पवन कुमार शर्माको नेतृत्वकाे नेपाल वेयरहाउजिङ्गकाे वित्तीय प्रगतिमा उल्लेखनीय सुधार

Aug 17, 2025 08:37 PM merolagani



नेपाल वेयरहाउजिङ्ग कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पवन कुमार शर्मा आएसँगै कम्पनीको वित्तीय अवस्थामा उल्लेखनीय सुधार आएको कम्पनीको चौथो त्रैमासिक प्रतिवेदनले देखाएको छ । शर्मासंग भारतमा कोल्याट्रल म्यानेजमेन्ट, वेयरहाउस रिसिप्ट फाइनान्सिङ्ग तथा वेयरहाउजिङ्ग सम्बन्धी तीन दशकभन्दा बढीको अनुभव रहेको छ, जसको प्रत्यक्ष प्रभाव कम्पनीको सूचकमा देखिन थालेको छ ।

गत वर्ष यसै अवधिमा १ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षमा ३१ करोड ४० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ। तर, कम्पनीको खर्चमा पनि उल्लेखनीय वृद्धि भएको छ । हाल कम्पनीमा ९९ करोड ४२ लाख रुपैयाँको वित्तीय ऋण रहेको छ, जसका कारण वित्तीय खर्च धेरै भएको छ । यो सर्माका लागि प्रमुख चुनौती बनेको छ ।

यद्यपि, ठूलो वित्तीय दायित्व घटाउनका लागि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरिसकेको छ । तर प्राथमिक शेयर निष्कासन गरेको दुई वर्ष नपुगेकाले प्रक्रिया अघि बढ्न सकेको छैन । अब बाँकी केही महिनापछि हकप्रद शेयर जारी गर्ने बाटो खुलेपछि, जुटाइने रकमबाट ऋण तिरेर वित्तीय खर्च घटाउने र कपिलवस्तुस्थित साइलो निर्माणलाई पूर्णता दिने रणनीतिमा कम्पनी अघि बढ्नेछ । यस रणनीतिले एकातिर व्याज खर्च कम गर्नेछ भने अर्कोतर्फ कपिलवस्तु साइलोबाट आम्दानी सुरु गर्ने बाटो पनि खुल्नेछ । शर्माको अनुभव र हकप्रद शेयरबाट जुट्ने पुँजीका आधारमा कम्पनीले आगामी वर्षहरूमा उल्लेखनीय प्रगति गर्ने सम्भावना रहेको देखिन्छ । हकप्रद शेयर जारी गर्ने र अनुभवी प्रमुख कार्यकारी अधिकृत भारतबाट भित्र्याउने संचालक समितिको निर्णय दूरदर्शी रहेको देखिन्छ ।

यस अवधिमा गहुँ र मकैको आन्तरिक उत्पादन भएकोले कम्पनीले अन्य अवधिको तुलनामा यी अन्नहरूको उल्लेखनीय भण्डारण गर्न सफल भएको जनाएको छ । साथै, साइलोमा भण्डारण गर्ने ग्राहकहरूलाई कम्पनीले आफैं अन्न खरिद गरी आपूर्ति गरेकाले कुल आयमा वृद्धि भएको र यसले ग्राहकलाई थप सेवा प्रदान गर्न सहयोग पुगेको पनि जनाएको छ । यसले साइलो भण्डारण क्षमतामा थप योगदान पुर्‍याएको देखिन्छ ।

कम्पनीको भनाइअनुसार, अन्नको उत्पादन र आपूर्ति यस व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने तत्व हुन् । नयाँ प्रकारको व्यावसायिक कारोबार भएकाले ग्राहकलाई बुझाउन केही समय लागेको समेत जनाएको छ । साथै, वेयरहाउस रिसिप्ट प्रणाली अझै लागू नभएकाले कम्पनीले अपेक्षित आम्दानी गर्न नसकेको बताइएको छ । अन्न खरिद गरी भण्डारण गर्ने ग्राहकहरूको वित्तीय क्षमता, अन्नको मूल्य तथा व्याजदरले व्यवसायमा प्रत्यक्ष असर गर्ने भएकाले यस क्षेत्रमा चुनौती कायम रहेको छ । यस कम्पनीको व्यवसाय कमोडिटी बजारको इकोसिस्टमसँग पनि जोडिएको भएकाले, कमोडिटी बजारले लाइसेन्स प्राप्त गर्न सकेमा यस कम्पनीलाई थप फाइदा हुने देखिन्छ ।

यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, टिम भेन्चर्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनएमबि बैंक र आइएमई जनरल इन्स्योरेन्स प्रमुख लगानीकर्ता रहेका छन्। कम्पनीले देशका तीन स्थान—सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित आधुनिक खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषि वस्तु सङ्कलक, खाद्यान्न प्रशोधनकर्ता, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकलाई सेवा प्रदान गर्दै आएको छ । हालसम्म कम्पनीले तीन जिल्लामा ५५ हजार मेट्रिक टन क्षमताको वेयरहाउस निर्माण गरिसकेको छ ।




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।