स्थिति यति सामान्य हुँदै गएको छ कि भर्खरै शिशु कक्षामा पढ्ने नानी बाबुहरू सिँगान पुछ्दै आइतबारदेखि विद्यालय जान थालेका छन्। आंशिक रुपमा जलेर ध्वस्त भएका कार्यालयले समेत सेवा दिन थालेका छन्। सम्पूर्ण रुपमा जलेको सर्वोच्च अदालतले समेत पाल टाँगेर आइतबारदेखि सेवा दिन सुरु गरेको छ।

तर नेपालको शेयर बजार भने आउने आइतबारसम्म नै बन्दा गर्ने निर्णय गरिएको छ। जबकि शेयर कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड देखि बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा कुनै क्षति भएको छैन। राफसाफको जिम्मा पाएको सीडिएससी देखि ब्रोकर कम्पनीका कार्यालय समेत सबै सुरक्षित नै छन्। अहिलेसम्म प्राप्त खबर अनुसार ब्रोकर नम्बर ४८ को पोखरा शाखामा भने आंशिक क्षति भएको खबर छ। त्यस बाहेक कहीँ कतै समस्या छैन। तर शेयर कारोबार भने पुरै बन्द गरिएको छ।
सार्वजनिक यातायात चल्न थालेका छन्। विद्यालय खुलेका छन्। सिनेमा घरले सिनेमा देखाउन सुरु गरिसकेका छन्। उद्योग व्यवसाय चल्न थालेका छन्। यस्तो अवस्थामा भने शेयर बजारलाई मात्रै बन्द गरेर राख्नु आफैमा आश्चर्य लाग्दो विषय बनेको छ।
जेनजी आन्दोलन नेपालमा मात्रै भएको होइन। केन्या, नाइजेरिया, सर्बिया, श्रीलङ्का, युक्रेन, चेक गणतन्त्र, बङ्गलादेश अनि इन्डोनेसियामा भइसकेका छन्। ती कुनै पनि मुलुकमा आन्दोलनका बीच शेयर बजार बन्द भएनन्। बरु त्यहाँको शेयर बजार भने नराम्ररी प्रभावित भने भएका थिए।
पछिल्लो समय मात्रै बङ्गलादेशमा २०२४ जुलाई १ देखि अगस्ट ५ सम्म विद्रोह भयो। जुन आन्दोलन ३४ दिन लामो थियो। विद्रोह भड्किँदै जाँदा प्रदर्शनकारी युवा विद्यार्थीको आक्रमणको तारो सत्तारुढ अवामी लिग दलका नेता, सरकारी पदमा भएका व्यक्ति र सरकारी कार्यालय परेका थिए। साथै केही व्यावसायीक घराना तथा परिसर समेत आक्रमणको तारोमा थिए। प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिना वाजेदको घरसहित दर्जनौँ सरकारी कार्यालय जलाएका थिए। जुन नेपालको जस्तै थियो। तर त्यहाँको स्थानी शेयर बजार ढाका स्टक एक्सचेन्जले एक दिन पनि शेयर कारोबार रोकेन। भलै आन्दोलनको बीच शेयर कारोबार घट्यो, प्रभावित भयो।
उता इन्डोनेसिया पनि गत अगस्ट २५ देखि जेनजीले प्रदर्शन गर्यो। त्यहाँ पनि विद्रोहले ठूलै रूप लियो। त्यहाँको स्थानी शेयर बजार पनि बन्द गरिएन। त्यहाँको इन्डोनेशियन स्टक एक्सचेन्ज (आइडिएक्स) बन्द भएन। भलै त्यहाँको बजार पनि नराम्ररी प्रभावित भएको थियो।
तर नेपालमा भने एक साता भन्दा बढी शेयर बजार बन्द गर्ने निर्णय गरिएको छ। बजार घट्छ भनेर ठूला लगानीकर्ताले बन्द गर्न सुझाएको कारण बजार बन्दा गरिएको प्रतिक्रिया बजार सञ्चालकको छ।
शेयर बजार घट्नु वा बढ्नु नै पर्छ। तर घट्छ भनेर पहिले नै अनुमान गरेर बन्द गर्नु आफैमा लाजमर्दो विषय हो।