अमेरिकी अर्थ मन्त्रालयका अनुसार, बैंक अफ अमेरिकाले पाँच अर्ब डलरभन्दा बढीका शंकास्पद कारोबारसम्बन्धी सूचना समयमै रिपोर्ट गर्न सकेन। तीमध्ये एक अर्ब डलरभन्दा बढीको कारोबार राष्ट्रिय सुरक्षा र उच्च प्राथमिकताका वित्तीय जोखिमसँग सम्बन्धित थियो। यसमा चिनियाँ अवैध मुद्रा स्थानान्तरण सञ्जाल, ठगी तथा अमेरिकाको दक्षिणपश्चिमी सीमासँग सम्बन्धित सम्भावित अवैध वित्तीय गतिविधि समावेश थिए।
कमजोरी कहाँ थियो ?
अमेरिकी नियामकको अनुसन्धानले तीनवटा मुख्य समस्या औँल्याएको छ।
पहिलो, कारोबार निगरानी प्रणाली प्रभावकारी थिएन। बैंकले अत्यन्त ठूलो परिमाणका कारोबार गर्ने भए पनि सम्भावित जोखिमयुक्त कारोबार पहिचान गर्न प्रयोग गरिएको प्रणालीमा गम्भीर कमजोरी थिए। त्यसका कारण शंकास्पद गतिविधिसम्बन्धी धेरै प्रतिवेदन ढिलो बुझाइएका थिए।
दोस्रो, चेतावनी आए पनि पर्याप्त सुधार भएन। बैंकलाई आफ्नो वित्तीय अपराध नियन्त्रण कार्यक्रम कमजोर रहेको कुरा वर्षौंदेखि थाहा भएको र सन् २०२४ मा नियामकले सुधार गर्न औपचारिक आदेशसमेत दिएको थियो। तर त्यसपछि पनि महत्त्वपूर्ण कमजोरी कायम रहेको नियामकले जनाएको छ।
तेस्रो, ग्राहक जाँच र कर्मचारीको क्षमता कमजोर थियो। केही उच्च जोखिम भएका ग्राहकको कारोबारबारे चेतावनी र आन्तरिक प्रश्न उठे पनि आवश्यक अनुसन्धान तथा कारबाही समयमै नभएको सरकारी आदेशमा उल्लेख छ।
बैंकलाई शंका लागेको थियो, तर खाता किन बन्द भएन ?
यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष बैंकको निगरानी प्रणाली मात्र होइन, शंकास्पद ग्राहकसम्बन्धी चेतावनीलाई कसरी सम्बोधन गरियो भन्ने हो।
अमेरिकी नियामकले सार्वजनिक गरेको आदेशअनुसार, एक ग्राहकको कारोबार ठगीका योजनासँग बारम्बार जोडिएको थियो । उच्च जोखिमयुक्त अन्तर्राष्ट्रिय रकम स्थानान्तरणसम्बन्धी कारोबारबारे अनुसन्धान निकायले चासो देखाएको थियो। उक्त ग्राहकसम्बन्धी १०० भन्दा बढी आन्तरिक अनुपालनसम्बन्धी मुद्दा उठेका थिए।
एउटा अनुपालन अधिकारीले ग्राहकबारे अनुसन्धान निकायबाट पटकपटक सोधपुछ आएको देखेर आश्चर्य व्यक्त गरेको टिप्पणीसमेत गरेको सरकारी कागजातमा उल्लेख छ। तर बैंकका अन्य व्यावसायिक पक्षबाट ग्राहकलाई कायम राख्ने प्रयास भएको र खाता खुलै राखेर जोखिम घटाउने उपाय खोजिएको नियामकको भनाइ छ।
यो विवरणले बैंकिङ व्यवसायभित्रको एउटा आधारभूत द्वन्द्व देखाउँछ—ग्राहकबाट आम्दानी गर्ने व्यावसायिक उद्देश्य र जोखिमयुक्त कारोबार रोक्ने अनुपालन जिम्मेवारीबीचको द्वन्द्व।
