उनले अहिले धेरै नागरिकहरुले नेशनल आइडी कार्ड बनाइसकेकाले थप सहज हुने विश्वास लिएको बताए । नेशनल आइडी कार्ड बनाइसकेका नागरिकहरु भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरुको बायोमेट्रिक नेशनल आइडी कार्डबाटै लिइनेछ । यसले जेन–जीका मागहरु सम्बोधन गर्ने आयोगको विश्वास रहेको भण्डारीले बताए । अध्ययन वा कामका लागि विदेशमा रहनुभएका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने बताए ।
उनले भने, ‘अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरुले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरुका सबै मागलाई सम्बोधन गर्दछ । अध्ययनको कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गराउन नेपालका कुटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भन्नुभएको छ । उहाँहरुले पनि अनलाइनमार्फत भर्न सक्नुहुन्छ । उहाँहरुले अनलाइनमा फारम भर्नुभयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौँ ।’
उनले एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको भएपनि पछिल्लो समय धेरै चाप रहेको बताए ।