नेप्सेमा अन्तिम १५ मिनेटको भरित औसत गणना ठिक नभएको चौतर्फी गुनासो, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

Sep 02, 2025 06:04 AM Merolagani



सुवास निरौला

दोस्रो बजारका चर्चित लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले केही दिन अघि आफ्नो फेस बुक पेजमा “आजको १५ मिनेटको Weighted Average मा नेप्सेको Closing Index मलाई त मिले जस्तो लागेन, यसो विज्ञले नजर लगाउने हो कि ?” स्ट्याटस लेखे।

यसरी भारित औसत नमिलेको भनेर पौडेलले मात्रै लेखेका छैनन्, बजारका केही लगानीकर्ताले सामाजिक सञ्जाल मार्फत १५ मिनेटको भरित औसत गणना नमिलेको भनेर त्यसलाई खारेज नै गर्नु पर्ने माग गरिराखेका छन्। पछिल्लो समय यही माग लिएर केही लगानीकर्ता नेपाल स्टक एक्सचेन्ज(नेप्से) र नेपाल धितोपत्र बोर्ड नै पुगे। नेप्सेले आफूले गर्ने गरेको गणना विधि सही रहेको र त्यसलाई खारेज गर्न नसकिने तर्क अघि सार्‍यो।

उता नेपाल धितोपत्र बोर्डले भने गुनासो दर्ता भएपछि त्यसको बारेमा तथ्य पत्ता लगाउन भन्दै एक अध्ययन समिति नै गठन गरेको छ। बोर्डले सुपरिवेक्षण विभागमा कार्यरत उप कार्यकारी निर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ। समितिले १५ मिनेटको औसत गणनामा के कस्तो भएको हो भनेर अध्ययन गर्ने छ। समितिले अध्ययन प्रतिवेदन दिएपछि बोर्डले आवश्यक निर्णय गर्ने बताइएको छ। “भारित औसत गणनाको विषयमा बोर्डमा गुनासो आएपछि बोर्डले के भएको हो भनेर बुझ्न एक अध्ययन समिति बनाएको छ। समितिले प्रतिवेदन दिएपछि बोर्डले आवश्यक निर्णय गर्ने छ,” बोर्डका प्रवक्ता निरन्जय घिमिरेले मेरो लगानीसँग भने।

पछिल्लो समय शेयर बजार लगातार घट्दै गएपछि भरित औसत गणना विधि कै कारण शेयर बजार घटेको केही लगानीकर्ताको निष्कर्ष छ। कारोबार अवधिभर आएको तल्लो बिन्दु भन्दा मुनि गएर नेप्से क्लोजिङ हुनै नसक्ने तर्क उनीहरूको छ। तर नेप्सेले भने त्यसलाई स्वीकार गर्दैन।

भरित औसत गणना विधि आफैमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त विधि हो। तर नेप्सेले उक्त गणना भने अझै पनि म्यानुअल्ली नै गरिरहेको छ। अहिलेको प्राविधिक समयमा पनि क्यालकुलेटर र एक्सेल सिटबाट गणना गर्ने गरेको कारण त्यसमा बारम्बार ह्युमन इरर( मानवीय त्रुटी) आइरहेको छ। तर नेप्से गणना गर्दा ह्युमन इरर आएको पनि स्वीकार गर्दैन। जसले गर्दा लगानीकर्ताले त्यसको विरोध गरिरहेका हुन्। नेप्सेले त्यसलाई सफ्टवेयर मार्फत नै गणना गर्ने प्रणाली विकास गर्न सकेको छैन। नेप्सेले गणनाको लागि प्रणाली विकास गर्न नसक्दा बारम्बार सूचक गणनामा हेर फेर हुँदै आइरहेको छ।

हरेक दिन हुने हेरफेरले निक्कै ठूलो समस्या निम्त्याउने भन्दै दोस्रो बजारका लगानीकर्ता सुभाषचन्द्र ढुङ्गानाले अम्बिकाप्रसाद पौडेललाई मेन्सन गर्दै लामै स्ट्याटस फेस बुकमा लेखेका छन्।

“Compounding Effect राम्रो कुरामा मात्र होइन, नराम्रो कुरामा त झनै लागु हुन्छ !

सुरु सुरुमा धेरै सानो देखिन्छ (जस्तो हाम्रो व्यवहारहरू) के चाहिँ होला र जस्तो लाग्छ ! तर बिस्तारै यसले शक्ति सञ्चय गर्दै ठूलो रूप लिन सक्छ !

जस्तो: जाबो बजार १ अंकले घट्दा के फरक पर्छ र ?

फरक मात्र होइन, ठूलो फरक पर्छ ! यसलाई हिसाब किताब गरेर नै हेरौँ हालको बजार पुँजीकरण (४६ खर्ब) र इन्डेक्स (२७६६) अनुसार बजार १ अंकले घट्दा बजार पुँजीकरण करिब १ अर्ब ६७ करोडले घट्न पुग्छ ! यदि आजको १५ मिनेटको औसत गणनामा  २.३४ अंकको फरक छ भने बजार पुँजीकरण झन्डै ४ अर्बले आफै स्वाह भइसकेको छ ! मानौँ बजारमा कुनै घटबढ नै भएन (वास्तवमा हुँदैन) र हरेक पटक यही अंकको हिसाब किताब बिग्रने हो भने हाम्रो बजार पुँजीकरण ११८२ कारोबार दिन (२३७ हप्ता वा ५७ महिना वा  ४.६९ वर्ष) मा पुरै सकिन्छ ! अन्त्यमा, सुधार कहिले पनि ढिलो हुँदैन,तर सुरुमै नियन्त्रण गर्न सजिलो हुन्छ। धन्यवाद 💚 “  




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।