तर यस घटनाबाट बैंकका सबै कर्मचारी वा सबै कारोबार अवैध थिए भन्ने निष्कर्ष निकाल्न मिल्दैन। नियामकको कारबाही बैंकको वित्तीय अपराध नियन्त्रण प्रणाली र कानुनी दायित्व पूरा गर्न असफल भएको विषयमा केन्द्रित छ।
अमेरिकी नियामकको आदेशअनुसार अब बैंकले विगतका कारोबार पुनःजाँच गर्न तेस्रो पक्षसँग काम गर्नुपर्नेछ। पहिले छुटेका वा पर्याप्त अनुसन्धान नभएका शंकास्पद कारोबार पहिचान गरी आवश्यक प्रतिवेदन बुझाउनुपर्नेछ।
यसका साथै कारोबार निगरानी प्रणाली, ग्राहक पहिचान तथा जाँच प्रक्रिया, विदेशी बैंकका प्रतिनिधि खातासम्बन्धी जोखिम व्यवस्थापन र वित्तीय अपराध नियन्त्रणमा प्रयोग हुने तथ्यांक व्यवस्थापनको स्वतन्त्र समीक्षा गर्नुपर्नेछ। इरान, रुस, लागूऔषध कारोबार र अमेरिकाको दक्षिणपश्चिमी सीमासँग सम्बन्धित जोखिमलाई समेत सुधार योजनामा समेटिएको छ।
बैंकले भने नियामकसँग वर्षौंदेखि सहकार्य गरिरहेको र अनुपालन सुधारका लागि अर्बौं डलर लगानी गरेको बताएको छ। यसले बैंकले सुधारको प्रयास गरेको दाबी गरे पनि नियामकले ती प्रयास पर्याप्त नभएको निष्कर्ष निकालेको देखाउँछ।
नेपालको बैंकिङ क्षेत्रले के सिक्ने ?
यो घटनाको नेपालको सन्दर्भमा महत्त्वपूर्ण पाठ छ। बैंकको आकार, नाफा र ग्राहक संख्या बढ्दै जानु मात्र पर्याप्त हुँदैन । कारोबारको जोखिम पहिचान गर्ने प्रणाली, दक्ष कर्मचारी, स्वतन्त्र आन्तरिक लेखापरीक्षण र व्यवस्थापनको जवाफदेहिता पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन्।
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणका लागि बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचान, शंकास्पद कारोबारको निगरानी र आवश्यक प्रतिवेदन बुझाउने दायित्व दिएको छ। बैंकले कारोबारको अनुगमन गर्ने सफ्टवेयर राखेको छ भन्दैमा त्यो प्रभावकारी छ भन्ने सुनिश्चित हुँदैन। प्रणालीले जोखिम पहिचान गरेपछि कर्मचारीले त्यसलाई कसरी अनुसन्धान गर्छन् र व्यवस्थापनले कस्तो निर्णय लिन्छ भन्ने कुरा निर्णायक हुन्छ।
नेपालका लागि यो प्रकरणले केही खोजमूलक प्रश्न उठाउँछ। बैंकमा उच्च जोखिमका ग्राहकको कारोबारबारे बारम्बार चेतावनी आएमा कसले निर्णय गर्छ ? आन्तरिक अनुपालन विभागको सुझावलाई व्यावसायिक व्यवस्थापनले बेवास्ता गर्न सक्छ कि सक्दैन? शंकास्पद कारोबारको प्रतिवेदन ढिलो बुझाउँदा जिम्मेवारी कसले लिन्छ ? नियामकको सुधार आदेशपछि कमजोरी सच्याइयो कि सच्याइएन भन्ने स्वतन्त्र परीक्षण कसरी हुन्छ ? यी प्रश्नको उत्तरले बैंकिङ प्रणालीप्रतिको विश्वास बलियो बनाउन सहयोग गर्न सक्छ।