योसँगै नेकपा माओवादी केन्द्र औपचारिक रुपमा विभाजित भएको छ ।

नेकपा माओवादी विभाजन भएसँगै उक्त पार्टीका नेता कार्यकर्ताहरु पनि विभाजित भएका छन् । कतिपयका घर परिवार नै विभाजित भएका छन् । त्यसरी परिवार नै विभाजित हुनेमा पूर्वअर्थमन्त्री शर्मा नै अगाडि देखिएका छन् । पार्टीमा आएको विभाजनसँगै अहिले शर्मा परिवार ३ धारमा बाँडिन पुगेको छ । कोही शर्मासँगैको अभियानमा लागेका छन्, कोही विभाजनप्रति आपत्ति जनाउँदै पार्टीमै कृयाशिल देखिएका छन्, कोही भने मौका आउँदा खुल्ने गरि तठस्थ देखिएका छन् ।
शर्माका सहोदर भाई तथा माओवादी केन्द्रिय सदस्य ओपेन्द्र शर्मा र बहिनी नारायणी शर्मा पार्टी विभाजनको विपक्षमा उभिदै मंगलबार भएको केन्द्रिय कमिटीको बैठकमा सहभागि भएका छन् । उनीहरु दुवै जनाले परिवार र राजनीति फरक भएको दावी गर्दै दाई जनार्दनको पक्षमा नलाग्ने घोषणा गरेको माओवादी स्रोतले जानकारी दियो ।
उनीहरुका कान्छा भाइ तथा पार्टी केन्द्रिय सदस्य अनिल शर्मा भने पूर्वअर्थमन्त्री शर्माको पक्षमा उभिएका छन् । पार्टी केन्द्रिय सदस्य तथा उनीहरुका बहिनीज्वाइँ ओमनाथ ढुंगाना अर्थात ओम शर्मा (जो रातोपाटी नामक अनलाइनका लगानीकर्ता हुन) भने अहिलेसम्म नखुलेको बताइएको छ । त्यस्तै कर्णाली प्रदेश कमिटीको अध्यक्ष रहेकी भाइबुहारी विमला केसी (जो प्रदेशको पूर्व कृषि मन्त्री हुन्) पनि खुलेकी छैनन् । तर, उनी पार्टीमै सक्रिय रहन सक्ने अडकलवाजी माओवादीका कर्णाली प्रदेशका कार्यकर्ताहरुले गरेका छन् ।
शर्माका नजिकका नातेदार (भाइ) तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र नजिक नाताका जगप्रसाद शर्मा भने जनार्दन शर्माको पक्षमा खुलेका छन् ।
जनार्दन परिवारबाटै ठूलोबुबाका छोरा वसन्त शर्मा र माइलो बुबाकी छोरी लुम्बिनी गौतम पनि पार्टी अध्यक्ष प्रचण्डको पक्षमा नरहे पनि पार्टी छोडिहाल्ने पक्षमा नरहेको बताइन्छ ।