एनएमबि बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

Nov 07, 2025 04:16 AM Merolagani



एनएमबि बैंक लिमिटेड (NMB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २३.४७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ७१ करोड ३९ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। साे अवधिसम्ममा बैंककाे वितरणयाेग्य मुनाफा १ अर्ब ९४ कराेड रूपैयाँ रहेकाे छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।

१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।