यति बेला बैंक, बिमा, लघुवित्त, जलविद्युतमा फरक फरक प्रभाव पर्दा त्यसको असर समग्र सूचकमा परिरहेको छ। सबैभन्दा पहिले सूचक घट/बढमा सबैभन्दा बढी भूमिका खेल्ने बैंक वित्तीय संस्थाको शेयरमा बाफियाको प्रभाव परिरहेको अनुमान गरिएको छ। बाफिया जस्ताको त्यस्तै पास भई आए धेरै जसो संस्थापक शेयर एकै पटक दोस्रो बजारमा आउने र त्यसले बैंक वित्तीय संस्थाको शेयर सप्लाई बढेर बैंक वित्तीय संस्थाको मूल्य घट्न जाने अनुमान बजारमा भइरहेको छ। हुन संस्थापक र पब्लिक शेयरको मूल्य फरक फरक हुन्छ। त्यसमा पनि संस्थापक शेयरको सप्लाई बढेर दोस्रो बजारमा मूल्य प्रभावित हुने सम्भावना निक्कै कम छ। तै पनि लगानीकर्ताको मनोविज्ञान भने यही कुराले डोर्याइरहेको कारण बैंक वित्तीय संस्थाको शेयर मूल्य घटिरहेको अनुमान बजारमा भइरहेको छ।
अर्कोतर्फ जलविद्युत क्षेत्रमा केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले लागु गर्न लागेको दुई थरी आइजिनले प्रभाव पारेको अनुमान बजारमा छ। सिडिएससीले संस्थापक र पब्लिक शेयरको फरक फरक हुने गरी निर्देशिका बनाएर धितोपत्र बोर्ड स्वीकृतिको लागि पठाएको छ। जुन निर्देशिका जस्ताको त्यस्तै पास भए आए आउने दिनमा सबै नयाँ सूचिकृत कम्पनीको दुई वटा सिम्बोलमा कारोबार हुने छ। त्यसले जलविद्युत कम्पनीको शेयर मूल्यमा प्रभाव पर्ने भन्दै जलविद्युत कम्पनीहरूले विरोध गरिरहेका छन्। जसले गर्दा अहिले देखि नै जलविद्युत कम्पनीको शेयर मूल्य खुम्चिन थालेको अनुमान गरिएको हो।
त्यसैगरि मौद्रिक नीति पछि लघुवित्त कम्पनीहरूको शेयर मूल्य एकाएक बढेका थिए। त्यसमा पनि बढी लाभांश क्षमता भएका लघुवित्तको शेयरमा अलि बढी आकर्षण देखिएको थियो। किनकि मौद्रिक नीतिले लघुवित्तहरूमा लगाइएको १५ प्रतिशतको लाभांश क्यापमा पुनरावलोकन हुने भनिएको थियो। तर मौद्रिक नीति पछि आएको निर्देशनमा उक्त विषय उल्लेख नभएपछि त्यस क्षेत्रमा लगानी बढाएकाहरू निराश हुन पुगे। लाभांश क्यापमा पुनरावलोकन अर्ध बार्षिक समीक्षा अवधिमा मात्र गरिने चर्चाले थप निराशा ल्यायाे । जसले गर्दा अहिले लघुवित्तमा पनि आकर्षण घट्दै जाँदा त्यस क्षेत्रका शेयर मूल्य घटिरहेको अनुमान आइरहेको छ।

एकथरि लगानीकर्ताले भने नेपालमा चल्ने जुलाईको सिजन यस पटक सकिएकोले गर्दा पनि शेयर बजार घटिरहेको भनिरहेका छन्। हरेक वर्ष जुलाई शेयर बजारको लागि महत्त्वपूर्ण महिना हुने गर्छ। जुन महिनामा शेयर बजार बढ्छ। तर यसपटक भने जुलाई महिना सकिएको र बढ्ने समय पनि समाप्त भएको कारण शेयर बजार घटेको उनीहरूको तर्क छ।
बजारमा घट्ने कारणहरू अनेक आउँदै गर्दा लगानीकर्ताको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव पर्दा सूचक घट्दो अवस्थामा देखिएको छ। दोस्रो बजारमा घट/बढ हुने जुन सुकै कारण भएपनि शेयर बजार निरन्तर घट्ने मात्रै हुँदैन। आउने दिनमा शेयर बजार पुनः माथिल्लो बिन्दु तर्फ उन्मुख हुनेमा केही लगानीकर्ता आशावादी देखिएका छन्।