संसद विघटनको विपक्षमा नेपाली कांग्रेस, संविधान संशोधन गरी अन्तरिम सरकार बनाउने प्रस्ताव विफल

Sep 13, 2025 02:18 PM merolagani



नेपाली कांग्रेस प्रतिनिधि सभा(संसद) विघटनको विपक्षमा उभिएको छ । 

विकसित घटनाक्रमबारे उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले संविधान बमोजिम बैधानिक बाटोबाट अन्तरिम सरकार बन्नुपर्नेमा संसद विघटन गरिनु दुःखद रहेको कांग्रेसको निष्कर्ष थियो ।

‘जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिँदा समाधानमुखी सहमतिलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो। संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै विद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो।’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संविधानको संरक्षक र पालनकर्ताका रूपमा आवश्यकताको सिद्धान्त अनुरूप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधान सम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने र यही प्रस्तावले राजनैतिक निकासमा दिने जिम्मेवार प्रस्ताव प्रस्तुत गरेको उल्लेख छ।

‘हामीले गरेको यो प्रस्तावमा सबैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अवलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो। यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदा रहँदै सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ।’ विज्ञप्तिमा भनिएको छ