उद्योगीलाई प्रधानमन्त्रीको प्रस्ताव- एक किस्ता बुझाए लाइन जोडिन्छ अनि पुनरावलोकनमा जानुहाेस्

Nov 03, 2025 03:43 PM merolagani



प्रधानमन्त्री सुशीला कार्कीले ट्रंक तथा डेडिकेटेड महशुलबापतको अतिरिक्त महशुल २८ किस्तामध्ये एक किस्ता तिरेमा उद्योगमा काटिएको लाइन जोडिने बताएकी छन् ।

सोमबार प्रधानमन्त्री कार्कीलगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित उच्चस्तरिय छलफलमा उनले मध्यमार्गी प्रस्ताव राखेकी हुन् ।

प्रधानमन्त्रीको प्रस्तावअनुसार, उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित रकम मानी धरौटीका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोडिनेछ । उक्त धरौटी रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जानेसँगै अन्य कानुनी उपचार पनि खोज्न सक्नेछन् ।

सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटी बुझाउँदा नै सोही निवेदनमा असहमति समेत राखि पुनरावलोकन एवं अन्य व्यहोरा उल्लेख गरि पेश गर्न सक्नेछन । उद्योगीहरुले महासंघ अध्यक्षलाई छलफल गर्दा किस्ता रकम नभनी विवादित रकमको धरौटीका रुपमा विद्युत प्राधिकरणले स्वीकार गरि कानुनी उपचारको अवसर प्राप्त भए सहमति हुन सकिने बताएका थिए । अहिले २३ वटा उद्योगले प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको छ ।

प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाललगायतको सहभागीता थियो ।