धमाधम एफडी बन्द गरेर बजारमा पैसा खन्याउँदै म्युचुएल फन्डहरु, न्याभ भने घट्दो क्रममा

Sep 01, 2025 06:19 PM Merolagani



म्युचुएल फन्डहरुले शेयर बजारमा धमाधम लगानी बढाउन थालेका छन् । तथ्यांकअनुसार अधिकांश म्युचुएल फन्डहरुको मुद्दती निक्षेप रकम घट्दै गएको छ भने शेयर बजारमा लगानी बढ्दै गएको छ । 

शेयर बजारमा लगानी बढे पनि बजार घट्दो क्रममा रहेको हुँदा सोही अनुसार म्युचुएल फन्डहरुको खुद मुल्य (न्याभ) पनि घट्दो क्रममा देखिएको छ । असार मसान्तमा अस्तित्वमा रहेका ४९ वटा म्युचुएल फन्डहरुको मुद्दती निक्षेपमा २ अर्ब १६ करोड ९९ लाख रुपैयाँको लगानी रहेकोमा साउन महिनामा भने यो रकम झन्डै २० प्रतिशतले घटेर १ अर्ब ७३ करोड ९३ लाख रुपैयाँमा आएकाे  छ । साउन महिनामा असारको तुलनामा झन्डै ४३ अर्ब रकम मुद्दती निक्षेप (एफडी)बाट झिकेर शेयर बजारमा लगानी गरेका छन् । पछिल्लो समय निक्षेपको ब्याज दर निरन्तर घट्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरुले समेत ठूलो अंकको मुद्दती निक्षेपलाई निरुत्साहित गर्दै आइरहेका छन् । अहिले ठूलो अंकको मुद्दती नविकरण नै नगर्ने प्रवृत्ति रहेको म्युचुएल फन्ड अपरेटरहरु बताउँछन् । अहिले सञ्चालनमा रहेका ४९ वटा म्युचुएल फन्डमध्ये २७ वटा म्युचुएल फन्डको एफडी लगानी शुन्य रहेको छ । एफडीमा रकम बाँकी रहेका म्युचुएल फन्डहरुको पनि निकट भविष्यमै परिपक्व मिति नजिकिदै गरेको अवस्था छ ।

परिपक्व भएको एफडी रकम अधिकांश शेयरमै लगानी भएको र बाँकी रकम भने बैंक मौज्दातको रुपमा रहेका कारण अहिले म्युचुएल फन्डको नगद मौज्दात भने साउन महिनामा असार महिनाको तुलनामा केही बढेको छ ।

असारमा ८ अर्ब ७८ करोड १३ लाख रुपैयाँ नगद मौज्दात रहेकोमा साउनमा २२ दशमलब ४५ प्रतिशत बढेर १० अर्ब ७५ करोड रुपैयाँ पुगेको देखिएको छ । ४९ वटा म्युचुएल फन्डमा ३० वटा म्युचुएल फन्डको नगद मौज्दात रकम असार महिनाको तुलनामा बढेको छ भने बाँकी १९ वटाको नगद मौज्दात रकम घटेको छ ।

म्युचुएल फन्डहरुले शेयर बजारमा लगानी बढाए पनि समग्र शेयर बजार नै घट्दो क्रममा रहेको हुँदा म्युचुएल फन्डहरुको औसत खुद मूल्य (न्याभ) पनि घट्दो क्रममा रहेको छ । यद्यपि अहिले पनि अधिकांश म्युचुएल फन्डहरुको न्याभ अंकित मूल्य भन्दा माथि नै रहेको छ । हालै मात्र आइपीओ निष्काशन गरेको दुई वटा म्युचुएल फन्डहरु सिटिजन सदाबहार योजना र ग्लोबल आईएमई समुन्नत योजना–२ को न्याभ भने अंकित मूल्य भन्दा तल रहेको छ । असार महिनामा औसत ११ दशलब ६७ रुपैयाँ रहेको म्युचुएल फन्डहरुको औसत न्याभ साउन महिनामा शून्य दशमलब २७५१ अंकले घटेर ११ दशलब ३३ रुपैयाँ पुगेको छ ।

साउन महिना म्युचुएल फन्डहरुले प्रकाशित गरेको तथ्यांकअनुसार प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै अर्थात १३ रुपैयाँ ४२ पैसा रहेको छ । त्यसैगरी प्रभु सेलेक्ट फन्ड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२, हिमालयन ८०–२० र ग्लोबल आर्यएमई ब्यालेन्स फन्ड–१ को न्याभ १३ रुपैयाँ भन्दा बढी रहेको छ । त्यस्तै सानिमा लार्ज क्याप फन्ड, सिद्धार्थ इन्भेमष्टमेन्ट ग्रोथ स्किम–२, सनराइ फोकस्ड इक्वीटी फन्ड, सिद्धार्थ इन्भेटष्मेन्ट ग्रोथ स्किम–३, सानिमा ग्रोथ फन्ड, नबिल ब्यालेन्स फन्ड–२, लक्ष्मी उन्नति कोष, कुमारी धनवृद्धि योजना, सिद्धार्थ इक्वीटी फन्ड, आरबीबी म्युचुएल फन्ड –२ र एनएमबी ५० को न्याभ १२ रुपैयाँ भन्दा बढी रहेको छ । साउन महिनामा प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, सिटिजन सदाबहार योजना र ग्लोबल आईएमई समुन्नति योजना–२ को न्याभ भने १० रुपैयाँ भन्दा तल छ । अन्य सबैको न्याभ १० रुपैयाँ भन्दा माथि नै कायम भएको छ ।

साउन महिनामा म्युचुएल फन्डहरुले नेप्सेमा सूचीकृत भएका र नभएका कम्पनीहरुमा लगानी बढाएको भए पनि घट्दो क्रममा रहेको नेप्सेका परिसूचकका कारण सूचीकृत कम्पनीहरुमा म्युचुएल फन्डको लगानी शून्य दशमलब ८३ प्रतिशतले घटेको छ भने सूचीकृत नभएका कम्पनीहरुमा म्युचुएल फन्डहरुको लगानी ३ दशमबल ०८ प्रतिशतले बढेको छ ।

 




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।