चिनियाँ मूलका कम्बोडियाली उद्यमी चेन केही अघिसम्म कम्बोडियाको सबैभन्दा प्रतिष्ठित उद्यमी चेन युरोप, अमेरिकासहित विश्वभर नै आदर्श उद्यमीको रुपमा चर्चित थिए । तर, केही महिना यता उनी विश्वका सबैभन्दा ‘मोस्ट वाण्टेट’ उद्यमी भएका छन् । र, उनको खोजी विश्वका सबैभन्दा शक्तिशाली अमेरिका, चीनदेखि धेरै देशका प्रहरी र गुप्तचरहरुले गरिरहेका छन् । तर, उनी भेटिएका छैनन् ।

अक्टुबर दोस्रो साता अमेरिकी न्याय विभागले उनलाई सन् २०२५ कै सबैभन्दा ठूलो आर्थिक अपराधको ‘मास्टरमाइण्ड’ भएको आरोप लगाउँदै कुनै पनि हालतमा पक्राउ गर्ने घोषणा गरेको थियो । तर, त्यस्तो घोषणा गरेको ३ साता वित्न लागिसक्दा पनि चेन कहाँ छन्, पत्तो छैन ।
केवल ३७ वर्षीय पातलो दाह्री र बच्चा जस्तो अनुहार भएको चेन झी आफ्नो उमेरभन्दा कान्छो देखिन्छन्। र उनी धेरै चाँडै अविश्वसनीय रूपमा धनी भएका थिए ।
उनले कम्बोडियामा बसेर अर्बाैं डलरको क्रिप्टोकरेन्सी चोरी गरेको आरोप लागेको छ । त्यसबाट धेरै देशका हजारौं मानिसहरुको विचल्ली भएको बताइएको छ ।
अमेरिकी ट्रेजरी विभागले केही समय अघि लगभग १४ अर्ब डलरको बिटकोइन जफत गरेको थियो । विभागले यो अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भएको बताएको छ। ती बिटकोइनहरू चेन झी र उनको समुहका मानिसहरुको भएको बताइएको छ ।
को हुन् चेन ?
दक्षिणपूर्वी चीनको फुजियान प्रान्तमा जन्मेका चेनले पहिलो पटक इन्टरनेट गेमिङ कम्पनी स्थापना गरे। उनी २०१० को अन्त्यतिर कम्बोडिया सरे, जहाँ उनले घर जग्गा व्यापार शुरु गरे । त्यसबाट अकुत सम्पत्ति कमाए ।
२०१४ मा, उनले आफ्नो चिनियाँ नागरिकता त्यागे र कम्बोडियाली नागरिक बने। चेन झीले २०१५ मा प्रिन्स ग्रुप स्थापना गरे। त्यतिबेला उनी केवल २७ वर्षका थिए।
२०१८ मा, उनले प्रिन्स बैंक स्थापना गर्न व्यावसायिक बैंकिङ इजाजतपत्र प्राप्त गरे। त्यही वर्ष, उनले साइप्रसमा २.५ मिलियन डलर लगानी गर्न अनुमति पाए ।
उनले अब युरोपेली संघमा सजिलै प्रवेश पाए। पछि उनले भानुआटु नागरिकता पनि प्राप्त गरे। उनले कम्बोडियाको तेस्रो एयरलाइन सुरु गरे र २०२० मा चौथो एयरलाइन सञ्चालन गर्ने प्रमाणपत्र प्राप्त गरे।
उनको कम्पनीले नोम पेन्हमा विलासी मल र सिहानोकभिलमा पाँचतारे होटल निर्माण गर्यो। त्यहाँ, उनले लाइट्सको खाडी भनिने १६ अर्ब डलरको इकोसिटी निर्माण गर्ने महत्वाकांक्षी योजना पनि सुरु गरे।
२०२० मा, चेन झीलाई कम्बोडियाका राजाले देशको सर्वोच्च सम्मान नीक ओक्नाहाबाट सम्मानित गरे । यो उपाधि प्राप्त गरेपछि उनले कम्तिमा ५ लाख डलर सरकारलाई दान दिए ।
उनी २०१७ देखि कम्बोडियाका गृहमन्त्री सार खेङका आधिकारिक सल्लाहकार थिए तथा पछि प्रधानमन्त्री हुन सेनको आधिकारिक सल्लाहकार पनि थिए । हुन सेनपछि उनका छोरा हुन मानेट देशको प्रधानमन्त्री बने। चेन झी उनका पनि सल्लाहकार बने।
उनले कम्वोडियाका संघ संस्थालाई मोटो रकम दान दिन्थे । त्यही कारण उनी कम्बोडियाकै सबैभन्दा दानी व्यक्तिको रुपमा चर्चित भएका थिए ।
तैपनि, उनी आफू बिरलै मात्रै सार्वजनिक कार्यक्रममा जान्थे । त्यस्ता कार्यक्रमहरुमा पनि भरसक ओझेलमा पर्ने प्रयास गर्थे, संचार माध्यमलाई कहिल्यै पनि अन्तरवार्ता दिँदैनथे । उनी आफूलाई जहिले पनि रहस्यको पर्दा भित्रै राखिरहे ।
