नाफासँगै बढ्यो सानिमा मिडिल तमोरको प्रतिशेयर आम्दानी

Nov 13, 2025 10:08 AM Merolagani



सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको निर्माणबाट हुने आम्दानी ९७.७० प्रतिशत घटेको छ भने विद्युत बिक्री आम्दानी ३.०३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ४.०९ प्रतिशत र खुद सञ्चालन मुनाफा ३.६३ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २२ करोड २१ लाख रुपैयाँबाट घटेर १६ करोड ६६ लाख रुपैयाँमा झरेको छ जसका कारण खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ७१ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.०१ गुणा रहेको छ।

३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।