेक्षणअनुसार भारतमा ९० प्रतिशत सार्वजनिक कम्पनीहरु परिवार नियन्त्रित छन्, तर तीमध्ये ६३ प्रतिशतसँग मात्र औपचारिक उत्तराधिकारी र स्वामित्व हस्तान्तरण योजना छ । वाँकी ३७ प्रतिशतसंग त्यसबारेमा कुनै योजना छैन, त्यसले गर्दा विवाद हुने गर्छन् ।
इन्डियन स्कुल अफ बिजनेसका कविल रामचन्द्रन भन्छन-अधिकांश भारतीय पारिवारिक व्यवसायहरू ‘धेरै मामिलाहरूमा स्पष्टताको अभाव’ मै संचालन हुन्छन् । उनीहरुको कार्यशैली ‘अहिले चलेकै छ, परेको बेला बेहोरुँला’ भन्ने मान्यताबाट प्रेरित हुन्छ, जस्को परिणाम उनीहरु कुनै न कुनै बेला झमेलामा पर्छन् ।
व्यापारिक परिवारलाई स्वामित्व संरचनाका बारेमा सल्लाह दिने केतन दलाल भन्छन्, परिवारका प्रमुखको मृत्युसँगै स्वामित्व र व्यवस्थापन दुवैलाई लिएर विवाद उत्पन्न हुन्छ र तबसम्म अवस्था यति बिग्रिएको हुन्छ कि यसलाई सजिलैसँग समाधान गर्न गाह्रो हुन्छ । अहिले संजय कपुरको मृत्युपछि त्यस्तै अवस्था सृजना भएको छ ।
भारतको कर्पोरेट संसारमा धेरै उत्तराधिकार विवादहरू छन् जसले बारम्बार समाचारका हेडलाइनहरू सृजना गर्छन्।
एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी र भाई अनिल अम्बानीको विवाद पनि त्यसैगरि चर्किएको थियो । सन् २००२ मा बुबा धीरुभाई अम्बानीको इच्छापत्र बिना नै मृत्यु भएपछि दुई भाई बीचको स्वामित्वको विवादले परिवार र उद्योग व्यवसाय नै अस्तव्यस्त हुन लागेको थियो,त्यो बेला आमा कोकिलाबेनले हस्तक्षेप गरेर दाजुभाईको झगडा मिलाएकी थिइन । हालै,भारतको प्रसिद्ध कपडा कम्पनी रेमण्ड ग्रुप र मुम्बईमा ट्रम्प टावर निर्माण गर्ने लोधा भाइहरू बीचको पारिवारिक झगडा पनि अगाडि आयो ।
त्यस्तै सन् २००० को दशकमा देशको सबैभन्दा ठूलो व्यापारिक समूहमध्ये एक बजाज परिवारसँग पनि उत्तराधिकारको विवाद थियो, जसलाई अदालतले नै सुल्झाइदिएको थियो । यसपछि परिवारका प्रमुखले उत्तराधिकारको योजना बनाए, जसमा छोरा र दाजुभाइमा जिम्मेवारी बाँडिएको थियो । कम्पनीको विज्ञप्तिअनुसार यो समूह अहिले परिवार परिषदमार्फत सहमतिमा सञ्चालित छ ।
गत वर्ष, भारतको सबैभन्दा पुरानो व्यापारिक घरानाहरू मध्ये एक, गोदरेज समूहमा पनि यस्तै अवस्था आएको थियो ।
कम्पनीहरुमा देखिएको उत्तराधिकारीकोको विवादले संस्थापकहरुको अवस्था त धाराशायी हुन्छ नै, उनीहरुको कम्पनीमा शेयर लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरुको पनि विचल्ली हुन्छ । विवादका कारण शेयर सूचकाँकहरुमा आउने गिरावटले गर्दा लगानीकर्ताले प्रतिफल पाउन वर्षाैं कुर्नु पर्छ वा घाटामै शेयर बेच्नु पर्ने अवस्था आउँछ । यो अवस्थाका कारण भारतका धेरै शेयर लगानीकर्ताहरु डुबेका छन् ।