उनीसंग संगत गरेकाहरु उनी कुनै पनि कुराको प्रचार गर्न चाहाने स्वभाव नै नभएको शान्त बुद्धिमानी मानिस भएको दावी गर्छन ।
अन्तर्राष्ट्रिय आर्थिक अपराधहरूको सूची
सन् २०१९ ताका सिहानोकभिल शहरमा अनलाइन जुवा खेल्दै चिनियाँ आपराधिक गिरोहहरूले आश्रय स्थल बनाइरहेको समाचार सार्वजनिक भयो । त्यसलगत्तै चीन सरकारको दबाबमा, तत्कालीन प्रधानमन्त्री हुन सेनले त्यस वर्षको अगस्टमा अनलाइन जुवामा प्रतिबन्ध लगाए।
शहरको मुख्य व्यवसाय ध्वस्त भएपछि, लगभग ४५०,००० चिनियाँहरू त्यहाँबाट गए। धेरै प्रिन्स ग्रुप अपार्टमेन्टहरू खाली भए। त्यसबाट उनले धक्का महसुस गरे पनि अनलाइन जुवा खेलाउने क्रम भने रोकेनन् । सरकारको उच्च तहमा पहुँच भएकोले उनको काम कारवाहीमा कसैले प्रश्न उठाउने हिम्मत समेत गरेनन् ।
त्यसैक्रममा उनले बेलायत, अमेरिका, फिलिपिन्स, क्यानडा लगायतका देशहरुमा पनि आफ्नो व्यापार विस्तार गरे । र त्यसैमार्फत ठगीका संजालहरु पनि विस्तार गरेको ती देशहरुले आरोप लगाइरहेका छन् ।
अमेरिकी ट्रेजरी विभागकाअनुसार चेनले अनलाइन ठगी, यौन व्यापार, मानव बेचबिखन र मनी लान्ड्रिङमार्फत अर्बाैं रकम ठगेर केही रकम समाजसेवाको लागि खर्च गर्दथे ।
अमेरिका र बेलायतले चेन झी र प्रिन्स ग्रुपसँग सम्बन्धित १२८ कम्पनीहरू र सात फरक देशका १७ व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएका छन्। उनीहरूमाथि चेन झीको घोटाला साम्राज्य चलाउन मद्दत गरेको आरोप छ।
अमेरिका र बेलायतमा चेन झीसँग सम्बन्धित सम्पत्तिहरू जफ्त गरिएको छ।
प्रतिबन्ध घोषणामा शेल कम्पनीहरू र क्रिप्टोकरेन्सी वालेटहरूको विस्तृत नेटवर्कको विवरण दिइएको छ जसको माध्यमबाट तिनीहरूको उत्पत्ति लुकाउन रकम स्थानान्तरण गरिएको थियो ।
प्रतिबन्ध आदेशमा भनिएको छ—प्रिन्स ग्रुपको अन्तर्राष्ट्रिय अपराध संगठनले यौन शोषण, मनी लान्ड्रिंग, धोखाधडी र अवैध अनलाइन जुवा लगायतका अन्तर्राष्ट्रिय अपराधहरूको विस्तृत दायराबाट नाफा कमाउँछ। यो समूह कम्बोडियामा कम्तिमा १० घोटाला साइटहरूको सञ्चालनलाई समर्थन गर्न दास बनाइएका कामदारहरूको औद्योगिक स्तरको बेचबिखन, यातना र जबरजस्ती रकम असुलीमा पनि संलग्न छ।
चीनमा पनि दर्जनौं मुद्दाहरु
चीनले कम्तिमा २०२० देखि प्रिन्स ग्रुपको पनि अनुसन्धान गरिरहेको छ। अनलाइन ठगी योजनाहरू चलाएको आरोप लगाउँदै कम्पनी विरुद्ध धेरै अदालती मुद्दाहरू दायर गरिएका छन्।
बेइजिङ नगरपालिका सार्वजनिक सुरक्षा ब्यूरोले कम्बोडियामा आधारित एक प्रमुख अन्तर्राष्ट्रिय अनलाइन जुवा सिन्डिकेट, प्रिन्स ग्रुपको अनुसन्धान गर्न एक कार्यदल गठन गरेको छ।
कम्बोडियन केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै मानिसहरूले प्रिन्स बैंकबाट आफ्नो पैसा निकाल्न सक्ने आश्वासन दिएको छ। यसैबीच, दक्षिण कोरियाली अधिकारीहरूले कोरियाली बैंकहरूमा जम्मा गरिएको ६४ मिलियन डलर जफत गरेका छन्।
सिंगापुर र थाइल्याण्डले आफ्नो क्षेत्राधिकारमा प्रिन्सका सहायक कम्पनीहरूको अनुसन्धान गर्ने वाचा गरिरहेका छन्। यसरी केही महिना अगाडिसम्म कम्बोडियाको सबैभन्दा प्रभावशाली व्यक्ति र विश्वभरका उद्यमशिल धेरै मानिसहरुको लागि आदर्श उद्यमीको रुपमा रहेका चेन झी ४० वर्ष पनि नपुग्दै अहिले बेपत्ता हुन वाध्य भएका छन् ।