कहिल्यै कसैलाई बधाई नदिने दलाई लामाले किन दिए प्रधानमन्त्री कार्कीलाई शुभकामना ?

Sep 14, 2025 06:26 PM mero lagani



चीन पक्षधर मानिएका प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फर्के लगत्तै सत्ताच्यूत हुनु र यस अघि कहिल्यै प्रधानमन्त्री नियुक्त हुँदा चासो नदिने दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएको घटनाले विश्वभरका कुटनीतिकज्ञहरुको ध्यान आकृष्ट गरेको छ । 

ओलीको बहिर्गमन र नयाँ प्रधानमन्त्री नियुक्त हुँदासाथ खुसी हुँदै दलाई लामाले शुभकामना दिनु संयोग मात्र होला कि यस्को पछाडि कुनै खास कारण हुन सक्छ ? धेरैलाई खुल्दुलीको विषय बनेको छ र साथसाथै यसले नेपालको भूराजनीतिलाई थप जटिलतातर्फ धकेल्ने त होइन भन्ने आशंका जन्माएको छ ।

उनले प्रधानमन्त्री कार्कीलाई पठाएको बधाई सन्देशसहितको पत्रमा लेखेका छन्, ‘तपाईंलाई थाहा छ, नेपाली र तिब्बती जनताबीच ऐतिहासिक रूपमा नजिकको सम्बन्ध रहँदै आएको छ। म १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्न बाध्य भएका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताप्रति अत्यन्त आभारी छु। वास्तवमा, यद्यपि तिब्बती समुदाय तुलनात्मक रूपमा सानो छ, म विश्वास गर्छु कि यसले नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको छ।’

उनले अहिलेको चुनौतीपूर्ण समयमा सफलता मिलोस् भन्ने पनि कामना गरेका छन्। पत्रमा भनेका छन्, ‘म तपाईंलाई यी चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकांक्षा पूरा गर्न सफलता मिलोस् भन्ने शुभकामना र प्रार्थना गर्दछु।’

संयोग कस्तो छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार प्रमुखहरुले बधाई दिइसक्दा पनि चिनियाँ प्रधानमन्त्री लि छ्याङले अहिलेसम्म प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छैनन् । केवल चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बधाई दिएका छन् । त्यो पनि आफै होइन, पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जवाफ दिने क्रममा । हिजो भदौ २८ गते बेइजिङस्थित विदेश मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन चियानलाई एक पत्रकारले नेपालमा भएको सरकार परिवर्तनलाई चीनले कसरी हेरेको छ भन्ने प्रश्न गरेपछि प्रवक्ता चियानले ‘चीनले कार्कीज्यूलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा बधाई दिन्छौ,’ भनेका थिए ।

त्यसक्रममा प्रवक्ता चियानले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको उल्लेख गर्दै ‘चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको’ जनाए । चीन नेपालसँग मिलेर शान्तिपूर्ण सह–अस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न तयार रहेको र विभिन्न क्षेत्रमा कायम आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन इच्छुक रहेको बताएका थिए ।

चीनले कहिल्यै मान्यता नदिएका, दशकौं अगाडि भारत पलायन भएर स्वतन्त्र तिब्बतको मागसहित चीन विरोधी अभियान संचालन गरिरहेका र चीनले देशद्रोही मानेका लामाले कुनै पनि देशमा हुने सरकार परिवर्तनलाई बेवास्ता गर्ने गरेको देखिन्छ । उनले नयाँ प्रधानमन्त्री नियुक्त हुँदा शुभकामना दिएका घटना पनि विरलै छ । त्यसमाथि नेपालमा त कुनै पनि प्रधानमन्त्रीलाई उनले बधाई सन्देश पठाएका थिएनन् । त्यस्तो सन्देश पाउने कार्की पहिलो प्रधानमन्त्री हुन् ।

कहिल्यै कसैलाई शुभकामना नदिने लामाले कार्कीलाई शुभकामना दिनु तर चीनले शुभकामना दिन आनकानी गर्नुको कुनै भित्री रहस्य छ कि त्यो संयोग मात्र हो ? त्यो उनीहरुलाई नै थाहा हुने कुरा हो । तर, यसले नयाँ सरकारलाई चीनले मात्र होइन, चीन पक्षधर अन्य राष्ट्रहरुले हेर्ने दृष्टिकोण नै परिवर्तन हुन सक्ने खतरा हुन सक्छ । त्यसो भएमा नेपाल थप भूराजनीतिक जटिलतामा फस्ने निश्चित छ । त्यो अवस्था सृजना हुन नदिन नवनियुक्त प्रधानमन्त्री कार्कीले कस्तो कुटनीति अपनाउँछिन्, त्यसले धेरै कुराको निर्धारण गर्नेछ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।