कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने २९ करोड ५ लाख रुपैयाँबराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख ३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले आजदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि भदौ ३० गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता सानिमा क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख ७० हजार १५० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसैले, लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुने देखिन्छ।
औषत जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्गले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्गले कम्पनीलाई २०८१ माघ ३ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ माघ २५ गतेसम्म रहनेछ।
कस्तो कम्पनी हो?
नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन र विस्तृत इन्जिनियरिङ्ग अध्यन गरि निर्माण र संचालन गर्ने हेतुले बुंगल हाइड्रो लिमिटेड प्रचलित कानून बमोजिम २०७३ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७८ असार ३० गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ र विद्युत ऐन, २०४९ अन्तर्गत कारोबार गर्दै आएको छ।
कम्पनीको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय ललितपूर महानगरपालिका – ३, धोविघाट, ललितपुरमा रहेको छ भने आयोजना स्थलको कार्यालय सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुंगल नगरपालिका, वडा नं. – ७, खौलाधार, बझाङ्गमा रहेको छ। सम्बन्धित निकायबाट स्वीकृति लिई नेपालका अन्य स्थानहरुमा आयोजना निर्माण गर्ने क्रममा कार्यालयहरु खोल्न सक्नेछ।
कम्पनीमा हाल ८२ जना संस्थापक शेयरधनीहरु रहेका छन्। यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत/उर्जा क्षेत्र, सामाजिक कार्य/वैदेशिक रोजगार एवं व्यापार/व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दख्खल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्।
कम्पनीले नेपाल सरकार, उर्जा मन्त्रालयबाट २०७२ चैत १४ मा माथिल्लो सानी गाड जलविद्युत आयोजना (१०.७ मेगावाट) को विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको छ। विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २६ वर्ष १० महिना रहेको छ।
यस कम्पनीबाट उत्पादन गरिएको सवै विद्युत शक्ति एकमुष्ठ नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मन्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरण बिच २०७२ साल असार १५ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ।
कम्पनीले सानीगाड खोलाको पानीबाट १०.७ मेगावाट जलविद्युत आयोजना सफलतापूर्वक निर्माण कार्य सम्पन्न गरिसकेको छ। हालसम्म आयोजनाको साइटको भौतिक कार्य सम्पन्न भएतापनि स्वतन्त्र प्राविधिक परामर्शदाता र वित्तिय परामर्शदाताबाट प्रमाणित हुन बाँकी रहेको छ र २०८० भदौ २ गते बाट व्यापारिक उत्पादन गरिरहेको छ।
कम्पनीले सञ्चालन गरेको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा ब्यवस्था भए अनुसार कम्पनीको जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको निमित्त छुट्याइएको छ। सो शेयर बिक्री वितरण गरी कम्पनीको चुक्ता पूँजी ८३ करोड पुर्याउन कम्पनीले आईपीओ निष्काशन गरेको हो।
आईपीओ निष्काशनको मुख्य उद्देश्य आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गर्नु रहेको छ। साथै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
आईपीओ निष्काशनबाट संकलन भएको रकममध्ये २० करोड ७५ लाख रुपैयाँ कम्पनीले बैंकको ऋण भुक्तानी गर्नका लागि प्रयोग गर्नेछ। त्यस्तै, कम्पनीले ६ करोड ८० लाख रुपैयाँ सिभिल कार्यको भुक्तानी गर्न र १ करोड ५० लाख रुपैयाँ परामर्शदाता तथा अन्य दायित्व भुक्तानी गर्न प्रयोग गर्नेछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा ४ करोड १५ लाख ७० हजार रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा रहेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ५४ लाख ८३ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८८ पैसा थियो भने प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ६९ पैसा ऋणात्मक थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा ५ करोड ३३ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ४९ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८ पैसा ऋणात्मक हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियममा भएको व्यवस्था अनुसार महिला र स्वतन्त्र सहित ७ (सात) जना सञ्चालक रहनेछ। जसमध्ये संस्थापक शेयरधनीहरुबाट निर्वाचित हुने ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित हुने २ जना रहने व्यवस्था रहेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिव प्रसाद घिमिरे रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकमा खगेश्वर बोहरा, तिर्थ राज चटौत, उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ र बिरेन्द्र बहादुर मल्ल रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको उद्देश्य माथिल्लो सानीगाड जलविद्युत आयोजना (१०.७० मे.वा.) सञ्चालन गर्ने रहेको र अन्य जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्न सक्ने भएको हुँदा हाललाई कम्पनीको भावी योजना यस आयोजनालाई सुचारु रुपमा सञ्चालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने रहेको छ।
कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई समृद्ध बनाउन सहयोग गर्ने कम्पनीको उद्देश्य छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८८ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।