पछिल्लो समय सिटी होटल विशेषगरी चर्को बैंक ब्याज तिर्नुपर्ने बाध्यतामा थियो । यस्तो बाध्यताबीच निरन्तर सुधारात्मक पहल र नयाँ आम्दानी स्रोतहरुको विस्तारसँगै कम्पनी सुदृढ यात्रातर्फ अघि बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले आगामी त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने सञ्चालकहरुको विश्वास छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद शेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउने कम्पनीको भनाइ छ ।

हुन त कम्पनीको ब्याज खर्च पछिल्लो तीन वर्षयता निरन्तर घट्दो क्रममा छ । आर्थिक वर्ष २०७९/८० मा ३५ करोड ३४ लाख र २०८०/८१ मा ३२ करोड ७३ लाख रुपैयाँ ब्याज खर्च रहेको थियो । वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा व्याज खर्च २६ करोड ४३ लाख रुपैयाँ थियो ।
कम्पनीले लाभको यात्रालाई अझ सुदृढ गर्न क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने विश्वास गरिएको छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि गरिएको छ ।
नेपालमा पछिल्लो समय सञ्चालनमा आएका होटलहरुको निर्माण लागत, जग्गाको मूल्य र संरचना मूल्यांकनका आधारमा सिटी होटलको प्रतिस्थापन लागत निकै उच्च देखिन्छ । काठमाडौंको केन्द्र सोल्टी मोडमा रहेको सिटी होटल करिब ५ अर्ब लगानीमा निर्माण भएको हो । अहिले सोही स्थानमा सिटीजत्तिकै सुविधा सम्पन्न होटल निर्माण गर्दा करिब ७ देखि ८ अर्ब लागत लाग्ने अनुमान गरिन्छ ।
कम्पनीले आयस्रोत बढाउन सुधारका अन्य विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । त्यसमध्येको एक हो–प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारी । यसबाट दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने कम्पनीको विश्वास छ । यसका साथै होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका टोलीहरुलाई आवास र भोजन सेवा उपलब्ध गराउने सहमति गरेको छ,जसबाट होटलको आम्दानीमा प्रत्यक्ष वृद्धि हुने अपेक्षा गरिएको छ ।
होटल तथा हस्पिटालिटी क्षेत्र सुरुवाती चरणमा घाटा व्यहोर्ने व्यवसायमा पर्दछ । घाटा क्रमिक घटाउँदै लगेमा मात्र व्यवसाय सफल भएको मानिन्छ । सिटी होटल लिमिटेड यस हिसाबले सफलताको सिढी चढ्दै गरेको छ । २०७८ मा सञ्चालनमा आएको होटलको पछिल्लो तीन आर्थिक वर्षको वित्तीय विवरण केलाउँदा घाटा निरन्तर ओरालो लागेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा २७ करोड २२ लाख रहेको घाटा २०८०/८१ मा २० करोड ३२ लाखमा झरेको थियो । गत आर्थिक वर्षमा १९ करोड २० लाखमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।
सिटी होटल लिमिटेडले आइतबार (कात्तिक २३) देखि २१ लाख ५० हजार ४१८ अवितरित हकप्रद शेयरको लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ । यसमध्ये संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहको लकइनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता र कर्मचारीको ६ हजार कित्ता शेयर रहेको छ । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ राखिएको छ ।