राष्ट्र बैंक र आरबीआईको संयुक्त समन्वय संयन्त्रको बैठक सम्पन्न, सहयोग आदान–प्रदान गर्दै जाने

Nov 03, 2025 06:34 PM merolagani



नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई) को संयुक्त प्राविधिक समन्वय संयन्त्र (जेटीसीसी) को नवौं बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकको उद्घाटन गर्दै गभर्नर विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधानका लागि उक्त संयन्त्र प्रभावकारी रहेको बताए ।

मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासको आदान–प्रदान, प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिताको सन्दर्भमा ‘जेटीसीसी’ महत्त्वपूर्ण मञ्चको रूपमा स्थापित भएको उनको भनाइ थियो । आगामी दिनमा उक्त संयन्त्रमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदान–प्रदान थप सघन बन्दै जाने विश्वास पनि गभर्नर पौडेलले व्यक्त गरे ।

बैठकमा सोही अवसरमा भारतीय रिजर्भ बैंकका कार्यकारी निर्देशक एवं ‘जेटीसीसी’ संयोजक अर्णवकुमार चौधरीले उक्त संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण तथा वित्तीय समावेशीकरण प्रवर्द्धनका सन्दर्भमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको बताए ।

‘जेटीसीसी’ मार्फत दुई केन्द्रीय बैंकको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने उनको दाबी थियो । बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका तर्फबाट ‘जेटीसीसी’ संयोजक राजनविक्रम थापाले दुई पक्षीय हित प्रवर्द्धनका निम्ति उक्त संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए ।