खासगरि पारिवारिक पृष्ठभूमी अन्य पेशा, व्यवसाय भएका तर बजार ‘हल्ला’ र कतिपय सन्दर्भहरुमा त्यस्तै त्यस्तै साथीहरुको संगतका कारण थुप्रै युवा पूँजी बजारमा प्रवेश गर्न हिच्किचाइरहेका हुन्छन् ।
तर, ख्याल गर्नुपर्ने विषय के हो भने पूँजी बजारमा प्रवेश गर्नको लागि उमेर होइन, रुची, प्रतिवद्धता र आवश्यकता अनुसार ‘लगानीका खतरा’हरुसँग खेल्न सक्ने आँट हुनुपर्छ । त्यस्तै आँट, रुची र प्रतिवद्धताका कारण सानै उमेरमा सफल भएका लगानीकर्ता हुन् आशु सेहरावत । जो उमेरले त ‘बच्चा’ भन्न मिल्नेछन्, तर लगानी र पोर्टफोलियो व्यवस्थापनमा आफूलाई अब्बल प्रमाणित गरिरहेका छन् ।
दिल्लीका आशु भरखर २५ वर्षका भए । तर, उनी भारतका ठूला शेयर लगानीकर्ताहरुमध्ये एक मानिन्छन्, जसले अर्बाैंकाे शेयर कारोबार गर्छन् । उनका बुबाले अन्य व्यवसायसँगै शेयर बजारमा केही मात्रामा लगानी गर्दथे । त्यो देखेर उनले स्कुले जीवन सकेर कलेज जीवनमा प्रवेश गर्नासाथ बाबुसँग केही पैसा मागेर लगानी शुरु गरे । तर, उनले छोटो समयमै शेयर बजारलाई यसरी बुझे कि उनी अहिले आफैमा टाइकुन नै बनिसकेका छन् ।
उनी आफूलाई अझै सफल मान्दैनन् र सिक्न धेरै बाँकी रहेको बताउने गर्छन् । उनी आफूले पटक पटक घाटा खाएको र कैयौं पटक त शेयर बजारबाट पलायन हुने सोंच समेत बनाएको बताएका थिए । तर उनी टिकिरहेका मात्रै छैनन्, सफलताको उचाइमा पुगिरहेका छन् ।

सेहरावातका अनुसार शेयर बजारमा सफल हुनको लागि सातवटा विषयमा विशेष ध्यान दिनु पर्छ । ती विषय हुन्ः
१ . सधै आशावादी बन्नुस् ।
२. हल्लाहरुको पछाडि नदौड्नुस्, आफ्नो रणनीति अनुसार स्थिर बनेर लगानी गर्नुस् ।
३ . बजारले तपाईंलाई दिने हण्डर ठक्करलाई स्वीकार्नुस् अर्थात बजारलाई सिकाउन दिनुहोस् ।
४ . जोखिम व्यवस्थापन कला अपनाउनुहोस
५ . आफ्नो लगानीको अवस्था प्रति सचेत हुनुहोस्
६ . पूँजी बजारको गतिविधिहरूलाई नियालीरहनुस र,
७. अनुसन्धान गर्नुहोस्, सिक्नुहोस्, र बढ्नुहोस् ।